युवाहरू ‘दास’ बनेको देश

पुरञ्जन आचार्य


पछिल्लो समयमा जनताको ठूलो अपेक्षा र भरोसामाथि सत्तापक्ष र प्रतिपक्ष दुवैले तुषारापात गरेका छन् । सत्तापक्षले बितेको दुई वर्षमा जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको र विपक्षले ठीक ढंगले सत्तापक्षको निरंकुशताको खबरदारी गर्न सकेको छैन । नयाँ संविधान जारी भएपछि कम्युनिस्ट नेतृत्वको सरकारले पाएको दुई तिहाइको बहुमत थियो, यसले जनताको विश्वास र भरोसामाथि खेलवाड गरेको छ । सत्तापक्षलाई ठीक ठाउँमा राख्नका लागि प्रतिपक्षीका हिसाबले कांग्रेसले सडक र सदनमा जुन भूमिका खेल्नुपर्ने थियो, त्यो खेल्न सकेको छैन ।

राजनीतिक दलहरूले किन जनताको अपेक्षाअनुसार काम गर्न सकेनन् भन्ने विषयमा अध्ययन, अनुसन्धान गर्नुपर्छ । तर मुख्य कारण भनेको राजनीतिक पार्टीहरू सत्तामा नपुग्दासम्म संघर्ष गर्ने र सत्तामा गइसकेपछि विगतमा आफूले गरेका वाचाहरू बिर्सने परम्परा नै बनेको छ । सत्तामा गइसकेपछि जनतालाई भन्दा पनि आफ्ना बफादार कार्यकर्तालाई मात्रै स्थान दिने परम्परा बसेको छ । जुन एकदमै गलत कुरा हो ।

अहिलेको नेपाली राजनीति जनतासँग जोडिएकै छैन । किन यस्तो भयो भन्ने कुरामा कसैले उदारवादलाई कसैले विश्वव्यापीकरणलाई दोष दिन्छन् भने कसैले उपभोक्तावादी सोचलाई दोष दिने गरेका छन् । तर एउटा कुरा के पक्का हो भने अहिलेको राजनीतिमा समग्र देश आम जनतालाई भन्दा पनि आफ्नै आन्तरिक किचलो पनि कारण हुन सक्छ । नेपाली राजनीतिक दलहरूमा गुट मौलाउँदो छ ।

पराजित भएकाहरूका पनि महत्वाकांक्षा बढी छन् । चुनाव हारेकाहरू अहिले बहुमतको आफ्नै पार्टीको सरकार हुँदा पनि त्यत्तिले पुगेन । यो या त्यो बहानामा संविधान संशोधन गरेर सरकारमा जाने चलखेल गरेर नेकपाका नेता बसेका छन् । अहिले नेपाली राजनीतिक प्रदीप गिरीको शब्दमा भन्ने हो भने मुलुक ‘बृद्धतन्त्र’ मा प्रवेश गरेको छ । अहिले नेपाल बृद्धतन्त्रबाट एकदमै आक्रान्त छ । ७०–८० वर्ष पुगेकाहरू सत्तामा पुग्नका लागि आफ्ना भक्तहरूलाई आर्थिक सुरक्षा दिनका लागि लागि परेका छन् । वास्तवमा भन्ने हो भने अहिले देशमा युवा विद्रोहको खाँचो छ ।

नेपाली राजनीतिक समाजमा बूढो नहुँदासम्म नेतृत्वमा स्थापित हुन सकिँदैन । यो जान्ने र बुझ्ने हुँदैन भनेर बताउने गरिन्छ । अहिलेको संविधानअनुसार नै बनेको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैलाई हेर्नुस् त्यहाँका शीर्ष नेताहरू ७० वर्ष आसपासका नै छन् । अधिकांश वृद्ध छन्, बिरामी छन् । त्यसैले नेपाली राजनीतिलाई वृद्धतन्त्रले ढकमक्क ढाकेको छ । आफ्नो शरीरलाई ठीक ढंगले राख्न नसक्नेहरू अहिले देश बनाउँछु भन्दै हिँडेका छन् । त्यसको समस्या देशले भोगेको छ । बिरामी हुन त पाइन्छ । उमेरले हुने बिरामी भनेको रोगले भन्दा पनि ठूलो हो । त्यसले गर्दा युवाहरू ‘दास’ बनेको देश हो ।

अहिलेको नेतृत्वमा रहेका कसैको पनि क्षमता छैन । मुलुक बनाउनका लागि ‘कम्प्रिहेन्सिभ नलेज’ चाहिन्छ । प्रविधिका ज्ञानहरूसँग अपडेट हुनुपर्ने हुन्छ । तर हाम्रो नेतृत्व भनेको कम्प्युटर पनि चलाउन नजान्ने छ । अहिलेको नेतृत्वसँग प्रविधिको ज्ञान पनि छैन, नैतिक पक्ष पनि छैन । अहिलेको नेतृत्वले इतिहासमा त्याग गरेका छन्, जेलनेल भोगेका छन् त्यो एक ठाउँमा सम्मान गर्ने कुरा भयो तर अहिलेको रहेको नेतृत्वबाट देश विकास भनेको सम्भव नै छैन । अहिलेको अवस्थामा रहेको नेतृत्व नै अपडेट हुने बेला भएको छ । जबसम्म यो नेतृत्व अपडेट हुँदैन तबसम्म राज्य राम्रोसँग चल्न सक्दैन । अहिलेको नेतृत्वलाई उमेरले साथ दिएको छैन, स्वास्थ्यले साथ दिएको छैन । तै पनि सत्ता कब्जा छ । देशमा युवा ऊर्जा नै जोडिएको छैन । युवाहरू साह्रा बिदेसिएका छन् ।

