नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् ।
आफ्नो तीनवर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सेनाको वेबसाइटमा सम्पूर्ण सम्पत्ति विवरण राखेको जानकारी दिएका थिए । ‘नेपाल सरकारको नीतिअनुसार तपाईं–हामीले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ र आवश्यक पर्दा भन्दाबाहेक त्यो गोप्य रहन्छ । बाध्यता छैन, स्व:स्फूर्त रूपमा राख्न चाहनुहुन्छ भने तपाईंहरूले आर्मी वेबसाइटमा आफ्नो सम्पत्ति विवरण राख्न सक्नुहुन्छ । मैले आजैका मितिमा अपलोड गरी मेरो सम्पत्ति विवरण सार्वजनिक गरेको छु,’ उनले भनेका थिए ।
चेन अफ कमान्डमा चल्ने संगठनमा कमान्डरले गरेको घोषणा र कामलाई पछ्याउनु मातहतका अधिकृतहरूको दायित्व हुन्छ तर हालसम्म बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथीद्वय प्रभुराम शर्मा र आनन्द कार्की तथा सहायक रथीद्वय विज्ञानदेव पाण्डे र प्रेम शाहीले मात्रै सैनिक वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । रथी तण्डुल सेनामा तेस्रो वरीयतामा छन् । उपरथी शर्मा युद्धकार्य महानिर्देशनालयका महानिर्देशक हुन् भने अर्का उपरथी कार्की पूर्वी पृतनापति हुन् । यस्तै, सहायक रथी शाही विशेष फौज बाहिनीका हुन् भने पाण्डे जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक हुन् ।
दोस्रो वरीयताका बलाधिकृत रथी शरद गिरीले हालसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । करिब करिब ९६ हजारको दरबन्दी रहेको सेनामा दुई रथी, करिब २० उपरथी र ७० भन्दा बढी सहायक रथी छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया