देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई लोकन्त्रवादी वकिलहरुको १७ बुँदे सुझाव

देशान्तर

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए)ले कोरोना भाइरस रोेकथामका लागि लागू गरिएको ‘लकडाउन’सँगै दैनिक उपभोग्य वस्तु सर्वसुलभरुपमा उपलब्ध गराउन र अनुगमन गर्न, वास्तविक पीडित पहिचान गरी राहत वितरण गर्न, कालोबजारी गर्नेलाई कारवाही गर्नेलगायतका माग गरेको छ ।

डिएलएले आज वक्तव्यमार्फत सीमित साधन र स्रोतका बाबजुद उच्च मनोबलका साथ खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतप्रति सम्मान व्यक्त गर्दै उनीहरुको व्यक्तिगत सुरक्षा, बीमा, सेवासुविधामा वृद्धि गर्न माग गरेको छ । साथै सिमानामा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश प्रवेश गराई स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ । त्यसैगरी कोरोनाको रोकथाममा खटिएका सुरक्षाकर्मीलाई अनावश्यक बल प्रयोग गरेरभन्दा पनि सालिन व्यवहार गर्न र व्यावसायिक कर्तव्य भुलेका निजी अस्पताललाई कारवाही गर्न डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

डिएलएले कैदी तथा बन्दीलाई सामाजिक दूरी कायम राख्ने व्यवस्था गर्न, शर्तसहित वा शर्तरहित रिहाइ, सजाय स्थगनलगायतका व्यवस्थापन गर्न, कोरोना सङ्क्रमणको शङ्का लागेकालाई घरमै पुगी परीक्षण गर्ने व्यवस्था मिलाउन, आइसोलेसन र क्वारेन्टाइनमा आधारभूत मापदण्ड पूरा गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

यसैगरी सर्वोच्च अदालतबाट यही चैत २४ र २५ गते पछिल्लो परिस्थितिका बारेमा भएका फैसला तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ । विभिन्न धार्मिक, रीतिरिवाज तथा परम्पराका नाममा जात्रा तथा पर्वमा भिडभाड गरी लकडाउन तोड्ने सम्भावनालाई ख्याल राखी कडा निगरानी गर्न र जाँचको दायरा बढाउनेतर्फ डिएलएले सरकारको ध्यानाकर्षण गराएको छ ।