देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनले डायलासिस र किमो लिनुपर्ने बिरामी मर्कामा

देशान्तर

५८ वर्षिय श्याम लामा (नाम परिवर्तन) मिर्गौलापीडित हुन् । पेप्सिकोला बस्ने उनलाई हप्तामा ३ पटक नियमित डायलासिस गराउनुपर्ने हुन्छ । उनी डायलासिसका लागि निदान अस्पतालमा रहेको आरोग्य फाउन्डेशनको मिर्गौला डायलासिस सेन्टर जाने गर्छन् । तर लकडाउनले उनलाई समस्या थपिदिएको छ ।

जन्मजात नै किड्नी समस्या रहेका उनले यसअघि मेडिसिटीमा डायलासिस गराउँदै आएका थिए। मंसिरबाट उनी त्यहाँ जान थालेका हुन्। लकडाउनले गर्दा उनलाई आवतजावतमा समस्या त भएको छ नै हप्तामा ३ पटक डायलासिस गराउँदै आएका अहिले सेन्टरले २ पटकमा घटाएको छ। त्यसमाथि ४ घण्टा गर्नुपर्ने डायलासिस २ घण्टामा झारिएको छ।

बुधबार डायलासिस गराउने क्रममा कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अस्ति ट्याक्सीमा आएको आज एम्बुलेन्समा आएँ। अब त हप्ताको २ पटक मात्र गर्ने र? बाँच्न पनि गाह्रो हुने। सरकारले केही गर्नुपर्ने हो।’

श्यामजस्ता सयौँ मिर्गौलाका बिरामीहरु अहिले निकै समस्यामा रहेका छन्। नेपाल मिर्गौलापिडित संघका अनुसार देशभर अहिलेसम्म ५ हजार ३०० जना मिर्गौलाका बिरामी रहेका छन् भने १८०० जनाको प्रत्यारोपण भएको छ।

मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीका अनुसार देशभर ५७ वटा डायलासिस सेन्टर रहेका छन्। उनलाई अहिले धेरै साथीहरुले कसैले डायलासिस पाउँदै नपाएको, पाएपनि समय हेरफेर गरिएको र आवतजावतमा समस्या थपिएको दुःखेसो पोख्ने गर्छन्।

बलराम भन्छन्– ‘कतिपय डायलासिस सेन्टरले त सेवा नै रोकिसकेका रहेछन्, कसैले हप्ताको २ चोटी मात्र बनाएका छन्, कसैले समय नै घटाएका छन्। बिरामीलाई आउन पनि अप्ठेरो भइरहेको छ।’

‘हप्तामा १२ घण्टा डायलासिस गर्नुपर्ने मान्छेलाई ६ घण्टाले मात्र पुग्छ? आधा पेट खानाले पुग्छ?’ बलराम आक्रोशित सुनिए। कोरोना भाइरसको जोखिम त्यसमाथि लकडाउनको समस्याले झन् समस्या थपिदिएको छ मिर्गौला पीडितहरुलाई।

राष्ट्रिय मिर्गौला सेन्टरमा दैनिक १०० जनाको मिर्गौला डायलासिस हुन्छ। देशका विभिन्न ठाउँमा रहेको यसको शाखाबाट २५० जनाले डायलासिसको सुविधा लिने गरेका छन्। तर अहिलेको यो अवस्थामा अस्पतालका कर्मचारी, स्रोत साधनको व्यवस्थापनले पनि सेन्टरलाई असर गरिरहेको व्यवस्थापक बिमल बराल बताउँछन्।

‘टाढाटाढाबाट आउने बिरामीहरुलाई आवतजावतको निकै समस्या भइरहेको छ,’ बिमल भन्छन्, ‘हामीले पहिलेभन्दा सिफ्ट घटाउन बाध्य पनि भएका छौँ। ४ घण्टामा गर्नुपर्ने डायलासिस ३ देखि २ घण्टामा झारेका छौँ। उनीहरुलाई केही फरक त पर्ला तर, अलिअलि भएपनि राहत हुन्छ भन्ने हो।’

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ढोका निरै सूचना टाँसिएको छ– ‘कोभिड–१९ को संक्रमण फैलिने जोखिम र सरकारले लकडाउनको आदेश गरेकाले ३ चोटी डायलासिस गर्ने बिरामीहरुलाई २ पटक डायलासिस दिइनेछ।’ कान्तिपुर दैनिकमा खबर छ ।