देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति हावी छ– डा. प्रकाशशरण महत (भिडियोसहित)

देशान्तर

नेपाली कांग्रेस पछिल्लो समय केमा व्यस्त छ ?

नेपाली कांग्रेसले अर्को वर्ष फागुनमा तोकेको १४औं महाधिवेशन केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ । अहिले क्रियाशील सदस्यता वितरणको काम अघि बढी सकेको छ । साथीहरूले जिल्लाजिल्लामा क्रियाशील सदस्यता लिएर गइसक्नु भएको छ । खासमा भन्दा अहिले नेपाली कांग्रेसलाई अधिवेशन लागिसकेको छ ।

अधिवेशन त लाग्यो, तर कसरी लाग्या ? अहिले त कांग्रेस कताकता हराएको जस्तो छ नि ?

नेपाली कांग्रेस हराएको छैन । कांग्रेस पार्टीको गहिरो जग छ । लामो इतिहास छ । देशभरि फैलिएका यसका संरचना छन् । पुस्तौं पुस्तादेखि पार्टीसँग जोडिएको परिवारहरू छन् । अहिले पनि लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने अन्य पार्टीहरू छैनन् । कम्युनिस्ट पार्टीले जनतालाई भ्रम छरेर सरकार त सञ्चालन गरेको छ । तर यसबाट जनतालाई विश्वासमा लिन सकेको छैन । उनीहरूले सरकारको नेतृत्व गर्दा आफूहरू पनि लोकतन्त्रवादी भयौं, जनताका इच्छाअनुसार काम गर्छौं भनेर मत मागेका हुन् । उनीहरू सरकारमा गएपछि पुरानै कम्युनिस्ट चरित्र देखाउन खोज्दा जनता नै अहिले आजित भइसकेका छन् । अहिले कम्युनिस्टले सत्तामा पुग्नेबित्तिकै सम्पूर्ण राज्य सत्तालाई पार्टी केन्द्रित गर्ने काम गर्न सुरु गरेका छन् । संवैधानिक निकायहरूलाई छायामा राख्ने काम गर्न सुरु भएको छ । प्रहरी प्रशासनलाई पनि पार्टीप्रति बफादार बनाउने काम गरिएको छ । जसले गर्दा जनताले उनीहरूका प्रचार प्रोपोगाण्डाहरूमा विश्वास गर्न छोडेका छन् ।

सरकारले काम गर्न नसकेको भनेर तपाईं भनिराख्नु भएको छ, त्यसलाई ‘क्यास’ गर्न कांग्रेस किन चुकेको ?

अहिले जे जस्तो किसिमबाट सरकार चले पनि अझैं यो सरकारसँग बहुमत छ । सरकारप्रति नै लोयल सांसदहरू छन् । त्यो रहुन्जेल सरकार त रहने नै भयो । अहिले हामी विपक्षीको हैसियतले गर्ने भनेको सरकारको गलत क्रियाकलापको विरोध गरेर अघि बढ्ने हो । अहिलेको सरकार भ्रष्टाचारमा लिप्त छ, काण्डहरू खुलेयाम बाहिर आइरहेका छन् । अझ बाहिर नआएका कति छन् । अहिलेसम्मको नेपालको राजनीतिक इतिहासमा यति निर्लज्ज किसिमबाट सरकारमा बस्नेहरू कहिल्यै पनि प्रस्तुत भएका थिएनन् । त्यसकारण अहिले जनताको बीचमा यी कुराहरू पुगेका छन् ।

जनताको बीचमा कांग्रेसले नै पुर्‍याएको हो त ?

कांग्रेसले नै पुर्‍याएको हो । कांग्रेसले संसद्मा बोलेको छ । कांग्रेसकै शुभेच्छुकको रूपमा रहेका प्रेसका साथीहरूले यसलाई बाहिर ल्याउनु भएको छ । अरूले पनि यो सामग्री पुग्दा बाहिर ल्याउने हो र भन्दै डराएका बेला कांग्रेस समर्थक प्रेसका साथीले हिम्मत गरेर ल्याउनु भयो । कांग्रेसको संसद्मा जे जति भए पनि उपस्थिति छ, ती साथीहरूले यी कुराहरूलाई बहसमा ल्याइरहनु भएको छ । अहिले विपक्षीको हैसियतले गर्ने भनेकै त्यही हो । जनताको अगाडि गरेको गलत क्रियाकलापलाई हामीले बाहिर ल्याउने, बहस गर्ने र यस्तो प्रवृत्ति भएको पार्टीलाई मानिराख्ने हो र भनेर प्रश्न उठाउने काम गर्ने हो ।

तर, नेतृत्वले काण्डैकाण्डमा सरकार फस्दा पनि क्यास गर्न नसकेको भनेर सांसदहरू नै आरोप लगाउनु हुन्छ ?

