नितान्त नाैलाे कुरा सनसनी लाग्ने हुन्छ । त्यसमा आकर्षण र उत्तेजना मिसिएका हुन्छन् । स्वाद चाखेपछि मात्र त्यसकाे माेह वा विरक्ति चढ्न थाल्दछ । प्रारम्भमा “गणतन्त्र” यस्तै मनाेहारी शब्द थियाे । जनताका विश्वासले यसलाई पुँजीकरण गरेकाे थियाे । गणतन्त्रपछि त देश एकैचाेटि रसातलबाट स्वर्गकाे नन्दन बगैँचा बन्छ भन्ने स्वप्ना देखिएकाे थियाे । नेताहरू साक्षात् देवता हुनेछन् र जनता तिनका अनन्य भक्त बन्नेछन् भन्ने तीव्र आस्था चढेकाे थियाे । भक्त र भगवानका बीचमा कुनै दूरी हुँदैन । अझ सच्चा भक्तका पुकारामा भगवान् नै तारणहार बनेर आउँछन् र भक्तका जिन्दगीका सम्पूर्ण कष्ट निवारण गर्छन् भन्ने मनाेकाङ्क्षा थियाे ।
सपनाहरू पूरा हुने रहेनछन् । ती सपना अल्छी सपना पाे रहेछन् । भाेग्दै जाँदा थाहा भयाे – घरआँगनमा सिंहदरबार आएन, बरू भयानक सिंह पाे आयाे । गासका लागि सदावर्त भण्डारा लाग्नै सकेन, उही दुर्भिक्ष आइरह्याे । सुदामाकाे कुटीले कहिल्यै उज्यालाे देख्न पाएन, अन्धकारले राज गरिरह्याे । द्राैपदीकाे चीरहरणकाे लाज छाेप्न कुनै कृष्ण आएन , दुर्याेधनका हुङ्कार-फुङ्कारले फणा उचालिरह्याे । तब त लाग्न थाल्याे – “गणतन्त्र” छट्टु स्यालकाे ” चिल आयाे चिल आयाे ” भन्दै कुखुरा खाने दाउँ पाे रहेछ , याे त मुसा मार्नका लागि भित्रभित्रै विष मिसाइएकाे लड्डु पाे रहेछ । जनताका लागि त गणतन्त्र बर्जित फल रहेछ । याे फल खानका लागि त मान्छे हैन ,छट्टु स्याल नै बन्नुपर्ने रहेछ ।
मलाई गणतन्त्रले पहिलाे झट्कामा ठेस त्यतिखेर लगाएकाे थियाे -जब म तीन सयकाे राजस्वका ठाउँमा करिब सात हज्जार तिर्न विवश भएँ । याे पहिलाे गासमै झिँगा पसेकाे अनुभव थियाे मेराे । त्यसपछि जन्म दर्ता, मृत्युदर्ता,विवाहदर्ता, सिफारिस पत्र आदिमा भ्यागुते जम्पकाे वृद्धि देखियाे । आफैले पालेका चाैपाया-दाेपायाकाे बिक्रीवितरणमा समेत जनताकाे रगत शाेषण गरिन थालियाे । पूर्वाधार बिनाका गाविसलाई भकाभक नगरपालिका-उपमहानगरपालिकामा बढुवा गर्दै त्यसका नाममा घर कर, बहाल कर आदिका भारी बाेकाइयाे । तैपनि मनमा झिनाे धुकधुकी बाँचेकै थियाे -कदाचित् याे सबै भाेलि देशकाे कायापलटका लागि उपयाेगमा आउने छ र जनताले मुह मिठा गरिहाल्नेछन् ।
यता मुलुक बिस्तारै चिराचिरा पारिँदै गयाे । प्रादेशिक संरचना निर्माण भए । संघ पनि ठडियाे । यसाे हेरेकाे त जनप्रतिनिधिकाे सङ्ख्याले सगरमाथालाई माथ गरिसकेकाे रहेछ । लाै त नि, देशमा जनप्रतिनिधि धेरै हुँदा जनताले राम्रै सत्कार पाउलान् भनेकाे त ती सबैले जागिरकाे व्यवस्था गरिसकेका रहेछन् । हिजाे पञ्चायत कालमा राज्यकाेषलाई नियन्त्रित रूपमा प्रयाेग गरिएकाे थियाे । पदबाट फुत्किसकेपछि तिनका सेवासुविधा कटाैती गरिन्थ्याे, यहाँसम्म कि प्रजातान्त्रिक काल (०४६-७२ ) सम्म पनि जनप्रतिनिधिलाई निश्चित भत्तामै सीमित गरिएकाे थियाे । याे गणतन्त्रले त नेताजीहरूलाई मात्रै सिंहदरबारको स्वामी बनाउन थालेकाे देखियाे । तैपनि मनमा तृणवत् आशा थियाे – ठुलाे पहाड फाेड्ने डाेजरले ठुलै इन्धन खान्छ , एक दिन त कसाे राजमार्गकाे सुख नपाइएला त ! तर चार -पाँचवर्ष याे गणतन्त्रको डाेकाे बाेक्दा यसका सम्पूर्ण अवयवहरू मक्किसकेकाे भान भइरहेछ । कसैले लेखेकाे थियाे – “राजनीतिमा जनताकाे स्थान सुरक्षित हुँदैन अपितु नेताकाे वैकुण्ठवासकाे व्यवस्था गरिएकाे हुन्छ । सकेसम्म राज्यलाई मासुका बिला लगाएझैँ भाग लगाउँदा सबैकाे तुष्टीकरण हुन्छ र आपसमा विग्रह हुँदैन ।” भएकाे यस्तै छ । केन्द्रदेखि स्थानीय सरकारसम्म जनताका गुनासा भरिएका छन् । आधारभूत सुविधाबाट बञ्चित् जनताका प्यास घाँटीमै अड्किएका छन् । जीविकाेपार्जनका आधार बनेकै छैनन् । शिक्षा-स्वास्थ्य, न्याय ,प्रशासनका रवैया उस्तै छन् । यता नेताजीका सुविधा बढेकै छन् । निजी सचिवका नाममा स्वास्नी-साला-भाइ-भतिजाले सरकारी दाम लुड्याएकै छन् ।
