देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौधरी फाउन्डेसनले सरकारलाई १ हजार ‘पीसीआर रिएजेन्ट’ दियो

देशान्तर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको कल्याणकारी संस्था चौधरी फाउन्डेसनले आज निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १,००० थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो ।

फाउन्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सराहनीय भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिए । आवश्यकता परेका बेला आगामी दिनमा पनि यस्तै सहयोगका लागि खुला हृदयले तयार रहनसमेत उनले आग्रह गरे ।

फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोभिड-१९ नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताएका छन् । कोरोनाभाइरस रोग (कोभिड-१९)को महामारीसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप यो सहयोग हस्तान्तरण गरिएको उनको भनाइ छ।

“स्वास्थ्यमा सीमित साधनस्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपदबाट छुटकारा पाउन सकिँदैन,” उनले भने, “त्यसैले सरकारसँग सहकार्य गरी मुलुकभर यस्ता सामग्री उपलब्ध गराउने काममा हामी निरन्तर लागिरहेका छौं ।” उनले यी ‘पीसीआर रिएजेन्ट’ उपकरणबाट द्रुत गतिमा कोरोना परीक्षण हुने विश्वास व्यक्त गरेका छन् ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट परीक्षण तथा सुरक्षा सामग्री माग उच्च देखिए पनि आफूहरूको पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा भएको चौधरीले बताएका छन् । यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।