देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कविता :  ‘जता हेर्‍याे उतै नक्कली’  

देशान्तर

हाम्राे टेस्टिङ नक्कली, किट-दबादारू-लुगा नक्कली
सम्झाैता पनि नक्कली, लुकिछिपी खाने-दिने नक्कली
क्वारेन्टाइन नक्कली, दुखितका उद्धार झन् नक्कली
मन्त्री-निर्णय नक्कली, छिनछिनै फेर्ने कुरा नक्कली ।

पित्काे छर्दछ दानवीर भइने दाता भयाे नक्कली
दाताकाे श्रममाथि हैकम लिने नेता भयाे नक्कली
पाएरै अझ पाउने रहरका लुब्धाहरू नक्कली
बाँडेकाे छ अनाज खान नहुने सर्कार झन् नक्कली ।

सीमा पस्न दिँदैन कुट्छ प्रहरी जन्ता भयाे नक्कली
हाम्रा नर्सिङहाेम-डाक्टर सबै उत्पातका नक्कली
जाबा मास्क र स्यानिटाइजरकाे व्यापारमा नक्कली
पत्याऊँ कुन पत्रिका र मिडिया ? जम्मै कुरा नक्कली ।

याे निर्वासनकाे घडी नियम त्याे ताेड्ने ठिटाे नक्कली
सित्तैमा किन कुट्छ डाक्टरहरू ? डन्ठे महा नक्कली
खाने अन्न र नूनतेल पसले लुक्काउने नक्कली
छाेडी हिँड्दछ अस्पताल किन हाे राेगी स्वयं नक्कली ।

बेला सङ्कट हाे नियुक्ति- बढुवा गर्ने मुली नक्कली
देखी बेथिति छाेप्छ धन्य हनुमान् ! तेराे गिदी नक्कली
बाँड्ने राहतमा विभक्त गुट छन् हा दैव ! क्या नक्कली
संसारै अब नक्कली कुन कुरा खाेजूँ कठै ! सक्कली ?