देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्यास आयातको परिमाण बढाइयो, एक हप्तामा सहज हुने

देशान्तर

काठामाण्डौ । सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएकाे भन्दै बजार अनुगमन गर्न थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वय‌म उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको बजार अनुगमनमा निस्केका हुन्। फागुन अन्तिम हप्तादेखि नै काठमाण्डौको विभिन्न ठाउँको स्थलगत अनुगमन गर्न थालिएको छ  ।

कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको खबर आएपछि अनुगमनलाई तीव्र बनाइएको मन्त्री भट्टले बताएका छन् । काठमाण्डौमा भने नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको छ । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका कारण ग्यास चाप देखिएकाे हाे ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले ग्यास भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउँ छन् ।

‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।’

ग्यासको आयात बढाएका छौैँ : निगम

नेपाल आयल निगमले बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताउनुभयो ।

उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए ।

नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह 

अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो ।

एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।