ठेक्कापट्टा ,निर्माणमा आफन्ती वा व्यापारीसितकाे साँठगाँठ चलेकै छ । खास विपन्न र अाश्रित वर्ग ओेझेलमै छ । टाँठाबाठाहरूकै हालिमुहाली बढेकाे छ । दुई पाइला हिड्न सकिने ठाउँमा गाडी माेटरका सुविधा जुटाइएका छन् । भूपूहरूले समेत राज्यदाेहन गरिरहेका छन् । उता हिमाली जिल्लातिर एउटै कुलाे हरेक वर्ष निर्माण भइरहन्छ ,बाटाेकाे नाममा बजेट चुहिरहन्छ तर बाटाे बन्दैन । सरकारी बजेट खाने सनातनी संस्करणकाे निरन्तरता कायमै छ । न कर्मचारी सुध्रिएकाे छ, न व्यापारी मर्यादामा बसेकाे छ , न पुलिस-प्रशासन चुस्तदुरुस्त छ । याे अवस्थामा गणतन्त्र फगत् सुकी दे गाँडभन्दा हगी दे गाँडभन्दा केही भएकाे छैन ।
जिन्दगीका अनेक मागहरू छन् । स्वतन्त्रताकाे अर्थ थाेत्रा गाला बजाउनु हाेइन, विराेधका स्वर उरालेर मात्रै भाेकाे पेटकाे क्रन्दन मत्थर हुँदैन । जीवनलाई वाक् स्वतन्त्रताका साथमा आर्थिक-भाैतिक-न्यायिक र तपसिलका अनगिन्ती स्वतन्त्रता पनि चाहिन्छ । चुनावी प्रक्रियाद्वारा जनताकै सन्तानले त्याे उपलब्धि हासिल गर्ने संवैधानिक हक सुनिश्चित भए पनि सबै जनताकाे राजनीतिमा रूझान र सामर्थ्य नहुन सक्छ । एउटा फूल फुल्याे भन्दैमा वसन्त ऋतु अाएकाे मान्न कदापि सकिन्न । वसन्तका साथमा पूरा उपवनमा सुगन्ध छरिनुपर्छ, कीटपतङ्ग -माैरी -चराचुरुङ्गी सम्पूर्ण अस्तित्वले त्यसमा आनन्दकाे नि:श्वास फेर्नुपर्छ ।
एउटा भूल अवश्य भएकाे छ । विगतकाे कसाैटीमा दाेषपूर्ण साबित भएका पात्रहरू नै गणतन्त्रका प्रभु हुन् । मान्छे सुध्रिने प्राणी हाे भनेर रत्नाकर वाल्मीकि बनेकाे सन्दर्भ आउँछ , अङ्गुलीमाल साधु बनेकाे प्रसङ्ग आउँछ । यस्ता नजिरहरूका आधारमा मान्छे सुध्रिहाल्छ भन्नु एकाङ्गी निर्णय हुन जान्छ । गणतन्त्र स्थापनाका सुरुवातीमा हामीले माथिकै पाैराणिक नजिरलाई मनन गरेर आफ्नाे आस्थाकाे पाैष्टिकता समर्पण गरेका थियाैँ । अब परिभाषा फेर्नु जरुरी छ। बेइमान मान्छेले कहिलेकाही असाध्यै राम्राे काम त गर्छ तर त्यसमा गुप्त रूपले बेइमानी मिसाइसकेकाे हुन्छ । समयक्रममा उसकाे स्थायी गुण (बेइमानी) ले फेरि सक्कली चेहरा देखाइहाल्दछ । भएकाे यत्ति हाे ।
रत्नाकर र वाल्मीकिका जिन्दगीमा महागुरु बनेर बुद्ध र नारद आएका थिए । सत्पुरुषकाे आभा पाएर ती दुरात्माकाे मन परिवर्तन भएकाे हाे । यतिखेर न त्यस्ता श्रेष्ठ पात्र छन् न त त्यत्तिकै मात्राका खुङ्खार अपराधी छन् । अपराधसिद्धान्तकाे एउटा मान्यता के छ भने मान्छे आफ्नाे अपराधबाट भित्रभित्रै नपाक्दासम्म र नथाक्दासम्म उसमा संशाेधनकाे गुन्जाइस हुँदैन । यहाँ त अपराधलाई नै सहज स्वीकृति प्राप्त छ , विधानत: आफूखुसी गर्ने छुट छ , अपराधीलाई नै थाहा छैन कि उसले के गरिरहेकाे छ । तब याे अवस्थामा मुलुक र जनताकाे भाग्याेदय हाेला भन्नुु थाराे गाईले बच्चा पाउने कल्पना बाहेक अन्य मूढता केही हैन । भगवान् ! गणतन्त्र बाेक्नै नसकिने भयाे ।
प्रतिक्रिया