देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कहिले खुल्छ दासढुंगाको रहस्य ?

देशान्तर

२०७७ जेठ ३ गते आइपुग्दा नेपालमा रहस्यमय एउटा घटना भएको २७ वर्ष पुगेछ । यो बीचमा त्रिशूलीमा धेरै पानी बगिसक्यो । तर, २७ वर्षअघि जेठमा त्रिश्ूलीले बगाएको एउटा जिप काण्ड भने हरेक वर्ष पुनरावृत्ति भइरहन्छ । भदौरे भेलझैं हरेक जेठ ३ मा उर्लेर आउने गर्छ, दासढुँगा जिप दुर्घटना प्रकरण । दासढुंगा, जहाँ तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । तर, तत्कालीन उनको पार्टी नेकपा एमालेले दुर्घटना नभई हत्या करार गर्‍यो । तर, विडम्बना हत्यारा को थियो ? २७ वर्षसम्म पनि खोज्ने जाँगर चलाएन । यो अवधिमा दर्जनभन्दा बढी पटक सत्तामा पनि पुग्यो । तर, मदन र जीवराजको हत्या वा दुर्घटनाको रहस्य जहाँको त्यहीँ छ ।

घटना के थियो ? त्यसबारेमा जाऔं । २७ वर्ष अघि जेठ ३ गते पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कँदै थियो, मदन र जीवराज सवार जिप । चालक थिए, अमर लामा । मुग्लिङ—नारायणखण्डमा सवार जिप एकाएक दासढुंगामा खसेको खबर फैलियो । प्रहरीले खबर थाहा पाएपछि घटनास्थल पुग्दा आश्रितको शव जिपभित्रै फेला प¥यो । तर, भण्डारीको शव भने ३ दिनपछि नारायणी नदी किनारमा फेला प¥यो । तर, चालक लामा भने घटनामा बाँच्न सफल भए । घटनापछि एमालेले त गद्दारको संज्ञा दिँदै लामालाई पार्टीबाट कारबाही गरेको थियो । तर, लामाले आफू निर्दोष रहेको बताउँदै आएका थिए ।
तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर राजनीतिमा आउन चुनौती दिएर होस् वा महाकाली सन्धिविरुद्ध संसद्मा धाराप्रवाह धारणा राखेर होस् मदन चर्चामा थिए । उसो त उनले ‘बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ’ भन्ने कम्युनिस्ट दर्शनको प्रजातन्त्रीककरण गर्दै जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाए । सारमा त्यो परम्परागत कम्य्ुनिस्ट मान्यताको अवसान र प्रजातन्त्रको स्विकारोक्ति थियो । मदनले विश्वभर समाप्त हुँदै गरेको कम्यु्निस्ट आन्दोलनको सेभ ल्यान्ड गरे । कतिपयलाई पार्टीभित्रै यही कुरा मन परिरहेको थिएन । मदनको हत्यामा पार्टीभित्रको यही असन्तुष्टि, बाह्य चलखेल र तत्कालीन दरबारिया शक्तिको हात रहेको आशंका आआफ्नो अनुकूलतामा व्याख्या हुने क्रम अद्यापि चल्दैछ ।

हत्या कि दुर्घटना ?
त्रिशूली नदीमा जिप खसेको घटना दुर्घटना थियो कि घटना ? इतिहासको गर्भमा छ । तर, तत्कालीन एमालेले दासढुंगामा भएको दुर्घटना नभई हत्या भएको मदनको पार्टीको ठहर थियो । एमालेले सो घटनाको छानबिन गर्न केपी शर्मा ओलीको नेतृत्वमा छानबिन समितिनै गठन गर्‍यो । तर, समितिले हालसम्म पनि प्रतिवेदन बुझाएको छैन । स्वयम् ओली अहिले देशमा दोस्रो पटक प्रधानमन्त्री छन् । मदन पत्नी विद्या रक्षा मन्त्रालय सम्हाल्दै हाल राष्ट्रपति छिन् । तर, अझै पनि यो घटनाको रहस्य खुलेको छैन । ओलीले प्रतिवेदन नबुझाउनुको कारण के हो ? खुल्न सकेको छैन ।

कम्युनिस्ट पार्टीका नेताहरूले मदनको दुर्घटना नभई हत्या नै भएको भन्न थालेको पनि २७ वर्ष पुगिसेको छ । हाल नेपाल कम्युनिस्ट पार्टीका एउटा अध्यक्ष छन्, पुष्पकमल दाहाल । उनको बुझाइमा पनि मदनको हत्या नै भएको हो । उनले गत वर्ष असार १४ गते मदनको ६८औं जन्मजयन्तीमा आयोजित कार्यक्रममा मदनको हत्या भएको दाबी गरेका थिए । त्यतिबेला उनको भनाइ थियो, “भण्डारीको हत्या नियोजित नै हो । हत्यारा किटेर भन्न सकिएको आज पनि छैन । शंंका विभिन्न तत्वमाथि लाग्छ । तर, हत्यारा को हो त ? जीवित साक्षीलाई पनि हत्या गरेपछि झन् अनुसन्धानको बाटो रोकियो ।” उनले हत्यामा देशी विदेशी शक्तितर्फ आशंका गरेका थिए ।