यस्तो होइन । अझ तीव्रताका साथ नेतृत्वले यसमा जोड बल गरेको छ । यसको धेरैभन्दा धेरै विरोध होस्, देशभर जुलुस निस्कियोस् भन्ने माग स्वाभाविक थियो । पार्टीको केन्द्रीय समितिले शृंखलाबद्ध सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने योजना पनि बनाएका थियौं । तर पछिल्लो दिनहरूमा यो कोरोना भाइरसको कारण मनोवैज्ञानिक असर पनि परेकाले अहिले सार्वजनिक गतिविधि नगर्ने भनेको हुनाले रोकिएको मात्र हो । यो प्रकरण त हामीले पछि पनि उठाउँछौं । सरकारका गलत क्रियाकलाप भ्रष्टाचारजन्य गतिविधिहरूको सशक्त विरोध गरेर अघि बढ्छौं । सरकारले संविधानको मूल मान्यतालाई कुल्चिने काम गरेको छ, त्यसको खबरदारी हामी गर्छौं । हामी अहिले अधिवेशनको दौरानमा रहे पनि सरकारले गरेका गलत क्रियाकलापको खिलापमा हामी सँगसँगै लिएर जान्छौं ।

कांग्रेसले बुझेका जनविरोधी कार्य भनेका के के हुन् ?

जस्तो, बजेट जान्छ, सरकारले आफूलाई मतदान गर्ने र नगर्ने गरी बजेटमै विभेद गरेको छ । सरकार पक्षलाई मतदान गरेको छैन भने सामान्य मतदातालाई पनि उहाँहरूले भेदभाव गर्नुहुन्छ । मतदाताअनुसार सेवासुविधा पाउने र नपाउने बार लगाउनु भएको छ । त्यस्तै अहिले प्रहरी प्रशासनको रवैया, स्थानीय तहमा निर्वाचित भएको सरकार, प्रदेश तहमा निर्वाचित भएको सरकार र केन्द्रमा निर्वाचित भएको सरकारको रवैया र उसले दिने सेवा सुविधामा समेत कसले मत दियो दिएन भन्ने आधारमा समेत व्यापक भेदभाव गर्नु भएको छ ।

साथै राजनीतिक विरोधीहरूलाई संगठित रूपमा प्रहरी प्रशासनबाट दुःख दिने काम गर्नुभएको छ । साथै सरकारी संरचनाहरूले सेवासुविधामा पनि भेदभाव गरेको हामीले पाएका छौं । यो संविधान विरोधी तथा जनविरोधी काम हो । साथै जनताले न्याय पाउने कुरामा पनि कुन पक्षीय हो भन्ने खोजी गर्न थालिएको छ । साथै अहिले बजेट परिचालन गर्नका लागि उपभोक्ता समिति बनाउँदा आफ्ना आफ्ना मान्छे राखेर काम गर्नुभएको छ । त्यो उपभोक्ता समितिले बजेटको ठूलो हिस्सा बाँडीचुँडी गर्छ भने थोरै हिस्सा मात्रै खर्च गर्छ । साथै सेवाग्राही पनि उहाँहरूको समर्थक मात्रै हुन्छ । सरकारमा निर्वाचित भएर आइसकेपछि कसले मलाई मतदान ग¥यो या गरेन भन्ने कुराहरू हेर्ने काम भएको छ । यसरी भेदभाव कांग्रेसको नेतृत्वमा सरकार हुँदा कहिल्यै गरेन । हामीले त झन् मतदान नगरेकालाई अझै हामीप्रति मतदान गराउने बनाउनका लागि धेरै काम गर्नुपर्छ उनीहरूलाई अझैं स्विधा दिनुपर्छ भनेर काम गरेका हुन्थ्यौं । अहिले कम्युनिस्ट नेतृत्वको सरकारको के छ भने सहयोग नगरकाले अब दुःख पायौं भनेर धम्क्याउने काम भइरहेको छ ।

लोकतान्त्रिक राज्यमा यसरी चल्दैन । सरकारले धेरै उडान भर्ने कुराहरू त गर्नुहुन्छ । अहिले सपना त धेरै देखाएका छन्, सपना देखाउनेले काम गर्दैनन् । नेपालमा धेरै कुराहरू बिक्री भए । जनताले विज्ञापनलाई विश्वास गरे । अहिलेको युग विज्ञापनको पनि हो । जुन कुरा भनेको भन्यै गरियो भने जनताले पनि हो रहेछ भनेर विश्वास गरेर मत दिए ।

कांग्रेसले विज्ञापन गर्न किन नसकेको त ?

हामीले कहिल्यै पनि विज्ञापनमा विश्वास गरेनौं । हाम्रो दृष्टिकोण भनेकै काम गर्ने हो । काम गरेपछि जनताले आफैं बुझ्छन् । हामीले कम्युनिस्टबाट सिक्नुपर्ने कुरा भनेको विज्ञापन पनि गर्नुपर्छ है भन्ने हो । मार्केटिङ भनेर नभएको कुराहरू पनि बढाइचढाइ गर्ने कुरा पनि छैन । त्यसले भ्रम पनि सिर्जना गर्छ । तर हामीले गरेको कुराहरू त जनतलाई राम्रोसँग भन्नुपर्ने अवस्था छ । हामीले धेरै अप्ठ्यारोको बाबजुत द्वन्द्वबाट कांग्रेसले नै मुलुकलाई मुक्ति दिलायो । संविधान पनि हाम्रै नेतृत्वमा ल्यायौं । संविधान कार्यान्वयनको पाटो पनि कांग्रेसले नै ग¥यो । यति जम्मै कामको नेतृत्व कांग्रेसले नै गर्दा पनि हामीले त्यसको मार्केटिङ गर्न सकेनौं । कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति छ । त्यो के भने आफ्नो मात्रै कुरा गर्ने । पार्टीको कुरा, विचारको कुरा नगरेर म ठूलो भन्ने प्रवृत्ति छ । अरूलाई दोष मात्रै दिने प्रवृत्ति देखिएको छ । त्यसले गर्दा हामीले गरेका कामको जनताले यथार्थ मूल्यांकन गर्न पाएनन् । कम्युनिस्टहरूले आफूले नगरेका कामहरूको पनि हतार हतारमा जस लिनका लागि होडबाजी गरिरहेका छन् । त्यसमा जनता पनि भ्रममा परेर उनीहरूलाई यो काम त कम्युनिस्टले नै गरेको हो भन्ने लाग्यो । कांग्रेस बुझाउन आइरहेको छैन । कम्युनिस्टले नियोजित प्रोपोगाण्डा गरेर सेतोलाई कालो र कालोलाई सेतो बनाउन सफल भएका छन् ।

वर्तमान सरकारको दुईवर्षे कार्यकाल कसरी मूल्यांकन गर्नुहुन्छ ?

बल्ल जनताले दुई वर्षसम्म सरकारले गरेका कामको मूल्यांकन गर्न पाएका छन् । विगतमा ६ देखि ९ महिनाकै बीचमा सरकार परिवर्तन हुँदा सरकारमा रहेकाले चाहेर पनि काम गर्न सकेनौं भनेर जनतालाई भन्न पाएका थिए । तर अहिले दुई वर्ष कम्युनिस्टको सरकार चलिसकेपछि जनता पनि आजित भएका छन् । जनताले अहिले कम्युनिस्टलाई काम होइन कि कुरा मात्रै गर्ने सरकारको रूपमा बुझेका छन् । बरु कांग्रेसले नै काम गरेको रहेछ भन्ने बुझेका छन् । कांग्रेसको पनि कमी कमजोरी रह्यो होला तर गफ त बेचेन भन्नेमा जनता पुगेका छन् ।

सरकारको विरोध गर्ने तर नियुक्तिहरूमा किन कांग्रेसले भागबन्डा खोज्ने ?

