कविता : ‘झाेक नचलाऊ माेदी’

सुमन पाेख्रेल 

  • 83
    Shares

यता काेराेनाले थिलथिल परेकाे जिउ थियाे
उता माेदी भैया लिपु-जमिन लुट्ने निहुँ लियाे
थिए आफ्नै मेला सुख र दुखका अन्तर व्यथा
कराेना -माेदीका कटु कहर निस्के अझ कडा ।।

हिजाे भन्थ्याै याैटै असल मित नेपाल विपुल
थियाे राेटी-बेटी अनुपम सु-सम्बन्ध मृदुल
दिएकै थ्याैँ ठूलाे अनुजसरिकाे मान-कदर
उगाल्ने पाे देख्याैँ सरस मुखमा तिक्त जहर ।।

गर्‍याै नाकाबन्दी निठुर!उहिले स्वार्थवशले
दियाै पीडा धेरै सकल जनलाई रहरले
कबै देशद्राेहीसँग मुलुक ताेड्ने दिल दियाै
बिगारेका के छाैँ भन न खल! माटाे छिनिलियाै ।।

मिठा तिम्रा वाणी स्वजन बसुधाका नरहरू
फलाक्थ्याै यस्तै नै हर वचनमा धर्म नहरूँ
सदा गीता,गङ्गा,गवि र तुलसीमा मन थियाे
सबै पाखण्डीका द्युत-छल रहेछन् नि बुझियाे ।।

सकेसम्मन् तिम्राे विकट पथकाे दाैँतर भयाैँ
सधैँ तिम्रा देवालय-मठ – नदी पूजक भयाैँ
बिराएनाैँ कैल्यै तर पनि भयाै घातक तिमी
नभर्ने भाे तिम्राे उदर जति खाए पनि जिमी ।।

गरा सानाे हाेला विगत गरिमा प्राञ्जल अति
धरा थाम्दै गाेरेसित कति लड्याैँ निर्भय रति
सबैकी आमाकाे इजत गुरु गम्भीर बुझ हे !
अटेरी हुन्छाै ता समय ननिकाे आउँछ सखे !

महान् हुन्नाै चाेरी जमिन अरुकाे निर्दय बनी
तिमीलाई भाट्छाैँ अतिअति भए खाडल खनी
विधाता हेर्नेछन् असुरपन तिम्राे नियतमा
कहाँ टिक्छन् पापी छल-बल गरे तापनि यहाँ ।।


  • 83
    Shares

Facebook Comments