देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभुजी भेडा फुकाई दिनोस् !

देशान्तर

नेपाली जनताका मार्गदर्शकहरू, जो आफैंलाई पर्याप्त नमान्ने र नठान्ने, त्यसैले अरूलाई शिरमा उचालेर उनैको चाकरी गरी पद, प्रतिष्ठा र धनआर्जन गर्ने अनि, आफूभन्दा मुनिकालाई डुक्रने प्रवृत्तिको सहज, सरल र बोधगम्य अभिव्यक्ति हो– मालिक मान्ने प्रवृत्ति । नेपाली समाजमा राम आए, रामाय स्वस्ति, रावण आए, रावणाय स्वस्तिको त्यस्तो प्रवृत्ति धेरै कालसम्म चलेको थियो । राणाकालमा त्यो प्रवृत्ति चरमोत्कर्ष पुगेको थियो । २००७ सालको क्रान्ति, त्यो प्रवृत्तिको अन्त्यका लागि भएको थियो । अन्त्य पनि भयो । तर त्यसपछि जुन प्रवृत्तिको विकास भयो, त्योभन्दा पनि विकृत थियो, जसलाई भेडाप्रवृत्ति भनिन्छ । त्यो भेडाप्रवृत्ति, यद्यपि राजधानीमा चलनचल्तीमा आउनुपर्ने थिएन । हिमवत्खण्डमा पाइने अत्यन्त सरल र उपयोगी प्राणी– भेडाको सम्मानमा समर्पित प्रवृत्ति हो, त्यो । स्वामिभक्तिको चोखो भावनाले ओतप्रोत त्यस्तो प्रवृत्तिले कहिले र कसरी नेपालमा प्रवेश पायो र जनजीवनमा यसरी निजम्मित भयो, विस्तृत खोजको बेग्लै विषय हो । त्यो अहिलेसम्म भर्जिनल्यान्ड नै छ । शायद, त्यस्ता खोज र अनुसन्धान निम्ति लगानी गर्न कुनै पनि आईएनजीओ र एनजीओ तयार नहुने भएकाले अथवा विश्वविद्यालयले पनि विद्यावारिधिको उपाधि नदिने भएकाले बाँझै बसेको हुनुपर्छ । त्यस्तो अछुतो विषयमा चिन्ता र चिन्तन गर्ने पहिलो व्यक्ति थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनैले भनेका हुन्– प्रभुजी मलाई भेडा बनाई देऊ ।

भेडा प्रवृत्ति भनेको गोठालाबाहेक अरू कसैलाई नचिन्ने भेडाको गुण र धर्म बोकेको मालिक प्रवृत्ति हो । हुन त मधेसतिर टांगा अथवा टमटमलाई खिच्ने घोडाका आँखाका दुवैतिर पट्टी बाँध्ने गरिन्छ, ता कि त्यसले अगाडिबाहेक दायाँबायाँ देख्न नसकोस् । त्यस्तो घोडालाई निर्दिष्ट गन्तव्यमा पुर्‍याउन यताउता नभट्कियोस् भनेर टांगावालाले लगामका माध्यमबाट स्टेरिङको काम लिन्छ । तर भेडालाई त्यस्तो पट्टी र स्टेरिङ दुवै चाहिन्न, गोठालाले भेडा बथानको अघिलागे पुग्छ । सबै भेडा लाइन लागेर उसलाई पछ्याउन थाल्छन् । त्यही प्रवृत्ति मानिसमा सर्लक्क संक्रमित भएकाले उनीहरू आफ्नो बुद्धि–विवेकलाई खोकिलामुनि थन्क्याउन पुगे र जसोजसो पण्डितबाजे त्यसै त्यत्तै स्वाहा भन्न थाले । त्यो देखेर व्यथित बनेका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पशुका पतिसँग करजोडी बिन्ती चढाएका थिए– प्रभुजी ! मलाई भेडा बनाई दिनोस् ।

संयोगले जुन बेला उनले अत्यन्त व्यग्र मनको आर्तनाद भोलेनाथसित पोखेका थिए, त्यसबेला हाम्रा देवाधिदेव पशुपति महादेव जाग्रत अवस्थामा रहेछन् । जहाँ न पहुँचे रवि, उहाँ पहुँचे कवि भन्ने त उखानै छ ! कहिलेकाहीँ उखान पनि ठ्याक्कै मिल्न पुग्छ । त्यस दिन पनि त्यस्तै भयो । महाकविको करुण आर्तनाद सुनेपछि महादेवका तेस्रो नेत्र पनि खुल्न पुग्यो । कुन्नि, उनले के देखे, आशुतोषका मुखारबिन्दबाट निक्ल्यो– तथास्तु ।

त्यसै बेलादेखि नेपाली नेताहरूको बुद्धि र विवेक प्रयोग हुने च्यानेल झ्याप्पै बन्द हुन पुगेको हो । किनभने भेडा प्रवृत्ति र स्वतन्त्र चिन्तन कम्प्याटेबल हुँदैन । भनिरहनै परेन, त्यसपछि खुल्यो, “बडाले जो ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत” नाम र कामको अर्को च्यानेल । त्यो नयाँ च्यानेल पहिले नै दर्ता भइसकेको थियो, कविशिरोमणि लेखनाथ पौड्यालका नाममा । तैपनि आशुतोषले त्यही संस्कार र संस्कृतिको अर्को च्यानेल किन चाहियो भन्ठानेर होला, महाकविलाई पनि त्यही नाम प्रदान गरे । अघिल्लो दिन, शायद हामी सबै अनाथका “नाथ”ले एक चिलिम बढी चढाएका थिए क्यार ! महाकवि र कविशिरोमणिका बीचको भेद र फरक नछुट्ट्याई फोस्सामै त्यस्तो वरदान बकसमा दिए, जसले गर्दा भेडा प्रवृत्तिका मान्छे नामका प्राणीहरूलाई चिठ्ठा पर्न पुगिहाल्यो । उनीहरूले आफूलाई मालिकका गोठाला तुल्याएर अघिलाग्ने र भेडाहरूलाई पछि लगाउन थालिहाले । त्यसपछि नै हो, उनीहरू समृद्धि र सम्पन्नताका शिखर चढ्दै गए जनता चाहिँ हुन पुगे, कंगाल । धन सम्पत्तिको मात्र होइन, विचार र चिन्तनमा पनि जनता चाहिँ टाट उल्टेका दरिद्र कहलाउन पुगेका छन् । नेताहरू चाहिँ उत्तर र दक्षिण दुवैतिरका साखुल्य !

त्यसको ताजा उदाहरण हो, भारतले निर्माण गरेको पिथौडागढदेखि लिपुलेकसम्मको ८० किलोमिटर लामो सडकको उद्घाटनको आक्रोशपूर्ण विरोधमा प्रदर्शित नपुंसकताको प्रसंग । त्यस्तो विरोध हुन आवश्यक मात्र होइन, अपरिहार्य थियो । तर भारतको विरोधमा होइन, नेपाल सरकारको राष्ट्रघाती तथा जनविरोधी क्रियाकलापको विरोधमा । भयो उल्टो । किनभने उही भेडा प्रवृत्तिको कमाल थियो, त्यहाँ पनि देखियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समावेश नगरेको अपराधका लागि सरकार जिम्मेदार हो कि भारत ? भारतले ती भूभाग उसकै हो भनेको छ र नक्सामा पनि उल्लेख गरेको छ । त्यत्ति मात्र होइन, त्यसको पुष्टि चीनबाट पनि गराएको छ– लिपुलेकलाई भारत र चीनको व्यापारिक नाकाका रूपमा विकसित गर्ने समझदारी गरेर । असहाय नेपालले त्यस्तो समझदारी त्रिपक्षीय हुनुपर्छ भनेर झिनो आवाज उठाएको पनि हो । कसैको पनि समर्थन र सहयोग नगरेकाले त्यो प्रयास, अरण्यरोदन सावित भयो । त्यसबाट चीनले नेपालको साथ नदिएको, भारतकै पक्षमा दृढतापूर्वक खडा भएको पुष्टि भयो ।

नेपालको भूमि र सार्वभौमसत्ताको रक्षा र सम्मान भारतले गरिदिने होइन, नेपाल सरकार आफैंले गर्ने हो । आफ्नो देशको भूभाग जोगाउने त के कुरा, नक्सासम्म बेलामा प्रकाशित गर्न नसक्ने अनि, अर्काले सडक निर्माण गरेर उद्घाटनसमेत गरिसकेपछि बल्ल थाहा पाइयो भनेर खेद व्यक्त गर्ने सरकारका प्रधानमन्त्रीले जनताबाट दण्डित हुन पर्ने कि नपर्ने ? एक लज्जा परित्याज्यं सर्वत्र सुखी भवेत् । अर्थात् लाज मान्न छाडेपछि जे गरे पनि हुन्छ भन्ने कथन चरितार्थ भयो । देश र जनताप्रतिको उनीहरूले दिएको धोका हो । नेपालको सबैभन्दा कमजोर पक्ष हो, आफ्नो नक्सामा विवादित भूभाग समावेश गर्न नसक्नु । लाटालाई पनि थाहा छ, प्रमाणबिनाको दाबी लाग्दैन । प्रमाण नेपालले प्रस्तुत गर्न सकेको छैन । नेपाल सरकारले प्रमाण छ भनेको छ तर उसले प्रकाशित गरेको नक्सामा त्यो भूभाग समावेश छैन । त्यसैले नेपालले त्यो क्षेत्र नेपालको हो भनेर दाबी मात्र गरेको छ, दसी–प्रमाण प्रस्तुत गर्न गरेको छैन । झन् हकभोग हुने त कुरै भएन । त्यही कारण हो कि सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङका बीचमा लिपुलेकलाई दुवै देशको व्यापारिक नाकाका रूपमा विकसित गर्ने सहमति गर्दा नेपालले गरेको आपत्तिलाई कसैले सुनवाइ गरेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, दीर्घ रोगी भएकाले अधिकांश समय ओछ्यानमा सुतेर बित्छ । उनले आफ्नै शरीरका सबै अंगले काम गरेका छन् कि छैनन्, त्यसको पत्ता पाउन सकेका छैनन्, देशका सबै भागमा के भइरहेका छन्, ती सबैको जानकारी प्राप्त गर्न नसक्नु स्वास्थ्य विज्ञान अनुसार अस्वाभाविक पटक्कै होइन । तर राज्यका अन्य अंगले समेत त्यत्ति गंभीर तथा संवेदनशील विषयमा काम गर्न सकेका रहेनछन्, त्यो भने तब थाहा भयो, जब त्यो सडकको उद्घाटन भयो । सन् १९९९ मा काम सुरु भएको र सन् २०१५ को भारत र चीनको समझदारीपछि तीव्र गतिमा निर्माण अघि बढेर २०२० मा सडकको उद्घाटन हुँदासम्म पनि कसैले केही सुइँको नपाउनु भनेको गम्भीर राष्ट्रघात हो । त्यस्ता राष्ट्रघातीहरूले अझै राज्यका जिम्मेदार पद ओगटेर बस्न हुन्छ कि हुँदैन ? यो प्रश्न प्रधानमन्त्री ओलीलाई मात्र होइन, रक्षा र गृहमन्त्रीलाई पनि लागू हुन्छ । सेना, प्रहरी र राष्ट्रिय अनुसन्धानलाई मात्र होइन, बन, सडक, दार्चुलाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिमाथि पनि उत्तिकै लागू हुन्छ ।

भेडाप्रवृत्तिले नेपाल र नेपालीलाई पर्नु पीर पर्‍यो । अब महाकविलाई दिएको वरदान फिर्ता लिएर भेडालाई फुक्का छाडिदिनुस् प्रभु !