फ्रान्समा लकडाउन खुकुलो बनाईंदै गर्दा मास्क लगाउन अनिवार्य बनाइने भएको छ । विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिनेछ ।
पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु भने बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ । सार्वजनिक स्थलहरुमा दश जनासम्म मानिस जम्मा हुन पाउने छन् ।
प्रधानमन्त्री एडुवार्ड फिलिपले आगामी मे ११ बाट लकडाउन खुकुलो बनाईने भएपनि सार्वजनिक यातायात र विद्यालयहरुमा मास्क अनिवार्य गरिने बताए । संसदमा सम्बोधन गर्दै उहांले लकडाउनका कारण प्रत्येक महिना करिब ६२ हजार मानिस बचाउन सकिएको बताए ।
तर अब अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन लकडाउउन खुकुलो बनाउने समय आएको उनको भनाई थियो । प्रधानमन्त्री फिलिपले भ्याक्सिन वा प्रभावकारी उपचार उपलब्ध नहुंदासम्म भाइरससंगै जिउन सिक्नुको विकल्न नभएकोमा जोड दिए ।
कोरोना महामारीको चर्को मार खेपेको स्पेनले जुनको अन्त्यबाट लकडाउन हटाउने योजना सार्वजनिक गरेपछि फ्रान्सले पनि लकडाउन खुकुलो पार्ने तयारी गरेको हो । यूरोपमा बेलायत, इटाली र स्पेनसंगै फ्रान्स पनि कोभिड नाइन्टिनको चर्को मारमा परेको छ ।
पछिल्लो समय कोरोनाका विरामी अस्पताल भर्ना हुने र आईसीयूमा पनि संक्रमितको संख्या घटिरहेको छ ।
प्रतिक्रिया