देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूचना प्रविधिको क्षेत्रमा नेपाली तरुणको नयाँ प्रक्षेपण !

देशान्तर

दुई महिनादेखि विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसको आतंक रोक्न असमर्थ मात्र होइन, त्यसको रोकथामको उपायसमेत पत्ता लगाउन नसकेर निरुपाय बन्नपुगेको विश्वमा भविष्यवाणीका कुरा सुन्ने र गुन्ने फुर्सद कसैलाई नहुनु अस्वभाविक होइन । हामी बाँचेको युगको अभूतपूर्व तथा प्रलयकारी महामारीबाट निजात पाउने उपाय, विज्ञानले भोलि अवश्य खोज्ला, त्यो अर्कै कुरा हो तर आजको मितिसम्म विज्ञान पनि कोरोनाभाइरससमक्ष निरीह बन्नपुगेको तथ्य वर्तमानको सबैभन्दा ठूलो यथार्थ हो । विज्ञान र प्रविधिका क्षेत्रमा संसारले आजसम्म जुन उपलब्धी हासिल गरेको छ, त्यसले मानिसलाई झण्डै भगवानको श्रेणीमा उचालिसकेको थियो भन्ने दावी अतिशयोक्तिको पराकाष्टा त अवश्य हो तर असत्य भने होइन । रामायणजस्तो अमरग्रन्थका कल्पनाशील रचयिताले लंकाका राजा रावणउपर रामले विजय हासिल गरेपछि त्यहाँबाट अयोध्या फर्कदा रावणको पुष्पक विमान प्रयोग गरेको कथा, भगवानभक्तहरुका निम्ति आस्था र विश्वासको विषय भए पनि खोज र अनुसन्धानकर्ताहरुका लागि त्यो कथा, सत्य मान्ने कुनै आधार थिएन, एक कविको काल्पनिक उडानको उदाहरण मात्र थियो । त्यसैले भौतिकवादी लेखकहरुले अनेक शताब्दीसम्म त्यसलाई असंभव कल्पना मानेर हाँसोमा उडाएका थिए । अमेरिकाका राइट बन्धुहरुले जबसम्म हवाइजहाज तयार पारेर उडाएनन्, तबसम्म त्यो कल्पना एक दिन सत्य बनेर प्रकट होला भन्ने कसैले सोचेका थिएनन् । आधुनिक विश्वमा हवाइजहाजविनाको संसारको कल्पना हुन सक्तैन । विज्ञानको विकासले पुराना मान्यताको कायाकल्प गरिदिएको त्योभन्दा राम्रो उदाहरण अर्को हुन सक्तैन ।

विश्वमा भइरहेको जलवायु परिवर्तन, प्रकृतिको अचाक्लि दोहन र विकासका नाममा रासायनिक मल तथा किटनाशक औषधीको अत्याधिक प्रयोगले उत्पन्न गरेको प्राकृतिक असन्तुलनको परिणाम हो, विभिन्न प्रकारका नयाँ नयाँ भाइरसको अप्रत्याशित आक्रमण र त्यसले छाड्ने गरेको विनाशको डोब । हिजो प्रकृतिलाई संतुलित राख्ने किराफट्याङ्ग्राहरु आजका किटनाशक औषधीले सखाप पारिदिनु भनेको नयाँ भाइरसलाई आमन्त्रित गर्नु हो । अहिले महामारी मच्चाइरहेको कोरोनाभाइरस त्यही शृखलाको ताजा उदाहरण हो । त्यसका विरद्धको खोप र उपचारविधिको खोज र अनुसन्धान तीव्र गतिमा भइरहेको छ ।

चीन, अमेरिका, जापान, भारका अतिरिक्त दक्षिण कोरियाका चिकित्सक तथा औषधी उत्पादक कम्पनीहरु पनि त्यसमा लगानी गर्ने दौडमा सामेल भइसकेका छन् । केही सातामा नभए पनि केही महिनामा त्यसको सकारात्मक परिणाम निक्लने र त्यो महामारीको आतंकबाट राहत मिल्ने अब शंका नगरे हुन्छ ।

