देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्ततः भ्रमण वर्ष २०२० स्थगित, सचिवालय विघटन हुने

देशान्तर

काठमाडौं । अन्ततः सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने भएको छ । सचिवालयको नेतृत्व व्यवसायी सुरज वैद्यले गरिरहेका छन् ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बन्यो ।

कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको थियो । तर, कोरोना थामिनुको साटो अझ परिस्थिति जटिल बन्दै गएपछि भ्रमण वर्ष स्थगित गरिएको हो । सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो ।

७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, भ्रमण वर्षको चौथो महिना मै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।