काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।
सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् ।
काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव पनि वडाध्यक्षहरुले दिएका थिए ।
महानगरपालिकाका प्रमुख शाक्यले पनि वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन आग्रह गरे ।
बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण आरडीटी, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न काठमाण्डौ महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए । खान छैन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
‘कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा २ सय २१ लाई सेवा दिएको छ,’ उनले भने, ‘१०२ नं. मा सम्पर्क गरेर सेवा लिन सकिने सो एम्बुलेन्सले १ सय ७६ जनालाई निशुल्क सेवा दिएको छ । त्यसैगरी यो अवधिमा दिउँसो १५ सय ३३ र रात्रीमा ८ सय ४५ जनालाई सेवा दिएको छ भने ५ जना प्रसूतिका बिरामीलाई सेवा दिएको छ ।’
बैठकले महानगरको कोरोना सङ्क्रमण , रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ ।
त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लाजु पर्नेमा जोड दिइन् ।
बैठकमा वडाध्यक्षहरुले वडामा समन्वय नगरी राहत लिएर आउनेहरुलाई निरुत्साहित गर्नुपर्ने, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
प्रतिक्रिया