स्मरणीय छ, जीवित साक्षीको हत्या पछि अनुसन्धानको बाटो रोकियो भन्ने प्रचण्डकै पार्टी तत्कालीन नेकपा माओवादीबाट चालक अमर लामाको हत्या गरेको आरोप लाग्दै आएको छ । लामाको २०६० साउन ११ गते कीर्तिपुर नयाँबजार चिटु विहारको उकालोमा टाउकोमा गोली हानी हत्या गरिएको थियो । अनुसन्धान अनुसार माओवादी सशस्त्र हिंसाका क्रममा प्रहरीबाट लुटिएको नाइन एमएमको गोली र प्वाइन्ट सेभेनसिक्स पेस्तोलले लामाको हत्या भएको थियो । एक समय एमाले नेताहरूले दासढुंगा घटनालाई सदाका लागि बन्द गरिदिन माओवादीले लामाको हत्या गरेको आरोप लगाउने गर्थे । तर, तत्कालीन माओवादीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको थियो । हाल सोही माओवादी र एमाले एउटै पार्टी भएको छ । प्रचण्डकै दाबा मदनको हत्या नै भन्ने छ । उनीहरूले पुनः त्यही दाबी दोहो¥याएका छन् । प्रचण्ड र ओलीले जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले घटनाको गहिरो अन्वेषण गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । हत्या वा दुर्घटना के हो ? अहिलेसम्म यो रहस्यकै गर्भमा छ ।

कहिले खुल्छ रहस्य ?
‘उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आमनेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ,’ ओली र प्रचण्डको निष्कर्ष छ ।

रोचक त के छ भने, तत्कालीन छानबिन समिति र एकमात्र जीवित साक्षीको हत्या गरिएको भनिएको पार्टीका अध्यक्षको यो प्रतिबद्धता हो । ओली हाल प्रधानमन्त्री छन् । प्रचण्ड उनकै पार्टीमा अर्का अध्यक्ष छन् । यो दासढुंगाको काण्डको रहस्य खुल्नका लागि अनुकूल अवस्था हो । एमालेको भनाइअनुसार एकमात्र साक्षी लामाको हत्या हत्याकाण्डको रहस्य खुल्ने डरले गराइएको थियो ।

यदि त्यसो हो भने प्रचण्डले लामाको हत्यामा माओवादी संलग्न थियो भने त्यसको सुप्रिमोको नाताले लामा हत्याको कारण खुलाउनुपर्छ । एमालेले त्यतिबेला लगाएको आरोप झुट हो वा साँचो प्रचण्डले मुख खोले भने अनुसन्धानले एउटा दिशा पाउन सक्छ । अर्को कुरा स्वयम् ओली दुई पटक र उनको पार्टी २०५३ यता दर्जनभन्दा बढी पटक सत्तामा छ । राज्यसंयन्त्र आफ्नो हातमा हुँदा किन अनुसन्धान अघि बढाउन सकेनन् । के त्यसको नैतिक जिम्मेवारी उनले लिनु पर्दैन ? जेठ ३ आउँदा एक पाने विज्ञप्तिले मात्र उनको जिम्मेवारी पूरा हुँदैन । कतिपयले दासढुँगा घटनालाई पार्टीभित्रको अन्तरसंघर्ष परिणाम भएको र यदि हत्या हो भने सो कार्यमा एमालेभित्रैको पंक्तिको संलग्नता हुन सक्ने लख काट्ने गरेका छन् । छानबिन प्रतिवेदन नआएकोबारे स्वयं एमालेका पुराना नेता राधाकृष्ण मैनालीले ओलीमाथि कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । ओलीका लागि अहिले सत्तामा भएको क्षण सबै भ्रमहरूलाई चिर्ने र यदि हत्या हो भने दोषी पत्ता लगाउने महत्वपूर्ण अवसर हो ।

यदि वास्तवमै दासढुंगा दुर्घटना नै थियो हत्या थिएन भने पनि हालको नेकपाले प्रष्ट भनोस् । मदनको नाममा स्वार्थको रोटी सेक्ने तर, उनको हत्यारा खोज्न जाँगर नचलाउँदा शंकाको सुईको दिशा कता हुन्छ ? कामरेडहरू जानकार नै हुनुहोला । सत्ता आफ्नो हातमा । देशका ६ वटा प्रदेशमा आफ्नो सरकार । राष्ट्रप्रमुख स्वयं मदन पत्नी । दासढुंगा हत्याकाण्डको छानबिन अब पनि नभए कहिले हुन्छ ? अहिले पनि हत्यारा पत्ता नलागे कहिले लाग्छ ?

जेठ ४ गते आइतबार देशान्तर साप्ताहिकबाट साभार