संवैधानिक निकायमा निष्पक्ष मान्छेहरू आउन, स्वतन्त्र मान्छेहरू आउन, हाम्रा प्रस्तावहरू पनि सुनुवाइ हुनुपर्छ भन्ने कुरा अनौठो होइन । संवैधानिक परिषद्मा विपक्षी दलको नेता बस्ने, प्रधानन्यायाधीश बस्ने, सभामुख बस्ने व्यवस्था किन गरिएको हो भने संवैधानिक निकाय सरकारले बनाउने होइन भनेर हो । त्यहाँ एकलौटी सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर नियुक्त गर्ने थलो होइन । लोकसेवा, अख्तियार, निर्वाचन आयोगले स्वतन्त्ररूपले कार्य सम्पादन गर्न पाउनु पर्छ । सरकारले पनि कानुन मिच्यो भने अदालतले त्यसलाई निषेध गर्छ । निर्वाचन आयोगले सत्ताको आदेशअनुसार काम गर्न थाल्यो भने निर्वाचन निष्पक्ष हुँदैन । लोकसेवा आयोगको पनि अवस्था उस्तै हो । अख्तियार तथा अदालतल पनि सरकारको अनुसार चल्यो भने त नेपाल उत्तर कोरिया जस्तै भइहाल्यो नि । त्यसैले यस्ता निकायको नियुक्तिमा विपक्षीको पनि सहमति चाहिएको हो । यसलाई भागबन्डा भन्न मिल्दैन ।

नेपाली कांग्रेसको महाधिवेशन हुन्छ ?

महाधिवेशन तोकिएकै मितिमा हुन्छ । महाधिवेशनको प्रक्रिया नै सुरु भइसक्यो । सक्रिय सदस्य यसका मतदाता हुन् । समायोजनको काम समयमा नसकिएकाले केही ढिला भएको थियो अब प्रक्रिया अघि बढिसक्यो । क्रियाशील सदस्यता लिएर साथीहरू गइसक्नु भएको छ । चैत मसान्तभित्र सक्रिय सदस्यता नवीकरण र वितरणको म्याद राखिएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ । कात्तिकमा स्थानीय तहको अधिवेशन हुन्छ । स्थानीय तहको अधिवेशन भइसके पछि माथि हुनलाई अप्ठ्यारो पर्दैन ।

यो नेतृत्वले चार वर्षमा गरेको काम के त ?

शेरबहादुर देउवा पार्टीको नेतृत्वमा आउनुभयो, उहाँले सबैभन्दा सम्झनलायक काम भनेको निर्वाचन गराउनु भयो । त्यो निर्वाचन हुँदै हुँदैन भन्ने स्थितिमा थियो । ओलीजीहरूले संविधान नै कार्यान्वयन हुँदैन ६०१ को निर्वाचन गरौं भन्दै हुनुहुन्थ्यो । मधेस केन्द्रित दलहरूले तराईमा निर्वाचनमा भाग लिँदैनौं भन्दै आएका थिए । त्यस्तो स्थितिमा कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गराएरै छाड्यो । शेरबहादुरजी कम बोल्ने नेता हो, तर खुरुखुरु काम भयो । सबैलाई सहभागी गराएर तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो ।

मैले पार्टी सभापतिको कुरा गरेको ?

पार्टी सभापति पनि के का लागि त । नेतृत्व गर्नका लागि होइन र । पार्टी बन्ने, नेतृत्व गर्ने भनेको सत्तामा जानका लागि हो नी । सत्तामा गएर पर्फमेन्स गर्नका लागि हो नि । निर्वाचन गराएको विषयमा कांग्रेसले जस पाउनुपर्ने हो । यद्यपि कम्युनिस्ट दलहरू मिले, मधेसकेन्द्रित दलहरू पनि मिले । हामीले गरेका कामहरू जनतालाई बुझाउन सकेनौं । त्यसले गर्दा हामी पराजित भयौं, त्यो कुरा बेग्लै ठाउँमा छ । साथै हामी पराजित हुनुमा व्यक्तिवादी कारण पनि हो । अरू मिलेको अवस्थामा हामीलाई सत्तामा पुग्ने अवस्था त थिएन । तर हाम्रो सिट संख्या उल्लेख्य मात्रामा बढ्थ्यो । आफू भए ठिक आफू नभए बेठिक भन्ने अवस्था कांग्रेसमा छ । अब हामीले त्यस्तो प्रवृत्ति त्याग्नुपर्छ । अब विचार केन्द्रित पार्टी बनाउने बेला आएको छ । पार्टी बलियो भयो भने हामी सबै बलियो भइहाल्छौैं नि । पार्टी कमजोर हुँदा म मात्रै बलियो हुन्छु भनेर डम्फू बजाउँदा अहिले बिग्रिएको हो ।

अहिलेको नेतृत्वले विधान त कार्यान्वयन गर्न सकेन नि ?

पहिलो कुरा संघीय संरचनामा देश गयो । त्योअनुसार विधान बनाउनुपर्ने थियो । विधान परिमार्जन गर्नका लागि प्रक्रिया अघि बढाउनु पर्‍यो । महासमितिबाट बल्लबल्ल प्रक्रिया अघि बढ्यो । खासगरी राष्ट्रिय चुनाव हारिसकेपछि पार्टीभित्र आफूलाई स्थापित गर्न चाहने नेताहरूले अब यही मौका हो, पार्टी सभापतिलाई आक्रमण गर्ने भन्नेमा ध्यान गयो । त्यसकारण आरोप प्रत्यारोपको शृंखलाहरू बढे । कुनै पनि इस्युलाई त्यतातर्फ मोड्ने प्रयास हुँदा कतिपय कुराहरू समयमा सम्पन्न हुन सकेन । विभागहरू सभापति आफैंलाई बनाउने अधिकार छ । तै पनि उहाँले राष्ट्रिय निर्वाचन हारिरहेको अवस्थामा सबैलाई मिलाएर अघि बढ्ने प्रयास गर्नुभयो । तर अर्को पक्षले सहयोग नगर्ने, अनि शेरबहादुर काम गर्न सकेन भनेर प्रचारबाजी गर्नुभयो । सभापति सहमति खोज्दै बस्ने, अर्को पक्ष सहमतिमा नआउने अनि गर्न सकेन भनेर देउवाजीलाई दोष लगाइयो । नेतृत्वले निर्णय गर्ने हो । नेतृत्व अनिर्णयको बन्दी बन्नु हुँदैन भनेर मैले सभापति देउवालाई भनेको हो । उदार हुनुपर्छ, सबैलाई समेट्न कोसिस गर्नुपर्छ तर अनिर्णयको बन्दी बन्नु हुँदैन । उहाँले सबैलाई समेट्न खोज्दा समयमा निर्णय भएन ।

महाधिवेशनको मिति घोषणा भइसकेपछि किन त विभाग गठन ?

विधान बनाउँदा नै अलिकति अन्य विषयमा बहस केन्द्रित भयो । तलबाट निर्वाचित हुने कि नहुने जस्ता सानासाना कुराहरूमा बहस भए पनि मूलभूत विषयमा छलफल नै भएन । विभागको कुराहरू हेर्दा धेरै विषयवस्तुहरू छुटेको महसुस भयो । पहिला ४२ वटासम्म विभाग बनेका थिए । त्यसमा केही थपौं भनेर सहमतिमै ४७ बनाइएको हो । विभाग गठन गर्दा शेरबहादुृरजीले आफ्नै मात्र बनाउने होइन । उहाँले प्रतिशतमा तपाईंहरूलाई पनि राख्छु भन्नु भएको छ । त्यसले उहाँलाई मात्रै फाइदा हुने अरू नेतृत्वमा आउनेलाई घाटा हुने भन्ने थिएन । तै पनि यो विषयलाई इस्यु बनाए फाइदा हुन्छ की भन्ने अर्को पक्षलाई लिएर अहिले यो विवाद देखिएको हो ।

अधिवेशनको मिति तोकी सकेपछि किन गरियो ?

एक वर्ष त म्याद थप गर्न पाउने सभापतिको अधिकार हो । एक वर्ष सुरु हुने बित्तिकै आचारसंहिता लाग्यो भन्ने हुँदैन । बाँकी केन्द्रीय सदस्य थप गरिएको विषय अरू पार्टीबाट आउनेलाई स्थान दिइएको हो । यो त पहिला पनि भएकै कुरा हो । विभागहरू बन्दै नबन्नु भन्दा त बन्नु राम्रो हो नि । काम गर्नु राम्रो होइन र ?

विभाग गठन त भोट बैंक सुरक्षित गर्नका लागि हो भन्ने आरोप छ नि ?

उहाँहरूलाई पनि त ४०–४५ प्रतिशत को—कोलाई राख्ने नाम दिनुस्, संयोजक तोक्नुस् भनेर त हामीले पनि भनेकै हो नि । उहाँहरूलाई यो बनाउँदा भोट सुरक्षित गर्‍यो देउवा पक्षले भन्ने लाग्छ भने त उहाँहरूले पनि आफ्नो भोट सुरक्षित गरे भयो त । यो खास केही होइन । अहिले इस्यु बनाउँदा अधिवेशनका बेला फाइदा हुन्छ कि भन्ने मात्र उहाँहरूलाई लागेको हो । तर यसले उहाँहरूलाई फाइदा हुनेवाला छैन ।

भ्रातृ संस्थाहरू पनि त लथालिंग भए नि ?

