देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लण्डनकी एक नेपाली नर्सले कसरी कारोनालाई पराजित गरिन् ? यस्तो छ अनुभूति र सुझाव

देशान्तर

मेरो नाम अप्सरा खुलाल हो । म १४ वर्षदेखि बेलायत (युके)को नेसनल हेल्थ सिष्टममा काम गर्ने नर्स हुँ । अहिले हामी कोरोना भाइरस संक्रमणको त्रासदीमा बाँचिरहेका छौ । हस्पिटलमा काम गर्ने क्रममा पाँच हप्ता जति अघि म पनि यो भाइरसद्वारा संक्रमित हुन पुगेछु र मबाट फेरि यो भाइरसले मेरो श्रीमानलाई पनि संक्रमित गर्‍यो । अहिले हामी दुवै जना कोरोना मुक्त भैसकेका छौं । मैले के गरेर यो भाइरसवाट मुक्ति पाएँ भन्ने कुरा सुनाउँदा यहाहरुलाई पनि सहयोग पुग्ला कि भन्ने हेतुले यहाहरु समक्ष मेरो अनुभब सुनाउदै छु । नयाँ वर्षमा यो भाइरसको संक्रमण यहाहरु कसैले पनि ब्यहोर्नु नपरोस् । यहाहरुको जीवन सदा स्वस्थ र मंगलमय बनोस भन्ने कामना गर्दै म मेरो अनुभब “शेयर” गर्ने अनुमति चाहन्छु ।

मैले काम गर्ने अस्पतालमा भर्खर-भर्खर कोरोनाका केही बिरामीहरु आउन थालेका थिए । त्यसबेला हामीलाई पीपीई पनि उपलब्ध थिएन । जसो तसो पहिचान भएका केही बिरामीलाई छुट्टै वार्डमा राख्ने गरिएको थियो । हाम्रो वार्डमा भने पहिचान भएका बिरामी थिएनन् । तर पनि श्वासप्रश्वासका बिरामी राखिने वार्ड हुनाले कोरोनाको लक्षण र श्वासप्रश्वासका लक्षण उस्तै हुने हुँदा, बिरामीको रोग पहिचान हुनु अगावै हामी स्टाफलाई नै संक्रमण भैसकेको रहेछ, त्यसमा म पनि परेछु ।

ड्युटी गरेर फर्किएको दोस्रो दिन पछि मलाई खाना बेस्वादिलो लाग्ने, आलस्यता हुने, अति टाउको दुख्ने, उच्च तापक्रमसहित हन-हनी ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समेत कठिन महसुस हुने अनि शरीर दुख्ने, हुन थाल्यो । इमर्जेन्सी नम्बरमा फोन गर्दा कोरोनाकै लक्षण हो, छुट्टै कोठामा अलग्ग बस्नु भन्ने सुझाब मिल्यो । हुँदा हुँदै शरीर यति बिछिप्त भएर आयो कि बसेको ठाउबाट सर्न पनि कठिन हुने अवस्था आउन थाल्यो । भ्याक्सिन तथा औषधि पनि केही नभएको र घरमा स-साना नानीहरु पनि भएकाले म अब के गर्ने, के नगर्नेको दोसाधमा परें । अब के हुने हो ? एक्लै कोठामा आइसोलेसंमा बेसार, तुलसी सहितको तातो पानी, कहिले अदुवा, कागती र महसहितको तातो पानी पिउदै बसेको त्यो अवस्थामा मनमा खुब तर्कना सुरु भयो ।

फेरि सम्झे, म एउटी शिद्ध-महायोगकी साधिका हुँ । बिगत डेढ वर्षदेखि नियमित साधना गर्दा आफूले भोगिरहनु परेका कतिपय जटिल प्रकृतिका स्वास्थ्य समस्याहरुबाट मुक्ति मिलेको ताजा अनुभब म आफैसँग छ । यो भाइरसको प्रभाब पनि पक्कै यो साधनाका बलमा बिसेक हुनेछ, म डराउनु जरुरी छैन । यस्तो सोच्दै बल्ल तल्ल उठेर त्यहि कोठामा नै गुरुदेवको सानो फोटो राखी गुरुदेवलाई प्रार्थना गरेर साधना गर्न बसें । सदा जस्तै सुदर्शन क्रियाबाट साधना सुरु गर्न पनि सकिनँ । हात खुट्टा केहि चलाउन सक्ने अबस्था थिएन । त्यसैले एकै पटक ध्यानमा बसें । साधनाको सुरुवातबाटै हिलिङ्ग गर्ने शक्तिको प्रबाह भएको अनुभव भयो । यति बिचित्र अनुभव भयो कि एक घण्टाको साधना सकेर उठ्दा म आफु बिमारी छु भन्ने कुरा ६० प्रतिशतले घटेको पाएँ । भोलि पल्ट पनि त्यसैगरें । तेस्रो दिनबाट त सुदर्शन क्रिया पनि गर्न सक्ने भएछु । लगातार चार दिनको साधना पछि रोगका धेरै लक्षण सहित मेरो ज्वरो बिसेक भयो । आलस्यता र कमजोरीपन त केही समय रह्यो नै तर ४-५ दिन पछि नै ओछ्यानबाट उठेर साना बाल-बच्चा र बिरामी श्रीमानको हेरचाहमा खटिन सकें । श्रीमानलाई उच्च रक्तचाप पनि भएको हुनाले साढे २ हप्ता जति ओछ्यान पर्नुभयो । बाहिरबाट किनमेल गर्नु पर्दा नजिक रहनु भएका साथीहरुले मद्दत गर्नुभयो । साथी तथा आफन्तहरु सबैले धेरै सहानुभूति प्रदान गरिरहनु भयो । श्रीमानलाई पनि गुरुदेवको आशीर्वाद र कृपाले हस्पिटल नगई घरमै निको भयो ।

यो अवस्थामा मनमनै गुरुदेवलाई कोटी कोटी नमन गरें । साधना गर्दा गुरुकृपारुपी शक्तिको अचम्मको प्रभाब हुँदोरहेछ । आफैलाई हिलिङ्ग भैरहेको छ भन्ने प्रत्यक्ष अनुभव हुन्छ । जब म यो गुरुकृपारुपी शक्तिले आफुमा पुर्‍याएको लाभलाई सम्झन्छु, अनि पूज्य सद्गुरुदेव जगतगुरु महायोगी सिद्धबाबालाई कोटी कोटी नमन गर्दै कृतज्ञता ब्यक्त गर्दछु ।

हाल बेलायत (युके)मा बिशेष गरि मैले काम गर्ने अस्पतालमा कोरोनाका संक्रमित बिरामीहरु यति धेरै मात्रामा हुनुहुन्छ कि सुनामी आएको जत्तिकै छ । जतासुकै कोरोना राष्ट्र तथा अस्पताल ब्यबस्थापनले जति मात्रामा पीपीई उपलब्ध गराएपनि नपुग्ने अबस्ठा छ । र हामी उपयुक्त पीपीई बिना नै काम गर्न बाध्य भएका छौं । यस बाताबरणमा कोही स्टाफ अथवा बिरामी चोखो बच्न सक्ने अवस्था छैन । मैले काम गर्ने ठाउँमा मात्र ९० प्रतिशत साथीहरु बिरामी परिसकेका छन् । हामी सबै फेसबुकमा एउटा समूह बनाई एकअर्काको अनुभब सेयेर गर्थ्यौ र के खाने गरेका छौ भनेर पनि सेयर गथ्र्यौं । कतिलाई त हस्पिटल भर्ना गरेर उपचार नगरी भएनछ । संक्रमणवाट बिसेक भएका साथिहरुसँग कुरा गर्दा थाहा भयो, सबैभन्दा सजिलो र छिटो बिसेक हुनेमा त म नै परेछु ।

अब त सधै सहि पीपीई बिना काम गरिरहनु परेको भए पनि मलाई ब्यक्तिगत रुपमा कत्ति पनि डर छैन । कारण मसँग मेरो साधना छ । सधै कृपा पठाइरहने गुरुदेव होइसिञ्छ । जति कोरोनाको भाईरस आए पनि अब मलाइ केही हुँदैन भन्ने पूर्ण बिस्वाश छ । काममा जानुभन्दा अगाडि बेसार पानीले नुहाउछु, अनि साधना गर्छु । फेरि कामबाट फर्किएपछि पनि नुहाई धुवाई गरेर साधना गर्छु । अनि साधनामा पुरै हिलिग भएको महसुश हुन्छ । अनि हर्षले गदगद हुन्छु । मलाई चिन्ता यति मात्र छ कि, मेरो कारणले अरु संक्रमित हुन नपरोस । त्यसैले म घरमा अलिकति अलग्गिएर बस्ने अनि बाहिर ग्रोसरी गर्न पनि त्यत्ति नजाने र जानै परे पनि मास्क लगाएर मात्र जाने गर्छु र अरुसँगको दुरीमा सजग हुने गर्छु ।

तर बिडम्बना, यस्ता कृपालु सदगुरुदेव एउटा मिथ्याचारी आरोपको पुर्पक्षका लागि भनेर कारागारमा बस्नु परेको छ । दिउसोको घाम जत्तिकै छर्लंग यो बस्ताबिकतालाई जति सम्झन्छु, त्यति नै आँखामा आशु भरिन्छन । यस्ता निरपराध महान व्यक्तिलाई दुःख दिने पापिष्टहरुलाई भगवानले के माफी दिनुहोला त ? कतै हामीले त्यसै पापको सजाय त भोग्नु परेको होइन भन्ने प्रश्न आफ्नै मन भित्र उठ्छ । कारण उता हामीले गुरुदेवलाइ वहाले नखाएको बिषको पनि एकिन नगरी जबर्जस्ति कारागारमा बन्दि बनाएका छौ । यता परिस्थितिले हामी सबैलाई आ-आफ्नै घरमा बन्दि बनेर बस्न बाध्य तुल्याएको छ । कस्तो अचम्मको परिघटना ! विज्ञानले हारेको यो अवस्थामा यदि मेरो जस्तै सबै मानिसको मनमा यही प्रस्न उठे र गुरुदेव प्रति परेको अन्यायलाई चाडो पुर्पक्ष गरि न्याय दिन सकिए, कतै परमात्माले हामी माथि दया गरि यो आपत्तिबाट कतै मुक्तिको बाटो फेला पार्न मद्दत गर्नुहुन्थ्यो कि ? २१औं शताब्दिमा पनि एउटा भाइरसका कारण आफ्नै हातमा पक पक मानिसहरु मरेको देख्नु र भोग्नु पर्दा मनमा असह्य पिडा हुन्छ, आँसुको भेल रोकिदैन, नर्स नै भए पनि, म पनि त उस्तै एक मान्छे न हुँ ।

