देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैन : प्रधानमन्त्री मोदी

देशान्तर

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् ।

भारतमा लकडाउनको घोषणा भएको आज नवौं दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले सो भनाई राखेका हुन् । उनले भने, ‘कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारतभित्र पनि कोही नागरिक एक्लो छैन ।’

उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको बताएका छन् । सबै नागरिकले घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सम्बोधनका क्रममा राखे ।

भिडियो सन्देशमार्फत भारतीय नागरिकलाई गरेको सम्बोधनका क्रममा उनले भने, ‘हामी सबै जना घरमै छौँ तर यो कोरोना भाइरसका बिरुद्ध हामी कसरी लड्न सक्छौँ होला भन्ने तपाईहरुलाई लाग्न सक्छ तर यो लडाईमा कोही एक्लो छैन, सबै भारतीय नागरिक एक आपसमा साथ रहेका छन् ।’

उनले विश्वको यति ठूलो जनसंख्या भएको देश भारतीयहरु सबैजना घरमा कसरी रहन सकेका छौँ भन्दै यसले विश्वमा धेरै ठूलो उदाहरण पनि प्रस्तुत गरेको बताए ।

यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म सबै जना घरमै बस्नु पर्ने बताए । प्रधानमन्त्री मोदीले अहिले हामी अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै अँध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने आश्वासन दिए ।

काम गरी खाने मजदुर वर्गलाई यो अवस्थाले अप्ठेरो बनाएको भए पनि उनीहरुलाई केही सहयोगको कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा हामी सबै उज्यालोतर्फ प्रवेश गर्ने दिन पनि छिट्टै नै आउने उनले बताए ।