अहिले नेपाली राजनीतिमा प्रतिपक्षी नै छैन । प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई वर्षदेखि शून्य छ । त्रिभुवन विश्वविद्यालयको भीसी र रेक्टर चाहियो भनेर हारगुहार गर्ने शक्तिले सत्तापक्षसँग हारगुहार गर्छ भने त्यहाँ कहाँबाट प्रतिपक्ष खोज्ने । सरकारले गरेका गलत क्रियाकलापहरू जनतामाझ लैजानु पर्नेमा बन्द कोठामा गएर मलाई यो ठाउँमा नियुक्ति चाहियो भनेर बार्गेनिङ गर्ने । सरकारसँग बार्गेनिङ गरेर भाग लिन्छ भने कहाँ प्रतिपक्षमा बसेको हो र । त्यो त आफ्नो स्वार्थका लागि यस्तो गरेको हो ।

नेपाली कांग्रेसले दुई वर्षदेखि आफ्नो गौरवमय इतिहास बिर्सिएको छ । पार्टीभिको मूल्य र मान्यतामै सम्झौता गरेको छ । र लेनदेनमा सत्तापक्षसँग बसेको छ । कांग्रेस अहिले गुट बनाएर आफ्नै बन्धुको राजनीतिक हत्या गर्नका लागि सक्रिय छ । कांग्रेस मुलुक र जनताको बीचमा जोडिनका लागि काम गर्न छाडेर अहिलेको केन्द्रीय कांग्रेसको नेतृत्व आफ्ना भक्तगणका लागि मात्रै क्रियाशील छ । अहिलेको नेतृत्व कम्युनिस्ट नेतृत्वको सरकारसँग आफ्नो गुट स्वार्थकेन्द्रित लेनदेनमा लिप्त छ ।

कांग्रेसमा त अहिले बेहाल नै छ । कार्यकाल सकिएका सभापतिले नियुक्ति गरिरहेका छन् । समय गुज्रिएको औषधिको रूपमा सभापति शेरबहादुर देउवा छन् । उनले अहिले गरेको विभाग विस्तार, विभागमा मनोनीत गरिएको के हो भने १४औं महाधिवशेनका लागि शक्ति सञ्चितीकरण हो । अर्को आश्चर्यको कुरा सभापति देउवाले गरेको गलत क्रियाकलापको विरोध गर्ने शक्ति पनि कांग्रेसमा रहेन । अहिले गरेका निर्णयहरूले चुनावलाई प्रभावित पार्छ भनेर संगठित रूपमा प्रतिवाद गर्ने शक्तिको पनि खाँचो कांग्रेसमा छ । अर्को पक्षले पनि अहिले मनोनीत भएर अनेक भूमिकामा पुगेका छन्, त्यसको विरोध गर्दा कतै फेरि चुनावका बेला आफूलाई सहयोग नगर्ने हुन् कि भन्ने डरमा बसेका छन् ।

अहिले कांग्रेसको विचार र संगठन दुवै संकटमा छ । १४औं महाधिवेशनबाट नेपाली कांग्रेसले संगठन पुनर्ताजकी गर्ने अवसर पाएको छ । तर अहिलेको अवस्था हेर्दा त्यो अवसर सुस्तसुस्त कांग्रेसले गुमाउँदै छ ।

कांग्रेसको भविष्य खोज्ने भनेको केन्द्र अर्थात् काठमाडौंमा बस्नेबाट सम्भव छैन । जस्तै केही समय पहिला सभापतिहरूको भेला गरेर केन्द्रलाई चुनौती दिएका थिए, त्यसैगरी केन्द्रले गर्ने गलत निर्णयलाई चुनौती दिन सके भने आउँदा दिनमा कांग्रेसले इतिहास जोगाउन सक्छ । अराजनीतिक गतिविधिलाई वैधता दिनका लागि मात्रै १४औं महाधिवेशन हुने हो भने कांग्रेस मात्रै होइन, अहिलेकै संविधान र लोकतन्त्र नै धरापमा पर्नेछ ।

नेपाली कांग्रेसमा २०४८ सालदेखि सुरु भएको गुटबन्दीका कारण कांग्रेसले आफ्नो अस्तित्व गुमाउने खतरा बढेर गएको छ । तर अहिले गुटबन्दी अन्त्य गरेर अघि बढ्ने ठूलो अबसर थियो । किनभने अहिले मुलुकमा दुई तिहाइको सरकार भएका बेला सत्तामा जाने कुरा पनि भएन । यतिबेला त सबै विवादहरू समाधान गरेर नेपाली कांग्रेस एक ढिक्का भएर हिँड्नु पर्ने थियो ।