म आफु त यो महायोग साधनाको कारण सुरक्षित छु भन्ने लाग्छ । किनभने सुरुमा त मैले महायोग पनि अरु योग जस्तै सामान्य योग होला भन्ने सोचेकी थिएँ । तर यो त बडो बिचित्रको योग पो रहेछ । यो योगमा हाम्रो शरीरमा भएका अन्य रोग पनि निको पर्न सक्ने क्षमाता रहेछ भन्ने कुरा मेरो आफ्नै अनुभवले पुष्टि गरेको छ । त्यसैले जसले यो साधना सिकीसक्नु भएको छ, यसको नियमित अभ्यास गर्न नछुटाउनु होस् । यहि साधनाको बलले जब म यो भाइरसवाट चारै दिनमा बिसेक भएँ अनि मलाइ यो गुरु(कृपा रुपी महायोग साधनाको शक्तिको प्रभावमा अझ बढी बिश्वास जागेर आएको छ । मेरो चाहना त यो पूरै विश्वमा रहेका प्राणीहरु सुरक्षित भैदिउन भन्ने हो ।

साधना नसिक्नु हुने सम्पूर्ण दाजुभाई, दिदी(बहिनीहरुलाई पनि म के भन्न चाहन्छु भने, कोरोना भयो भन्दैमा आत्तिईहाल्नु पर्ने अवस्था छैन । धैर्य गर्नुहोस्, आफुले मान्ने गरेको भगवानलाई प्रार्थना गर्नुहोस् । यदि सच्चा हृदयले भगवानको प्रार्थना गर्ने हो भने हामी सबैमा भगवानको आशीर्वाद हुँदो रहेछ । हामीले आफ्नो आत्मबल बढाउनु पर्छ । किनकि जहाँ विज्ञानको बाटो टुन्गीन्छ त्यहाँ अध्यात्मविज्ञानले सहयोग गर्दोरहेछ ।

अनि खाने र पिउने कुरामा बिसेष ध्यान दिनु होला । बेसार, तुलसी र तातो पानी, तेस्तै अदुवा, कागती, मह राखेर तातो पानी प्रसस्त मात्रामा पिउनुहोला । तागतिलो नरम खानेकुरा जाउलो भएपनि बेला बेलामा खाइरहनु होला । संक्रमण भएको समयमा खान रुचि हुने तथा स्वाद हुने केहि हुँदैन । तैपनि खाना र पानी नै औषधि हो भन्ने सम्झिएर खाने पिउने गर्नुहोला । किनकि यस्तो रोगले गाँजेको बेला खानपिनको अभाबमा झन् जटिल परिस्थितिको सिर्जना भै ज्यान जाने रहेछ । केहीपनि खान पिउन नसक्ने हुनुभयो, रिंगटा लाग्न थाल्यो भने जीवनजल वा नून चिनी पानी भएपनि बनाएर खानुहोला । उच्च रक्तचाप र मधुमेहका बिरामीले त झनै यस्मा ख्याल पुर्‍याउनुपर्ने हुँदो रहेछ । अहिले यो देशमा बढिरहेको मृत्यु दरको पछाडी यो पनि एउटा कारण बनेको छ । तातो पानीको बाफ अति राम्रो हुने रहेछ येतिखेर । बिहान बेलुका तातो पानीको बाफ लिनुहोला । हुनसक्छ र सहुलियत छ भने, ज्वरो तथा रक्तचाप पनि बेला बेलामा मापन गरि नै रहनुहोला । सकेसम्म ज्वरो ३८ डिग्री सेन्टिग्रेडभन्दा बढी हुन नदिनुहोला । सिटामोल ४-६ घण्टाको फरकमा आफूलाई गार्हो होउञ्जेल नियमित रुपमा सेवन गर्ने गरे पनि हुन्छ । श्वासप्रश्वासमा कठिनाई हुँदै गएमा, ज्वरो घट्दै नघटेमा इमर्जेन्सी परामर्श लिईहाल्नु होला ।

यदि यहाँ पनि यो महायोग साधना सिक्न इच्छुक हुनुहुन्छ भने यो साधना सिकेर अवस्य पनि लाभ लिन सक्नु हुनेछ, सबैलाई फेरि पनि नयाँ वर्षको शुभकामना !

प्रस्तुति : बिपिन निरौला