देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनका कारण घट्न थाल्यो आयात

देशान्तर

नेपाल र भारत दुवैतर्फ लकडाउन र कोभिड–१९ संक्रमणको त्रासले एजेन्ट, कामदार तथा सरकारी कर्मचारी काममा जान छाडेपछि उपभोग्य वस्तुको आयात घट्न थालेको छ । नाकामा संक्रमण फैलन नदिन उच्च सुरक्षा सतर्कता नअपनाउँदा र अन्तरसम्बन्धित निकायबीच समन्वय हुन नसक्दा आपूर्ति प्रणालीमा समस्या देखिएको हो ।

भारतबाट दिनमा हजारदेखि १२ सयसम्म ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेकामा दुई दिनयता प्रतिदिन २ सय ५० ट्रक र कन्टेनर आइरहेका छन्।

नेपालबाट भारततर्फ निर्यात ठप्प छ। विकल्पका रूपमा चीनतर्फका नाका कुनै पनि सञ्चालनमा छैनन्। नेपालले यसै साताबाट अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिसकेकाले हवाई माध्यम हुँदै आउने सामान पनि रोकिएका छन्।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतबाट हुने आयातमा दुई दिनदेखि समस्या देखिएको बताए। ‘भन्सार एजेन्ट तथा व्यापारी नै सामान अर्डर गर्न र नाकामा आइसकेका सामान छुटाउन आउन छाडेका छन्,’ उनले भने, ‘मंगलबार र बुधबार दुवै दिनको आयात खासै उत्साहजनक भएन।’

आपूर्ति प्रणालीका विषयमा भारतीय दूतावास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको उनले जनाए। ‘मालवाहक सवारी साधनलाई कतै रोकेका छैनौं भनेर भारतीय दूतावासले भनिरहेको छ,’ उनले भने, ‘उनीहरूले भन्सार कार्यालय खुलै राखिएको जनाएका छन्। हाम्रा भन्सार कार्यालय पनि खुलै राखेका छौं। व्यापारीले हवाई तथा स्थल यातायात बन्द भएकाले आउजाउ गर्न समस्या परेको बताउने गरेका छन्।’

तेस्रो मुलुकबाट ल्याइने सामग्रीसमेत भारत हुँदै आउने भएकाले दुई दिनयता देखिएको समस्याले उपभोग्य सामग्रीको अभाव हुन सक्छ। यसबारे सरकारले गम्भीर भएर नसोचेको आयातनिर्यात क्षेत्रका व्यापारीहरूले बताए। संक्रमण रोक्ने सुरक्षाका विषयमा नाकामा उच्च सावधानी नअपनाइएको र अत्यावश्यक क्षेत्रको आउजाउमा सरकारको कमजोर व्यवस्थापन रहेको नेपाल फ्रेर्ट फरवार्डर्स एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले बताए। ‘भन्सार खुले बैंक खुल्दैन, एजेन्ट गए भन्सार खुल्दैन, बैंक खुले बाहिरबाट कागजात पठाउन सकिँदैन,’ उनले भने, ‘भन्सारबाट सामान छुटाउन कम्तीमा ४र५ वटा निकायबीच समन्वय हुनुपर्छ। तर त्यसो हुन सकेको छैन।’

नाकामा संक्रमण नफैलिन उच्च सतर्कता नअपनाइएको र हिँडडुल गर्नेहरूलाई नबुझी अभद्र व्यवहार गर्ने गरिएको हुनाले आपूर्ति प्रणालीमा समस्या देखिएको उनको भनाइ छ। ‘आपूर्ति प्रणालीमा एउटा लिंक टुट्यो भने पूरै प्रभावित हुन्छ,’ उनले भने, ‘कहिले कता, कहिले कताको लिंक टुटिरहेको छ।’

आपूर्ति प्रणाली जारी राख्न भन्सार नाकामा उच्च सतर्कता र अन्तरसम्बन्धित सरकारी निकायहरूबीच समन्वय जरुरी देखिएको छ। ‘जस्तो औषधि पसल खोल्ने भनियो तर त्यहाँसम्म कसरी जानेरु प्रहरीले यो मान्छे औषधि नै किन्न हिँडेको भनेर छुट्याउन सकिरहेको छैन,’ शर्माले भने, ‘आपूर्ति प्रणालीमा संलग्न व्यक्ति तथा सवारीसाधनलाई पनि प्रहरीले त्यसैगरी व्यवहार गर्छ। डराएर कामदार, ड्राइभर, कर्मचारी र व्यापारी नै हिँड्न मानेका छैनन्।’ गृह मन्त्रालयले नाकामा प्रहरीलाई सही तरिकाले ब्रिफिङ गर्नुपर्ने र संक्रमण नफैलिने गरी उच्च सतर्कता अपनाउनुपर्ने उनले सुझाव दिए।

विभागका महानिर्देशक दाहालले पनि सरोकारवाला निकायले अत्यावश्यक सामग्रीका विषयमा अधिक जानकारी गराउन आवश्यक रहेको बताए। ‘सामान बोकेर हिँड्ने गाडीवाला, भन्सार एजेन्ट र बैंकका कर्मचारीलाई आउजाउमा रोकिएको छैन, तिमीहरू भन्सारसम्म जान सक्छौ, ट्रक कन्टेनर आवतजावतमा समस्या हुनेछैन भनेर बुझाउन बाँकी देखियो,’ उनले भने, ‘सम्बन्धित सरोकारवाला सबैले यो कुरा बुझ्नुपर्छ र बुझाउनुपर्छ।’
सरकारले भारत र चीनतर्फका सबै नाकाबाट मंगलबारदेखि मानिसको आउजाउ बन्द गरे पनि अत्यावश्यक सामग्रीको बिक्री, ओसारपसार र भारततर्फको आयातनिर्यात नरोकिने सरकारले जनाएको थियो। तर भारतमा पनि तीन साताका लागि लकडाउन भएकाले आपूर्तिमा त्यसको प्रभाव पर्ने देखिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भने खाद्यवस्तुको ढुवानीमा कुनै समस्या नहुने बताए। उनका अनुसार ३५ ट्रक लोड भइसकेका छन्। थप ८ वटा बाटोमा आउने क्रम छन्। कोलकाता बन्दरगाहबाट पनि खाद्यवस्तुलाई नै प्राथमिकता दिइएको उनले बताए। ‘ट्रान्जिटमा कुनै समस्या छैन। आन्तरिक मुभमेन्ट के गर्ने भन्ने मात्रै छ,’ द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखसमेत रहेका उनले भने, ‘ड्राइभरहरूलाई ट्रकसम्म पुर्‍याउनुपर्‍यो। मुख्य ड्राइभरको कुरा हो। त्यसलाई छलफल भइरहेको छ।’

रसुवागढी र तातोपानी नाका खुल्ने
सरकारले दुई महिनादेखि बन्द रहेका चीनतर्फका दुई नाका मालसामान आयातनिर्यातका लागि तत्काल खोल्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको हो। ‘स्वास्थ्य परीक्षण सुविधा मिलाएर केही दिनमै चीनतर्फका नाका खोल्छौं,’ सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले भने।

उच्चस्तरीय समितिको निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयातनिर्यात गर्ने भनिएको छ। यससम्बन्धी समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्नेछन्। ‘चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेकाले’ भन्दै तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको थियो। सामान आयातनिर्यातबाहेकका क्रियाकलापका लागि चीन र भारततर्फको नाका बन्द गर्ने निर्णय गत सोमबार मन्त्रिपरिषदले गरिसकेको छ। दुवै देशबाट सामान ल्याउन पाइने भएकाले चीनतर्फको बन्द नाका खोल्न गत साताबाट गृहकार्य भएको थियो।

नेपालले गत सातासम्म आउजाउमा चारैतिरबाट कडाइ गर्दै लगेकाले तत्काल चिनियाँ नाका खोल्न चाहेको थिएन। भारतबाट सामान्य अवस्थामा भन्दा आयातमा समस्या देखिएपछि नेपालका सरकारी अधिकारीहरू चिनियाँ नाका खोल्न सहमत भएका हुन्। गत सोमबार अर्थमन्त्री खतिवडाले आपूर्ति प्रणाली सहज गराउन चीनतर्फका नाका खोल्ने विषयमा छलफल गरिरहेको बताएका थिए।

नया वर्षका अवसर पारेर चिनियाँ पक्षले माघ १५ देखि केही दिनका लागि यी नाका बन्द गरेको थियो । लगत्तै कोभिड–१९ फैलिएपछि नाका बन्दलाई चिनियाँ पक्षले नै निरन्तरता दिने निर्णय गरेको थियो । नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट भित्रिने गरेका थिए। यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियो । नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ ।