अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खाले आक्रमणभन्दा घातक भएको बताएका छन् । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना महामारीलाई अमेरिकामाथि भएको इतिहासकै खराब आक्रमणको संज्ञा दिएका हुन् ।
दोस्रो विश्वयुद्धका बेला जापानले पर्ल हार्बरमा गरेको बमबारी र ट्वीन टावरमाथि भएको आतंकवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक देखिएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।
उनले महामारीले अहिलेको स्वरूप लिनुमा चीनमाथि आरोप दोहोर्याए । उनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरेका हुन् । उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोहोर्याए ।
विदेशमन्त्री माइक पोम्पेओले पनि चीन विरुद्धको आफ्नो कठोर आलोचना दोहोर्याएका छन् । चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ । चीनले भाइरसविरूद्ध प्रभावकारी कदम उठाउन नसकेपछि आफुमाथि आरोप लगाएको बताउदै आएको छ ।
अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना संक्रमित भएका छन् । अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो ।
प्रतिक्रिया