काठमाडौं । कोरोना संक्रमणको महामारीले जनता घरघरमा बन्दीजीवन बिताइरहेको यस संकटपूर्ण घडीमा जनताले आफ्नो र मुलुकको हितका लागि सत्ताको बागडोर सुम्पेको नेपाल कम्युनिस्ट पार्टी यो बेला के गर्दैछ ? कोरोना संक्रमण नियन्त्रणका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा घनिभूत छलफल गर्दैछ वा कोरोना संक्रमणपछिको आर्थिक विप्लवको सामना कसरी गर्ने भन्ने योजनामा तल्लीन छ ? आफूले बहुमत दिएर जनहितमा लाग्न पठाएको राजनीतिक दलका शीर्ष नेताहरू यतिबेला जनताले अपेक्षा गरेको त्यस्तो विषयमा होइन यही संकटको मौका छोपी आ–आफ्नो शक्ति बलियो पारेर कसरी सत्तामा जाने र आ–आफ्नो अभीष्ट पूरा गर्ने भन्ने विषयमै मग्न छन् ।
जनतालाई ‘जीवन चाहिएको कि स्वतन्त्रता ?’ भनेर निरंकुश शासक शैलीमा धम्कीको भाषा प्रयोग गर्ने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली त जनता बन्दीजीवन बिताइरहेकै यही मौका पारेर स्वास्थ्य सामग्रीमा समेत कमिसन खानेजस्तो जघन्य अपराधको खुलेआम संरक्षण गर्ने, अर्काको दल फुटाउन अध्यादेश ल्याउने र संसद् अपहरण गर्न निर्देशन दिनेजस्ता निम्नस्तरको राजनीति गर्ने तथा संवैधानिक निकायहरूलाई सरकारकै दास बनाउने गरी अध्यादेश ल्याउने काममा लागेपछि उनले शासन गर्ने नैतिक र राजनीतिक अधिकार त गुमाएकै थिए । तर के नेकपाका बाँंकी नेताले यी सबै कुकृत्यमा जनताको पक्षमा एक शब्द आवाज उठाए त ? पटक्कै उठाएनन् । केवल सरकारप्रति जनता चरम निराश भएको मौका छोपी आफ्नो शक्ति आर्जन गर्ने र सत्तामा कसरी जाने भन्ने कोसिस मात्र गरिरहे ।
स्वास्थ्य सामग्रीको चौतर्फी माग भइरहेको वर्तमान अवस्थामा सरकारले कमिसनको चक्करमा बजार मूल्यभन्दा चर्को मूल्यमा खरिद गरेर ती सामग्री ल्याउन सरकारकै मन्त्रीहरूका आफन्त संलग्न कम्पनी ओम्नीलाई ठेक्का दिने निर्णय गरेर कोरोनाको कहरले पीडित जनतालाई थप आहात बनायो । यसको चौतर्फी रूपमा ब्यापक विरोध भयो । तर महामारीको नियन्त्रणका लागि ल्याउन लागिएको स्वास्थ्य सामग्रीमा समेत कमिसन खाने सरकारी निर्णयले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतम कसैको मन कुँंडियो त ? अँहँ, कुँंडिएन । देशमा कोलाहल मच्चिएको यति ठूलो विषयमा नेकपाका ती कुनै पनि नेताले अहिलेसम्म चुइँक्कसम्म गरेका छैनन् । यसबारे छलफल गर्न कुनै नेकपाका नेताले अहिलेसम्म कुनै बैठक डाक्ने माग पनि गरेका छैनन् । श्रमिक वर्ग तथा विपन्नका लागि आवश्यक कुनै व्यवस्था नगरी सरकारले लकडाउन गर्यो । आफूसँंग भएसम्म ती श्रमिक र विपन्न वर्ग लकडाउनमा काठमाडौं नै बसे । जब उनीरूलाई ओत लाग्ने र मुख जोर्ने समस्या पर्यो अनि उनीहरू लकडाउन उल्लंघन गरेरै भए पनि आ–आफ्ना लालाबाला काखमा च्यापेर झरीमा भिज्दै भिज्दै सयौं किलोमिटर पैदल हिँडेर थातथलोतिर लागे ।
यसरी सयौं किलोमिटर पैदल हिँडेर जाँंदा उनीहरूले पाएको दुःख देख्दा कुन नेपालीको आँंखा रसाएन होला ? तर नेकपाका कुनै पनि नेतामा जनताको यो पीडाले मन छोएको पाइएन । उनीहरूमध्ये कसैले पनि यसको व्यवस्थापनका लागि सरकारलाई दबाब दिएको अहिलेसम्म सुनिएको छैन । कोरोना प्रभावित क्षेत्र नेपालगन्ज र सुदूरपश्चिममा कोरोना परीक्षणका लागि किटलगायत स्वास्थ्य सामग्रीको अभावले परीक्षण केन्द्र नै बन्द हुने अवस्थामा पुगे । सरकारले महिना दिनदेखि खरिद गरेर ल्याउने भनिएको सामग्री अझै पर्याप्त ल्याउन सकेको छैन । नेकपाका कुनै नेताले स्वास्थ्य सामग्री छिटो खरिद गरेर ल्याउन सरकारलाई दबाब दिने कामका लागि कुनै छलफल वा बैठक बोलाउन माग गरेको देखिएन । कोरोनाको कहरले महाकालीमा हाम्फालेको एक नेपाली युवाको पीडा होस् वा बाबुआमाको क्रियाका लागि स्वदेश फर्कन अनुनय विनय गर्ने परदेशिएको नेपाली छोरो होस् वा रोजगारीबाट हातधुन बाध्य विदेशमा बसेका नेपालीहरूले स्वदेश फर्कन गरेको चित्कार होस्, कुनै पनि कुराले नेकपाका नेताहरूको मन छोएको सतहमा देख्न पाइएन । त्यतिमात्र होइन, चाहे यति समूहलाई कौडीको भाउमा राष्ट्रको सबै सम्पत्ति दिने सरकारी निर्णय होस् वा सेक्युरिटी खरिद प्रकरणमा सरकारको मन्त्रीले हाकाहाकी करोडौंको कमिसन मागेको टेप सार्वजनिक गर्दा होस् वा बालुवाटार प्रकरणमा अख्तियार पूरै सरकारको लाचार छायाँं बनेर नेकपाका महासचिवलाई जोगाउने काम गरेको विषय होस् कुनै यी र यस्ता गलत कामको नेकपाका यी नेताहरूले विरोध गरेर चुइँक्क बोलेनन् ।
यतिधेरै जनहितविपरीतका काम भइरहँंदा सो पार्टीका पूर्वउपाध्यक्ष रहेका भीम रावल र स्थायी कमिटी सदस्य हरिबोल गजुरेललगायतका उपेक्षामा परेका केही नेताबाहेक कसैले यी विषयमा सरकारलाई दबाब दिने वा दुत्कार्ने आवश्यकता ठानेनन् । सत्ता—स्वार्थको अहंकारले ‘मैमत्ता’ भएका प्रधानमन्त्री ओलीले दुनियाँं नै चकित हुने गरी जब अत्यन्त गैरजिम्मेवार र अराजनीतिक हिसाबले असंवैधानिक र अलोकतान्त्रिक अध्यादेश ल्याए, त्यसले लकडाउनमै पनि सरकार र नेकपाविरुद्ध जनउभार ल्याउने परिस्थिति बन्यो ।
जनताका जुनसुकै पीडाले मन नछोएका नेकपाका नेताहरू एकाएक सरकार बदल्ने वा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको शक्ति आफूमा ल्याउने काममा निरन्तर सक्रिय छन् । कोरोनाको कहरले जनता परीक्षण र स्वास्थ्य सामग्री तथा राहतका लागि छटपटाइरहेको वर्तमान अवस्थामा उनीहरूले यस विषयमा सम्भवतः एउटा पनि बैठक र छलफल गर्ने आवश्यकता ठानेनन् । यी सबै बेथितिका मुख्य नाइके ओलीबाट त जनताले आशा मारिसके नै तर उनलाई हटाएर बाँंकी नेकपाका जुनसुकै नेता आए पनि यसमा सुधार होला भन्ने आशा गर्न स्वयं उनीहरूले नै कुनै ठाउँं दिएनन् । सायद जनताको यही चरम निराशालाई बुझेरै होला नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल सरकार परिवर्तनको विषयमा सञ्चार माध्यमहरूमा भन्दै थिए, ‘हामी केपी ओलीको होइन, अब कम्युनिस्टकै विकल्प खोज्दै छौं ।’
प्रतिक्रिया