काठमाडौँ । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । विगत २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै विश्वभरि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको मृत्यु भएको ।
चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोपले चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म चार लाख ६८ हजार ९ सय ५ जनामा सङ्क्रमण देखिएकोमा एक लाख १४ हजार २ सय १८ जना मानिस निको भएर घर फर्किएका छन् ।
सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् । यस्तै चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ ।
इटालीपछि अमेरिकामा सङ्क्रमितको संख्या धेरै छ । अमेरिकामा ६५ हजार ६ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९ सय ३१ जनाको मृत्यु भएको छ भने तीन सय ९४ जना मात्रै निको भएका छन् । सङ्क्रमितको तुलनामा निको हुनेको सङ्ख्या अमेरिकामा अरु देशमा भन्दा कम छ । अमेरिकामा ६४ हजार तीन सय २७ जनाको उपचार भइरहेको छ । चीन, इटाली र अमेरिकामा भन्दा स्पेनमा सङ्क्रमितको संख्या कम छ । तर त्यहाँ मृत्यु हुनेसँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ ।
स्पेनमा मात्रै ४९ हजार पाँच सय १५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ५६ जनाको मृत्यु भएको छ भने पाँच हजार तीन सय ६७ जना निको भएका छन् । ४० हजार पाँच सय एक जना उपचाररत छन् । स्पेनपछि जर्मनीमा ३७ हजार तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई सय ६ जनाको मृत्यु भएको छ ।
तीन हजार पाँच सय ४७ जना निको भएका छन् । अहिले ३३ हजार पाँच सय ७० जना उपचार गराइरहेका छन् । यस्तै इरानमा २७ हजार १७ जनामा सङ्क्रमण भएकोमा दुई हजार ७७ जनाको मृत्यु भएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन् । १५ हजार तीन सय १५ जनाको उपचार चलिरहेको छ ।
यसैगरी फ्रान्समा २५ हजार दुई सय ३३ जनामा सङ्क्रमण भएकोमा एक हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । तीन हजार ९ सय जना निको भएका छन् भने २० हजार दुई जनाको उपचार भइरहेको छ । अहिले विश्वका एक सय ९७ देश र जापानको योकोहामा बन्ददरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९ सय तीन जनाको उपचार भइरहेको छ । एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन् ।
प्रतिक्रिया