देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी राष्ट्रपति पुटिनकाे कार्यकाल १२ बर्ष थप!

देशान्तर

रुसको संसद्ले देशको संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएसँगै राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।

पुटिन सन् २०३६ सम्म राष्ट्रपति बन्ने सम्भावना प्रबल बनेको छ । पुटिन अहिले ६७ वर्षका छन्, उनी ८३ वर्षसम्म राष्ट्रपति बन्न सक्नेछन् ।

सैन्य क्षमतामा विश्वको दोस्रो शक्तिशाली देश रुसको यो संविधान संशोधन प्रस्ताव विश्वको दोस्रो आर्थिक महाशक्ति देश चीनमा सी जिन्पिङ जीवनभरका लागि राष्ट्रपति बन्नका लागि भएको प्रस्ताव जस्तै देखिन्छ ।  रुसमा पुटिनको कार्यकाल लम्बिनु भनेको अमेरिकामाथि दबाब बढ्ने निश्चित छ ।

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको दोस्रो कार्यकाल सन् २०२४ मा पूरा हुँदैछ । रुसको संवैधानिक व्यवस्थाका अनुसार एक व्यक्ति धेरैमा दुई कार्यकालका लागि राष्ट्रपति बन्न सक्छ ।

तर बुधबार रुसको संसद्को तल्लो सदन ड्युमाले एक प्रस्ताव पारित गर्दै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्न पाउने प्रस्तावलाई स्वीकृत गरेको हो । यो प्रस्तावको समर्थनमा ३८३ मत खस्दा विपक्षमा एक मत पनि खसेन । ४३ जना सदस्यले मतदानमा भाग लिएनन् भने २४ सदस्य सदनको कारबाहीमा अनुपस्थित रहे ।

यसको केही घण्टापछि एक सय ७० सदस्य रहेको उच्च सदन फेडरल काउन्सिलले पनि यो प्रस्ताव पारित गर्‍याे । यो प्रस्तावको समर्थनमा एक सय ६० मत खस्दा विपक्षमा एक मत पनि खसेन । तीन जना सदस्यले मतदानमा भाग लिएनन् ।

यो प्रस्तावको अनुसार पुटिनको राष्ट्रपति पदको पछिल्लो सबै कार्यकाललाई शून्य घोषित गरिदिएको छ तर अन्य कुनै व्यक्तिका लागि बढीमा दुई पटकसम्म राष्ट्रपति बन्न पाउने संवैधानिक प्रावधान यथावत नै छ ।

प्रस्ताव पारित भएसँगै ड्युमाका सभामुख याचेस्लाव वोलोदिनले भने, ‘देशको विकास र मजबुतीका लागि पुटिन राष्ट्रपति बन्नु जरुरी छ । यही कारणले राष्ट्रको हितमा ड्युनाले प्रस्तावलाई मञ्जुरी दिएको हो ।’

गएको जनवरी महिनामा पुटिनले संवैधानिक व्यवस्था संशोधनको घोषणा गरेपछि प्रधानमन्त्री दिमित्री मेदवेदेवले राजीनामा दिएका थिए । पुटिनले त्यस समय आफू सन् २०२४ पछि राष्ट्रपति बन्न नचाहेको पनि बताएका थिए ।

तर अब सन् २०२४ पछि पुटिन दुई कार्यकाल (१२ वर्ष) सम्मका लागि राष्ट्रपति बन्ने बाटो खुलेको छ । यद्यपि पुटिन सोभियतकालीन नेतृत्व परम्पराको विरोधी हुन् ।