वसुधैव कुटुम्बकम र कोरोना

प्रा.डा. दुर्गा दाहाल

  • 83
    Shares

वसुधा अथवा धरा अर्थात् पृथ्वी । सारा प्राणीहरूको बासस्थान हो यो । यो पृथ्वी अथवा प्रकृति भगवान्ले केवल मनुष्यका लागि मात्रै नभएर सबै प्राणीका लागि सन्तुलित र समन्वयात्मक ढंगले निर्माण गरेका छन् । अतः यो सन्तुलन अथवा समन्वयमा मनुष्य जातिले अतिक्रमण अथवा उत्पीडन गर्यो भने प्राकृतिक प्रकोपहरू देखा पर्छन् । अहिलेको विश्वव्यापी ‘कोरोना महामारी’ पनि प्रकारान्तरले यसैको परिणति हो ।

ईश्वरले हामीलाई उपहार अथवा आशीर्वाद स्वरूप दिएको यो सुन्दर संसारलाई कुत्सित नपारी ‘सर्व हितायस सर्व सुखाय’को सिद्धान्त अनुरूप अघि बढाएर लैजानुपर्ने थियो । यसको इको–सिस्टमलाई नबिगारी सबैको हितमा लानुको सट्टा विज्ञान र प्रविधिको दुहाइ दिएर सामञ्जस्य स्थापना गर्न नसकेको परिणामस्वरूप आजको विषम र अस्वाभाविक परिस्थितिको सामना हामीले गर्नु परिरहेको छ । यो सुन्दर संसारलाई हामीले नैतिक रूपमा मानवीय अनुशासनभित्र रहेर उपयोग र उपभोग गर्नुपर्छ तथा सुन्दर राख्नुपर्छ । अधिकारको कुरा गर्दा हामीले हाम्रो जिम्मेवारीको पनि बोध गर्नुपर्छ ।

यो संसार मूलतः एउटै परिवार हो । The world is one unique family. We all are brothers and sisters even though we are in a different geography. यो हाम्रो सनातन धर्मको मूल संस्कार तथा विचारधारा हो ।

अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम !!
(महोपनिषद, अध्याय ४, श्लोक ७१ )

चित्तअनुसार मानिसको धारणा अथवा विचार बन्छ । सानोचित्त भएकाले आफ्नै परिवारलाई पनि छुट्ट्याउने प्रयत्न गर्छ भने उदारचित्त भएकाले संसारलाई नै आफ्नो परिवार ठानी जोड़ने प्रयास गर्छ । अहिलेको नेपालमा चलिआएको फोहोरी राजनीतिलाई यहाँ जोड़न सकिन्छ । ओली सरकारद्वारा जारी अध्यादेशद्वय र त्यसको फिर्ता प्रकरणलाई यहाँ जोड़ेर हेर्न सकिन्छ ।

प्रसिद्ध पुरुषहरूले सांसारिक हित–कल्याण र मानवधर्मका लागि आफ्नो जीवन उत्सर्ग गर्छन् । आजको संसार गहिरो रूपले अन्तरसम्बन्धित र अन्तरजडित छ । एक्लै बाँच्न कठिन छ । कुनै पनि व्यक्ति, समाज, समुदाय अथवा राष्ट्रले एक्लै आफ्नो अस्तित्व जोगाएर हिँड्न सक्ने परिकल्पना पनि गर्न नसक्ने यो युगमा नेताहरूले पनि खुबै विचार पुर्‍याएर कदम चाल्नुपर्ने हुन्छ ।

यद्यपि प्रत्येक व्यक्तिको आ–आफ्नो देश हुन्छ, नागरिकता हुन्छ तर नियम र कानुनको अधीनमा रहेर उसले विश्व परिक्रमा गर्न सक्छ । प्रशासकीय दृष्टिकोणले अथवा सुरक्षाको हेतुले हरेकले आफ्नो देशको पासपोर्ट र भ्रमण गर्ने देशको प्रवेशाज्ञाको चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ तर संसारलाई परिवार सम्झेर कुनै पनि व्यक्तिले कुनै पनि समयमा विश्व भ्रमण गर्न सक्छ । यो विश्वव्यापी नियम हो ।

सर्वप्रथम हामीले मानवीय मूल्य र मान्यतालाई बुझ्ने प्रयत्न गर्नुपर्छ । कुन देशको व्यक्ति हो भन्ने कुरा यहाँ गौण हुन आउँछ । यो पृथ्वी सबैको साझा भएता पनि त्यो व्यक्ति कुन देशमा जन्मिएको हो, त्यस अनुरूप त्यस देशको नागरिकता पाउँछ तर त्योभन्दा माथि उसले मानिस हुनुको प्रमाणपत्र बोकेर आएको हुन्छ ।

माथिको कुराहरूलाई अझ पुष्टि गर्ने हो भने हामीले आफ्नो चित्त, धारणा र विचारलाई फराकिलो बनाउन सक्नुपर्छ । नग्न शरीरमा आएका हामी सबैले नग्न शरीरमै जानुपर्छ । मृत्यु पछि केवल रहन्छ हाम्रो सद्नाम वा दुर्नाम । अत एव, कल्याणकारी भावना लिएर विश्व समुदायका लागि हामीले हरेक कदमहरू चाल्नुपर्छ । आफ्नो क्षमता र सामथ्र्यअनुसार सबैभन्दा पहिले परिवार, समाज, समुदाय र राष्ट्रको सेवामा समर्पित भई विश्व समुदायमा काम गर्न सक्ने हैसियत नेपालीहरूले पनि बनाउन सक्नुपर्छ ।

कोरोनाको यस विश्वव्यापी महामारीमा पनि हामीले यो संसारका सबै मानिसहरू हाम्रै दाजुभाइ र दिदीबहिनी हुन् भनेर सम्झिनुपर्छ । यो केवल एउटा राष्ट्रको मात्रै समस्या हैन । सारा संसार स्तब्ध छ । सबैले मिलेर सामूहिक प्रयासमार्फत यसको निराकरण खोज्नु पर्छ ।

हामीले हाम्रो पर्यावरणलाई स्वच्छ राख्नुपर्छ । अखाद्य खानु हुन्न । वैदिक परम्पराहरूलाई जोगाएर राख्नुपर्छ । हाम्रो सनातनी संस्कार र संस्कृतिलाई अक्षुष्ण राख्नुपर्छ । पृथ्वीलाई अत्यधिक भार दिनु हुन्न । इको–सिस्टमलाई जोगाएर प्रकृतिको नियम/कानुनलाई उल्लंघन गरिएन भने संसार सुन्दर छ ।

राजनीति, समाजनीति, अर्थनीति, विज्ञान र प्रविधिसंगै प्राकृतिक नियम–कानुनहरूको पालना गर्नुपर्छ, नत्र अनर्थ हुन्छ । यिनीहरूको बीचमा समन्वय, सन्तुलन र सामञ्जस्य हुनु अत्यावश्यक छ ।

(क्यालिफोर्निया निवासी दाहाल अंग्रेजी विभागका प्राध्यापक तथा दर्शनशास्त्री हुन् । सं.)

२०७७ वैशाख २१ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित


  • 83
    Shares

Facebook Comments