तर अहिले वर्तमान सभापतिले सबैलाई मिलाएर अधिवेशन गराउनुको साटो बिनाकारण आफ्नो समय लम्ब्याएर बस्नु भएको छ । अहिले पार्टी विधानमा नभएका विभागहरू निर्माण गरेर अघि बढ्नु भएको छ । नेपाली कांग्रेसको अढाई दशकलाई हेर्ने हो भने पार्टी र मुलुकलाई हेरेर काम गर्ने नेतृत्व भएन ।

नेपालको दुर्भाग्य भनेकै पार्टी सत्ता कब्जा नगरी राज्यसत्ता कब्जा हुँदैन । अहिले पनि पार्टी सत्ता र राज्य सत्ताका बीचमा कम्युनिस्ट पार्टीभित्र द्वन्द्व चलिरहेको छ । नेपालमा यो प्रकरण २००७ सालदेखि नै सुरु भएको हो । यहाँ राज्यसत्ताभन्दा पनि पार्टी सत्ता बलियो भइरहेको छ । त्यसले गर्दा नेपालको राज्यसत्ता सधैं कमजोर छ । यस्तो अवस्थामा जस्ले पनि ढालिदिने गरेको छ । २००७ सालको क्रान्तिपछि त्रिभुवन राजाको ‘कु’ त्यसै कारण पर्नुभयो । २०१५ सालमा कांग्रेसको दुई तिहाइ त्यसैगरी गयो । रोल्पाबाट सुरु भएको एउटा फिलिंगो माओवादीले २०४७ सालको संविधान नै फालिदियो । नेपालको शासन व्यवस्था एकदमै कमजोर छ ।

अहिलेको नेपाली कम्युनिस्ट पार्टी पनि कांग्रेसले विगतमा गरेका जस्तै गल्तीहरू गरेर अघि बढ्दै छ । कांग्रेसबाट सिकेर नयाँ राम्रा कुरा गर्ला भनेको उनीहरू पनि कांग्रेस जस्तै उही ड्यांगका मुला भए । यसबाट ठगिने भनेको जनता हो र गुम्ने भनेको संविधान हो । विगतको इतिहासले पनि यस्तै देखाएको छ । राजनीतिक नेतृत्व बलियो नहुँदा प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गराएर चुनाव गराउनुपर्ने अवस्था आयो । अहिले संविधान जारी भएपछि भएको निर्वाचनले बलियो र स्थिर सरकार दिए पनि अझै नेताहरूले चेतेका छैनन् ।
यो दुई वर्षमा सरकारले नराम्रा काम गरेकै हो । यो बीचमा गोकुल बाँस्कोटा प्रकरण, होली वाइन प्रकरणजस्ता कुराहरू त भए । अझै पनि तीन वर्ष सुध्रिएर काम गर्ने अवसर सरकारलाई छ भने कांग्रेसलाई पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर जनतामाझ जाने अवसर पनि छ ।

सत्तापक्षले दुई वर्षमा गरेको काम भनेको प्रधानमन्त्रीको बिरामीको चर्चा, राष्ट्रपतिको फुर्तिफार्तीको चर्चा मात्रै हो । नेपालका कम्युनिस्टहरू लोकतन्त्रवादी भए भनियो, मदन भण्डारीको बहुदलीय जनवादलगायतका कुराहरूले लोकतन्त्रवादी भनेर जनतामाझ भ्रम छर्नका लागि पर्याप्त बन्यो । तर कम्युनिस्टको सचिवालयले सधैं सरकारलाई नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । मनमोहन अधिकारी पहिलो पटक कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री बन्दा तत्कालीन एमालेले जसरी उहाँमाथि सेन्सर ग¥यो त्यसबाट कम्युनिस्टको चरित्र प्रस्ट हुन्छ । अहिलेको नेकपाभित्रको लडाइँ के हो भने जनताबाट चुनिएको प्रधानमन्त्रीभन्दा पार्टी सचिवालय मजबुत हो भन्ने नै हो ।

नेपालको संविधान र जनताको बहुदलीय जनवादले नेपालका कम्युनिस्टलाई लोकतन्त्रवादी नै मान्छ । त्यही भएर होला कांग्रेसले पनि कम्युनिस्टसँग सहकार्य गरेको हो । त्यसैले कांग्रेसले माले, एमाले र माओवादीसँग सहकार्य गरेको देखिन्छ । जबजब कम्युनिस्ट पार्टी सत्तामा पुग्छ उसको दुर्भाग्य नै के हुन्छ भने प्रधानमन्त्रीलाई भन्दा उनीहरूले सचिवालयलाई दिन्छन् । यहाँ उनीहरूले पुष्पलाल र मदन भण्डारीको भन्दा पहिला माओ र स्टालिनको फोटो टांगिहाल्छन् । यो समस्याले नेपालको कम्युनिस्ट पार्टी ग्रस्त छ ।

(वार्तामा आधारित)


Facebook Comments