अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने तयारी भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साता भित्रै बन्द गर्ने तयारी रहेको बताएका हुन् ।
एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने बताएका हुन् । अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ । यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ ।
तर राष्ट्रपति ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताएका हुन् । तर विपक्षी दलहरुले भने व्यवसाय खुला गर्न हतारो गरेर राष्ट्रपति ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप लगाउँदै आएका छन् ।उनले आउँदो नोभेम्बरमा हुने चुनावमा आफ्नो पक्ष बलियो बनाउनका लागि अर्थतन्त्र खुला गर्ने मार्गमा सर्वसाधारणको जीवन नै जोखिममा पारेको आरोप विपक्षीको छ ।
ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ ।
प्रतिक्रिया