अमेरिकामा राज्यकोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रिन्ट गरिने भएको छ ।
अमेरिकी इतिहासमै पहिलो पटक संघीय सरकारले प्रदान गर्ने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाम उल्लेख हुन लागेको खबरहरुमा उल्लेख छ ।
कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमेकालगायतका आर्थिक समस्यासँग जुधिरहेका दशौँ लाख अमेरिकीलाई सरकारी कोषबाट सहयोग रकम प्रदान गर्न लागिएको छ । गत महिना मात्रै त्यहाँ एक करोड ६० लाख मानिसले जागिर गुमाएका छन् ।
चेकमा राष्ट्रपतिको नाम छाप्न लागेकाले सहयोग हस्तान्तरणमा ढिलाई भएको टिप्पणी भइरहेका बेला वित्त अधिकारीहरुले भने यो अभियोग अस्वीकार गरेका छन् ।
गत मार्चमा अमेरिकी संसदले कोरोना भाइरसबाट प्रभावित क्षेत्र तथा व्यक्तिहरुका लागि दुई ट्रिलियन डलर बराबरको आर्थिक सहायता प्याकेज ल्याएको थियो ।
सहायता रकमको चेकमा राष्ट्रपतिको नाम किन छाप्न लागेको भन्ने प्रश्नमा ट्रम्पले आफूलाई यसबारे त्यति थाहा नभएको भन्दै पन्छिए पनि आफ्नो नामसहितको चेक पाउँदा मानिसहरु पक्कै खुशी भने हुने टिप्पणी पनि गरे ।
आफ्नो नाम चेकमा राख्ने निर्णयका कारण कुनै कुरा ढिला नभएको दाबी पनि उनको थियो । राष्ट्रपति निर्वाचन हुनुभन्दा सात महिना पहिले ८ करोडभन्दा बढी अमेरिकीले ट्रम्पको नाम छापिएको चेकमा सरकारी कोषबाट १२ सय डलर पाउने भएका हुन् ।
अमेरिकी खबरपत्रिका वासिङ्गटन पोस्टले भने चेकमा ट्रम्पको नाम उल्लेख गर्न खोजिएकै कारण सहयोग वितरणमा ढिलाई भएको खबर प्रकाशित गरेको थियो ।
विज्ञहरुले भने यसरी सरकारी सहयोगमा दिइने चेकमा ट्रम्पको नाम उल्लेख गर्नु असंवैधानिक हुने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया