कोरोनाविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ बनाउँदै आर्किटेक्ट वंशल

  • 35
    Shares

काठमाडौं । झुस्स दारी पालेका आशिष वंशललाई धेरैले वैरागी भयो भन्छन् । मारवाडी समुदायका वंशल खासमा आर्किटेक्ट हुन् । घर तथा आवासको डिजाइन गर्ने उनले पुस्तौनी पेशा वयापारसँगै विपद्मा सारथी बन्ने प्रयास गरे । भारतको बैंगलोरमा रहेको आरवी कलेज अफ आर्किटेक्टबाट स्नातक गरेका वंशललाई महामारीले एउटा नयाँ जिम्मेवारी थपिदियो ।

कोरोना कहरबाट संसार नै यतिबेला त्रस्त छ । नेपाल पनि त्यसबाट अछुतो छैन । अस्पतालमा सामान्य रोग लागेकाको समेत उपचार हुन छाडेको छ । चिकित्सक र स्वास्थ्यकर्मी छुट्टै कोही कसैको उपचार गर्न मान्दैनन् । कोरोनाले सबैको मथिंगल हल्लाइदिएको छ । समस्यामा परेकाले समेत उपचार नपाएपछि वंशलको मनमा एउटा ‘आइडिया’ फुर्‍यो । अस्पतालको गेटमा एउटा त्यस्तो सामग्री राख्न पाए कोरोनाको असर कम गर्न सकिन्थ्यो । ‘डिसइन्फेक्सन स्प्रे’ गर्न सकियो भने त्रास कम हुन्छ भन्ने चिकित्सकको सुझावलाई मारवाडी युवा मञ्चले वंशललाई जानकारी गरायो ।

उनको सोचमा मारवाडी युवा मञ्च सहयोगी बनेर खडा भयो । अस्पतालमा उपचारका लागि जाने बिरामी तथा स्वास्थ्यकर्मीलाई भाइरसरहित बनाउने सोचलाई साकार पार्न निमेष पनि खर्च नगरी लागे वंशल । अस्पतालमा स्यानिटाइजेशन बुथ (औषधि छर्ने कक्ष) राख्न सकियो भने धेरैको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्न सकिने सोचका साथ वंशलले स्थानीय सामग्रीको प्रयोग गरी उक्त बुथ बनाउन थाले । रातोपुलमा रहेको आफ्नै घरमा कामदार राखेर उनले स्यानिटाइजेशन बुथ निर्माण गर्न थाले ।

“स्थानीय सामग्री नै प्रयोग गर्दा पनि राम्रो स्यानिटाइजेशन बुथ बनाउन सकिन्छ भन्ने मेरो प्रयास सार्थक भएको छ”, वंशलले भने, “स्यानिटाइजेशन बुथमा एउटा सेन्सर जडान गरिएको हुन्छ, बाल्टिनमा कोलोरिन मिसिएको झोल राखिएको हुन्छ, अस्पताल छिर्ने जोकाहीलाई सो मेशिनले भाइरसरहित बनाइदिन्छ ।” वंशलले बनाएको स्यानिटाइजेशन बुथ यतिबेला टेकु अस्पताल र वीर अस्पतालमा जडान भइरहेको छ । सेन्सरले अस्पताल प्रवेश गर्ने जो कोहीलाई चिन्छ र कोलोरिन हालिएको झोल फ्याक्छ । यति चलेन भने भित्र रहेका जो कोहीले पनि स्वीच खोलिदिन सक्छ ।

वंशलले निर्माण गरेको स्यानिटाइजेशन बुथमा मोटर जडान गरिएको हुन्छ । जसले पानी तानेर फालिदिन्छ । एउटा डिस्पेन्सर बनाउन रु एक लाख ५० हजार खर्च लाग्ने गरेको छ । वंशलको कामलाई सहयोग गर्न दैनिक १० जना खटेका छन् । उनीहरुको नेतृत्व गर्दै वंशलले स्यानिटाइजेशन वुथ बनाउँछन् । ध्यानपूर्वक काम भइरहेको छ, कोही कसैले खोट नलगाओस् र केही नकारात्मक प्रतिक्रिया नआओस् भन्नेमा सचेत छन् उनी ।

विपद्को समयमा जानेको काम गर्न पाउँदा खुशी लागेको बताउँछन्, वंशल । “विपद्को समयमा राज्यको मात्रै मुख ताकेर बस्दा धेरै ढिला भइसकेको हुन्छ, त्यसैले जसले जे जानेको छ, त्यही गर्ने हो, मैले पनि त्यही गरिरहेको छु”, उनले भने । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लकडाउन घोषणा गर्‍यो । लकडाउनपछि अस्पतालमा मानिस जानै नमान्ने, गए पनि चिकित्सकले परीक्षण नै गर्न नमान्ने, जताततै सन्त्रास मात्रै देखा परेपछि मारवाडी युवा मञ्चले वंशललाई झकझकायो ।

उमेरले २७ वसन्तमा यात्रा गर्दै गरेका वंशलको आजकलको दैनिकी थप व्यस्त बनाएको छ । बिहान काठमाडौँमा सूर्यले लाली छर्दा नछर्दै वंशल आफ्नो काममा खट्छन् । उनका सहकर्मी पनि सँगै खट्छन् । काम गर्न आउनेलाई खाना र खाजाको व्यवस्था पनि गरिएको छ । कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा नै उनीहरुको ध्यान रहन्छ । हालसम्म आठ वटा स्यानिटाइजेशन बुथ बनाइसकेको बताउने वंशल अझै माग आइरहेको बताउँछन् । माग आएसम्म काम गर्ने सोच छ उनको ।

विगत दुई सातादेखि काममा खट्दा थकाइको कुनै अनुभव भएको छैन । सामाजिक दूरी कायम गरेर काम भइरहेको छ । “जानेको काम गरौँ, साथ पाउन सकिन्छ, दुई तीनबाट माग पनि आइरहेको छ”, वंशल भन्छन्, “सामान्य समयमा त धेरैले काम गर्छन्, असामान्य समयमा भने सीप भएकाले योगदान गर्ने हो ।” सोही योगदानलाई राज्यले कदर गरे पनि नगरे पनि कुनै गुनासो नरहने उनको भनाइ छ । पीडितको मनमा राहत दिन सकिए त्यसले आफूलाई खुशी दिएको उनले बताए ।


  • 35
    Shares

Facebook Comments