एकातिर कोरोनाको नकारात्मक सन्देश विश्वव्यापी बनेर फैलिएको छ भने अर्कोतिर सूचना र प्रविधिको क्षेत्रमा निकट भविष्यमै हुने क्रान्तिकारी परिवर्तनमा नेपालका तन्नेरीहरुले योगदान गर्न लागेको सुखद् समाचार पनि सम्प्रेषित भएको छ । राजनीतिका अन्त्यहीन खिचातानी, मन्त्रीहरुका खोक्रा विकासे आश्वासन र प्रशासकका सुशासनका फोश्रा नारा सुन्दासुन्दा वाक्क भएका नेपालीका लागि नयाँ पुस्ताका तरुणले दस वर्षभित्र स्वास्थ्यका क्षेत्रमा ठूला परिवर्तन ल्याउने भविष्यवाणी गरेको घटना सुख्खायाममा परेको पानी हुन पुगेको छ । त्यस्तो भविष्यवाणी गर्नेमा सम्राट पनेरु अग्र पंक्तिमा छन् ।

उनले दि राइजिङ नेपालको चैत १८ गतेको अंकमा दस वर्षपछिको नेपालको परिकल्पना शीर्षकमा प्रकाशित लेखमा जस्ता विचार प्रक्षेपण गरेका छन्, त्यसले नेपालको भविष्यप्रति आश्वस्त हुनसक्ने भरपर्दो आधार प्रस्तुत भएको छ । बीएस्सी आइटीमा अध्ययन गरिरहेका पनेरुले सूचना प्रविधिले निकट भविष्यमा ल्याउने परिवर्तनले मानिसको आजको जीवनशैलीलाई अझ उन्नत र सुखद् तुल्याउने भविष्यवाणी गरेका छन् । नेपालीको वर्तमान, सुखको खोज गर्दागर्दै दुःखमै बितेको छ । भविष्य सुखद् बन्छ है भन्ने आश्वासन पनि उनीहरुका लागि ठूलो राहत हुने गर्दछ । त्यसैले पगेनीको भविष्यवाणी, उनीहरुका लागि भरोशालायक भविष्यको द्योतक बन्नपुगेको छ ।
भारतलाई कम्प्युटर युगमा प्रवेश गराउने श्रेय तत्कालीन प्रधानमन्त्री राजीव गान्धलाई दिने गरिन्छ ।

तर उनको त्यस्तो महत्वाकांक्षी योजना कार्यान्वयन गराउनेचाहिँ साम पेत्रोदा थिए, जसलाई राजीव गान्धीले अमेरिकाबाट झिकाएर आफ्ना मिडिया सल्लाहकार नियुक्त गरेका थिए । उनले अमेरिकाको आर्थिक विकासमा सूचनासम्वन्धी प्रविधिको योगदानमाथि सघन अध्ययन मात्र गरेका थिएनन्, त्यसलाई व्यवसायका रुपमा विकास गरेर युरोपलगायत विकासशील देशमा निर्यात पनि गर्ने गरेका थिए । त्यो क्षेत्रमा उनले गरेको प्रगतिको प्रशंसा अमेरिकन व्यवसायीहरुले मुक्तकण्ठले गर्ने गरेको यथार्थ, व्यवसायिक पाइलटको भूमिका निर्वाह गरिसकेका राजीव गान्धीलाई अवगत नहुने प्रश्नै थिएन ।

