बाँके, कपिलवस्तु र रूपन्देहीका स्थानीय तहमा बनाइएका क्वारेन्टाइन नाम मात्रका छन् । क्वारेन्टाइनमा रहेकाहरू निस्फिक्री घर आउआउ गर्छन्, समूहमा बस्छन् र एउटै कोठामा १२ जनासम्म कोचिएर सुत्छन् । क्वारेन्टाइनमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने स्थिति छ । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ ।क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् ।
यस्तो बेथितिपूर्ण स्थानीय क्वारेन्टाइनमध्येको एक हो– नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइन । यहाँ २३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जान्छन् । जिल्लाका मानवअधिकारकर्मी र अधिवक्ताहरूको टोलीले सोमबार सातवटा क्वारेन्टाइनको अनुगमन गरेको थियो । सबै क्वारेन्टाइन मापदण्डअनुरूप नरहेको टोलीको निष्कर्ष छ । ‘क्वारेन्टाइनमा बसेकाहरू राति घरमै गएर सुत्ने गरेको समेत पाइयो,’ अनुगमनमा गएकामध्ये एक अधिवक्ता सुरेशकुमार गौतमले भने, ‘यस्तो तालले समुदायमै कोरोना संक्रमण फैलिएको पक्का छ ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया