देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिवेश पोखरेल अमेरिकन आइडलकाे उपविजेता

देशान्तर

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । शोको उपाधि जस्ट स्यामले जितेकी छन् ।उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ ।

अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए । अर्का निर्णायक लुक ब्रायनले पहिल्यै भनिसकेका थिए– ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’

हाल अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो । यो शो एबिसी टेलिभिजनबाट प्रसारण भएको थियो । कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।