काठमाडौं । विश्वभर महाकारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिब ३४ हजार पुगेको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म करिब ३४ हजारको मृत्यु भइसकेको छ भने ७ लाख २१ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ५१ हजार रहेको छ ।
स्पेनमा आइतबार मात्रै ८ सय ३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा थप ६ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ भने अहिलेसम्म करिब १४ हजार संक्रमित निको भएका छन् ।
इटलीमा आइतबार ७ सय ५६ जनाको मृत्यु भएको छ भने ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ । संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ ।
अमेरिकामा एकैदिन १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ । अमेरिकामा आइतबार २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ ।
यस्तै त्यस्तै आइतबार कोरोना संक्रमणबाट फ्रान्समा २९२, इरानमा १२३, जर्मनीमा १०८, बेलायतमा २०९, बेल्जियममा ७८ र स्विजरल्यान्डमा ३६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया