देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृत्युअघि इरफानले भनेका थिए- चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु !

देशान्तर

काठमाडौं ।  भारतीय चर्चित अभिनेता इरफान खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा मृत्यु भयो । ५४ वर्षीय इरफानलाई व्यथाले च्यापेपछि मंगलबार आईसीयूमा भर्ना गरिएको थियो । हिजो न अस्पतालले जानकारी दियो, न परिवारले नै बोल्न माने । आज बिहान एक्कासी उनको मृत्युको खबर आयो ।

२०१९ मा इरफान लण्डनबाट उपचार गरेर फर्किएपछि कोकिला बेन अस्पतालका चिकित्सकहरुको रेखदेखमा नियमित ट्रिटमेन्ट गरिरहेका थिए । उनलाई बेलाबेलामा व्यथाले च्यापिरहन्थ्यो । चलचित्र ‘अंग्रेजी मिडियम’ मा काम गर्ने समयमा पनि उनको स्वास्थ्य बिग्रिएको थियो । यस्तो अवस्थामा इरफानको रेष्टका लागि पुरै युनिटले शुट रोक्नु परेको थियो ।

केही दिनअघि इरफानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण इरफान उनको अन्तिम संस्कारमा समेत जान पाएका थिएनन् । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो ।

उनले रोगबारे जानकारी मिलेपछि एक भारतीय मिडियासँग भनेका थिए– ‘मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ? मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’

भारतको जयपुर, राजस्थानमा सन् १९६७, जनवरी ७ मा जन्मिएका उनले सन् १९६७ मा  ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै व्यस्त रहे । उनले एउटा फिल्ममा अभिनय गरे बापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए ।

वास्तवमा इरफान क्रिकेटर बन्न चाहन्थे । तर अभिनेता बने । इरफानका पिता साहबजादा यासीन अली खान उद्यमी थिए । आमा गृहणी । उनका दुई भाई छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् । उनका माता-पीताको मृत्यु भइसकेको छ ।

उनले सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरेका थिए । उनीहरुको दुई छोरा अयान खान र बबिल खान छन् । सलाम बम्बे, हासिल, मेकूललगायतका उनका चलचित्रहरु निकै चलेका थिए । उनले हलिउड चलचित्रमा समेत अभिनय गरेका थिए । ‘लाइफ अफ पाइ’ र ‘स्लमडग मिलिनियर’ अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएका इरफानका चलचित्र हुन् ।