भ्रातृ संस्थाहरूको विषयमा सुरुको दिनमा लामो समयदेखि अधिवेशन नभएकाहरूलाई अधिवेशन गराउने भनेर मेरै नेतृत्वमा काम अगाडि बढेको हो । नेविसंघको अधिवेशन नै हुन सक्दैन भन्ने थियो । पहिला प्रकाशमानजीले कोसिस गर्नुभयो, सक्नु भएन । तर हामीले गरायौं । एउटा रफ्तार पनि लियो । आम निर्वाचनपछि पार्टी पराजय भएपछि बहस अन्यत्रै मोडियो । त्यसकारण पछिल्लो अवस्थामा ढिलासुस्ती भएको हो । फेरि त्यसलाई ट्र्याकमा ल्याउने कोसिस भइरहेको छ । नेविसंघको अधिवेशन भएकै हो । महिला संघको अवधि अझैं वाँकी छ । तरुण दलले पूर्णता पाएको छैन । अरू तीन, चारवटा संगठनको अधिवेशन त भएकै हो । बाँकी रहेका केही संगठनहरूको अधिवेशनको प्रक्रिया अघि बढ्छ । यद्यपि यो कुरा शेरबहादुरको पालामा मात्रै भयो भन्ने होइन । यसअघि पनि वर्षौं वर्षसम्म पनि नभएर चलेका थिए ।

अबको कांग्रेस नेतृत्व कस्तो आउँछ र तपाईंको आकांक्षा के मा हो ?

मलाई अहिलेदेखि नै डम्फु बजाउँदै हिँड्नुभन्दा पनि जो नेतृत्वमा आउन चाहने साथीहरू हुनुहुन्छ उहाँहरूसँग बसेर छलफल गरेर मात्रै निर्णय गर्ने हो । कार्यकर्ताले नचिनेको नेता कोही पनि छैन । जब समय आउँछ अर्थात् महाधिवेशनको तीन महिना अगाडि आकांक्षाहरू बताउँ, म अहिलेको भन्दा ज्यादा राम्रो गर्न सक्छु भनेर सबैले कुराहरू राखौं । अहिले नै म भनेर भन्दा फाइदा हुँदैन ।

अहिले सहमहामन्त्री हुनुहुन्छ, यसभन्दा माथि नै जाने होला ?

अवश्य पनि । अहिलेको भन्दा माथि पुग्ने लक्ष्य लिएको छु । तर यसबारेमा बोल्ने अहिले बेला भएको छैन । समय आयो भने मेरो कुरा राख्छु ।

कांग्रेस अहिले भागबन्डामा चलेको छ, यसलाई अन्त्य गर्ने उपाय के त ?

कांग्रेस भागबन्डामा चल्दा यसको आन्तरिक जीवनमा पनि राम्रो गरेको छैन । भागबन्डा गर्नु हुँदैन भनेर भन्नुहुन्छ, फेरि यति प्रतिशत नपाए हामीले मान्दैनौं भन्नुहून्छ । यो प्रवृत्ति पहिला सबैले त्याग गर्नुपर्छ । सम्पूर्ण पदहरू निर्वाचित हुने विधान बनाइएको छ । यसले गुटहरू झनै मौलाउने अवस्था छ । अहिले पदाधिकारी पिच्छे गुट, पदाधिकारीमा पराजित हुनेहरूको गुट, त्यसले गर्दा निर्णय प्रक्रियाहरूमा ढिलाइ भइरहेको छ । अहिलेको विधान परीक्षण चरणमा छ । अहिलेको अवस्थामा सबैलाई मनाउँदा मनाउँदा सभापतिले काम गर्न नसक्ने अवस्था देखिएको छ । अहिले त कार्यान्वयन चरणमा रहेको विधानले भोलि कस्तो प्रभाव पार्छ त्यसको आधारमा समीक्षा गरेर बढ्न जरुरी छ । भनेको विधान नै परिमार्जन गर्नुपर्ने अवस्था आउन सक्छ ।

प्रस्तुति : मुक्तिबाबु रेग्मी