देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डब्लूएचओलाई ट्रम्पले दिए ३० दिने ‘अल्टिमेटम’

देशान्तर

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड-१९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

पत्रमा सो निकायले ३० दिनको अल्टिमेटमसहित “उल्लेख्य सुधारहरू” गर्नुपर्ने अन्यथा करोडौं डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यतासमेत गुमाउनुपर्ने भनिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लूएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका छन् ।

म्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयसियसलाई लेखेको पत्र आफ्नो ट्विटमार्फत सार्वजनिक गरेका हुन् ।

पत्रमा ट्रम्पले संगठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छ, “वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्‍यो ।”

उनले संगठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि ‘अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु’ रहेको बताएका छन् । त्यसका लागि डब्लूएचओ प्रतिबद्ध नरहेमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग सदाका लागि बन्द गर्ने चेतावनी ट्रम्पको छ ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन “चीनको कठपुतली” भएको आरोप लगाएका छन् । विश्व स्वास्थ्य संगठनको निर्णायक निकाय वर्ल्ड हेल्थ एसेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन् । विश्व स्वास्थ्य संगठनलाई धेरै रकम दिने सबैभन्दा ठूला देशमध्येमा अमेरिका एक हो ।