जर्मनीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न जारी राखेको लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जर्मन चान्सलर एन्जेला मार्केलले देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छन् । जारी लकडाउनले कोरोना महामारी नियन्त्रणउन्मुख रहेकाले लकडाउनलाई खुकुलो बनाउन लागिएको मार्केलको भनाइ छ ।
मार्केललाई उधृत गर्दै बीबीसीले जनाएअनुसार, आगामी सातादेखि त्यहाँका केही निश्चित पसलहरू खुला रहने छन् । आगामी मे ४ देखि विद्यालयहरू पनि विस्तारै पूर्ववत् सञ्चालनमा ल्याइने मार्केलले उल्लेख गरेकी छन् ।
धार्मिकलगायतका ठूला सभा गर्न लगाइएको प्रतिबन्ध भने आगामी अगस्ट ३१ सम्म जारी रहने बताइएको छ । लकडाउन खुकुलो पारिए पनि मानिसहरूको भीडभाड हुने बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र हल र संगीत भेन्यु भने हाललाई बन्द नै रहने छन् ।
लकडाउन खुकुलो पारिए पनि सोसियल डिस्ट्यान्सलगायतका नियम भने आगामी मे ३ सम्म यथावत् रहने उनको भनाइ छ । किनमेल र सार्वजनिक यातायात प्रयोगको दौरानमा मास्कलगायतका सुरक्षात्मक उपाय निरन्तर अवलम्बन गरिराख्न पनि मार्केलले सुझाएकी छन् ।
प्रतिक्रिया