त्यही कारण जब इन्दिरा गान्धीको हत्या भयो र उनी भारतका प्रधानमन्त्री नियुक्त भए, तब उनले भारतको गरीवी र पछौटेपन हटाउने पहिलो कदमका रुपमा भारतलाई कम्प्युटर टेक्नोलजीमा रुपान्तरित गर्ने नीति तथा कार्यक्रम लागू गर्ने निर्णय गरे । त्यही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उनले साम पेत्रोदालाई सूचना र प्रविधि सल्लाहकार नियुक्त गरेर त्यससम्वन्धी सम्पूर्ण जिम्मेदारी उनलाई सुम्पेका थिए । उनैको प्रयासले भारतजस्तो विशाल देश, कम्प्युटर नेटवर्कमा जोडिन सफल भएको थियो । सन् १९८९ को निर्वाचनमा राजीव गान्धीको पराजयपछि पुनः अमेरिका फर्केका पेत्रोदा विज्ञान, सूचना प्रविधि र आर्थिक विकासका बारेमा विचारोत्तेजक भविष्यवाणीका लागि पनि चिनिन्छन् । उनले सन् २०१८ मा भारतको प्रख्यात टेलिभिजन च्यानेल आजतकसंग कुरा गर्दै भविष्यवाणी गरेका थिए :
(१) अबको २० देखि ३० वर्षभित्र चिकित्साको क्षेत्रमा यत्ति ठूलो क्रान्ति हुने छ कि मानिसहरुको आयु बढेर १५० देखि २०० वर्षसम्म बाँच्ने हुनेछन् । त्यत्ति बाँच्नेहरुको मानसिक स्थितिको कस्तो होला त्यो अहिले भन्न सकिन्न तर जुन अंगमा रोग लाग्यो, त्यो अंग परिवर्तन गर्न संभव हुने भएकाले आयु त्यो हदसम्म बढ्ने भएको हो, उनले ठोकेर भनेका थिए ।

(२) अबको २० वर्षपछि संसारबाट कागजको नोट गायव हुनेछ, हजार, पाँचसय, एकसय, दस, पाँच र एक रुपियाँका नोट हेर्न म्युजियममा जानुपर्नेछ । नोटबाट हुने सम्पूर्ण लेनदेनका कारोवार इलेक्ट्रोनिक डिभाइस (मोवाइल ) सेटबाट हुनेछ ।
(३) अबको २० देखि ३० वर्षभित्र चुनावमा मतदान गर्न कसैले मतदान केन्द्र पुगिरहनुपर्ने छैन । त्यसैले त्यसपछि कम मतदान भएको गुनासो पनि सुन्नुपर्ने छैन, किनभने घरैमा बसिबसि मतदान गर्न सकिनेछ । नो भोटका पक्षमा पनि मतदान गर्न सकिने भएपछि शतप्रतिशत मत खस्ने ग्यारेन्टी हुनेछ ।

कुनै बेला माइकेल फराडेले बिजुली, ग्राहम बेलले टेलिफोन र म्याडम क्युरीले रेडियमका बारेमा पहिले भविष्यवाणी र त्यसपछि खोज तथा अनुसन्धान नगरेका भए आजको विश्वले ती सेवा र तिनमा आधारित अन्यान्य सेवाको उपभोग गर्न पाउने थिएनन् । अर्को शब्दमा भन्नुपर्दा आजको विश्व, उन्नति र प्रगतिको जुन शिखरमा पुगेको छ, त्यहाँ पुग्नसक्ने थिएन । त्यसैले नेपालका सम्राट पनेरुको भविष्यवाणी पनि, उनको निजी अतिउत्साहको प्रस्तुति मात्र होइन, आधुनिक सूचना प्रविधि तथा विज्ञानको अध्ययन, खोज र अनुसन्धानमा आधारित आत्मविश्वासको अभिव्यक्ति पनि हो । त्यसैले उनको विश्लेषण र त्यसको निष्कर्षले भोलिको नेपालका अतिरिक्त सम्पूर्ण विश्वकै मानव जातिको उन्नति र प्रगतिमा योगदान गर्ने आशा मात्र होइन, विश्वास पनि पाल्न सकिन्छ ।