अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ ।
ह्वाइटहाउसले गर्दै आएको नियमित पत्रकार समेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्न आफूले निर्देशन दिइसकेको जानकारी दिए ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन डब्लुएचओले गरेको काम निकै कमजोर रहेको आरोप पनि ट्रम्पले लगाएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको अभियोग छ ।
कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप पनि ट्रम्पले संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि लगाएका छन् । यो अवव्यवस्थाका लागि डब्लुएचओ जिम्मेवार हुनैपर्ने तर्क उनको छ ।
वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले भने, ‘मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’
डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गत वर्ष मात्र अमेरिकाले डब्लुएचओलाई चार सय मिलियन अमेरिकी डलर दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।
यसअघि पनि ट्रम्पले कोरोना भाइरसको संक्रमणका सन्दर्भमा डब्लुएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाउँदै सहयोग रोक्ने चेतावनी दिइसकेका थिए । ट्रम्पको यस्तो आरोपमा डब्लुएचओका प्रमुखले भने कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।
अमेरिकामा कोरोना संक्रमणले धेरै मानिसको ज्यान लिएपछि घरभित्रै आलोचित ट्रम्पले आफ्नो प्रशासनको कमजोरीको दोष पनि डब्लुएचओमाथि लगाउन खोजेको टिप्पणी भइरहेका बेला उनले यस्तो निर्णय लिएका हुन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म करिब २७ हजार मानिसको मृत्यु भएको छ भने ६ लाख १३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
प्रतिक्रिया