देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्मान र पुरस्कारको बोझ

देशान्तर

सम्मान वा पुरस्कार आफैँमा सुन्दर शब्द हुन् । यी उत्प्रेरक पनि हुन् व्यक्तिका लागि । सम्मान र पुरस्कारले व्यक्तिको मर्यादा, चर्चा र लोकप्रियता पनि वृद्धि गर्छन् । यसर्थ सम्मान र पुरस्कारप्रति धेरैको चासो र रुचि रहन्छ ।

सम्मान र पुरस्कारलाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ । अधिकांश मानिस सम्मान र पुरस्कारको दौडमा देखिन्छन् । दोसल्ला ओढ्न र सम्मानपत्र थाप्न अनि पुरस्कार लिन मानिस जेसुकै गर्न तयार देखिन्छन् अचेल ।

हुँदाहुँदा आफैँ संस्थापक, आयोजक भएका संस्थाबाट दोसल्ला ओढ्न र पुरस्कार थाप्न पनि आज मानिस हिच्किचाउँदैनन् । यी दृश्य दैनिकजसो देखिँदै आएका हुन् । यस्तो दृश्य देख्दा भने ‘…लाईभन्दा देख्नेलाई लाज’ जस्तो अवस्था हुन्छ तर सम्मान र पुरस्कार ग्रहण गर्नेमा अलिकति पनि लज्जाबोध देखिँदैन ।

मुलुकका मदन पुरस्कारदेखि लगभग सबैजसो पुरस्कार हत्याइसकेका एक जना ‘विशिष्ट’ स्रष्टासँग कुरैकुरामा सोधेको थिएँ– तपाईंले पाउनुपर्ने सम्मान र पुरस्कार त अब बाँकी छैनन् होला है ?

उनले मुसुक्क हाँसेर भने– ‘एउटा बाँकी छ ।’

मलाई थाहा थियो, त्यो पुरस्कार पद्मश्री थियो, जुन उनले पाउन बाँकी एक मात्र पुरस्कार हो ।

उसो त लामो समय सरकारी सेवामा बिताएका उनले निजामतीतर्फका पनि लगभग सबै पुरस्कार हत्याइसकेका छन् ।

अर्का प्रा.डा. छन्, उनी पनि पुरस्कार र सम्मान भनेपछि टोल सुधार समिति, महिला वा बालबालिका मञ्चलगायत सबैजसोका सम्मान र पुरस्कार ग्रहण गर्न हतारिएर पुग्छन् । अनि गर्वका साथ सामाजिक संजालमा फोटो हाल्छन्– फलानो टोल सुधार समितिले गरेको सम्मान वा दिएको पुरस्कार भनेर ।

कतिपय यस्ता ‘प्राज्ञ’ पनि छन् मुलुकमा, जो अमुक विद्यालयका नृत्य प्रतियोगितामा प्रमुख अतिथि भएर राजधानीबाहिर जान्छन् अनि उक्त विद्यालयले गरेको ‘उच्चसम्मान’को फोटो सामाजिक संजालमा हालेर रमाउँछन् ।

अझ साहित्यका क्षेत्रमा रमाइलो के छ भने, हरेक वडावडाजसोमा साहित्यिक संस्था खुलेका छन् । ती संस्थाहरूबीच यति मीठो र घनिष्ठ सम्बन्ध र समन्वय छ कि उनीहरूलाई घुमाई फिराई एकले अर्कालाई सम्मानित र पुरस्कृत गर्न होडबाजी चल्छ ।

यस्ता संस्थाका पदाधिकारी, सदस्य वा अभियन्ताका सम्मानपत्र र पुरस्कारले घर नै भरिएका हुन्छन् । हुन पनि किन नहुन्, जबकि माथि भनिएझैँ टोल सुधार समितिसम्मका सम्मान र पुरस्कार थाप्ने लोभ जो उनीहरूमा छ ।

यहाँ सम्मान र पुरस्कारको पूरापूर विरोध वा आलोचना गरिएको होइन । कतिपय सम्मान र पुरस्कार व्यक्तिको योगदानलाई हेरेर प्रदान गरिँदै आएको पनि छ । तर, धेरैजसो सम्मान र पुरस्कार निकटता, पार्टी पक्षधरता, गुट, भविष्यमा उक्त व्यक्तिबाट लिन सकिने फाइदा, जात, वर्ग, लिङ्ग आदिका आधारमा दिइने गरिएको छ ।

यस्तै, कतिपय सम्मान र पुरस्कार आवेदन गराएर दिइन्छ, जुन अत्यन्त घीनलाग्दो कर्म हो । जब आवेदन गरेर मलाई सम्मानित गर वा पुरस्कृत गर भन्नुपर्ने अवस्था आउँछ भने स्रष्टा, कलाकार वा समाजसेवी त्यतिबेलै मर्छ । उसको इमान, आदर्श, नैतिकता, योगदान सबै धुलिसात् हुन्छ ।

तर, हामीकहाँ आवेदन गरेरै यस्ता सम्मान र पुरस्कार लिइँदै आइएको छ । यसो गर्दा पनि सम्मान र पुरस्कार लिनेमा ग्लानि होइन, गर्व देखिन्छ ।

सम्मान वा पुरस्कार त्यस्ता व्यक्तिलाई दिइन्छ, जसले कुनै पनि क्षेत्रमा विशिष्ट योगदान गरेको होस्, अरूभन्दा भिन्न र उल्लेखनीय कार्य गरेको होस् अनि प्रेरक र इमानको काम गरेको होस् ।

तर, हामीकहाँ त्यसो हुँदैन अर्थात् यसरी सम्मान र पुरस्कार दिइँदैन । यहाँ त कति नजिक छ, कति मीठो बोल्छ, कति चाकडी गर्न सक्छ, कति ‘माल’ ऊबाट झार्न सकिन्छ ? आदि आधारमा सम्मान र पुरस्कार बाँडिन्छ ।

यसर्थ असल स्रष्टा, कलाकार, समाजसेवी आदि सम्मान र पुरस्कारका पछि दौडनु बेकार छ हामीकहाँ । बरु इतिहासले सम्झने काम गरेर देखाउनु, इतिहासमा खोजिने काम गर्नु, समाज। भषा, साहित्य, कलाका लागि विशिष्ट योगदान गरेर युगौँयुग सम्झिइने बन्नुमा ठूलो सम्मान र पुरस्कार मिल्छ ।

अन्त्यमा,
कसैलाई सम्मान गर्दा वा पुरस्कृत गर्दा सम्मान आफैँमा सम्मानित होस्, पुरस्कार आफैँमा पुरस्कृत होस्, तब पो सम्मान र पुरस्कारको माने हुन्छ । यसर्थ सम्मान र पुरस्कार आफैँ लज्जित हुने सम्मान र पुरस्कारको पछि लाग्ने सबैमा घृणाभाव जाग्नु जरुरी छ अब । यसले कला, साहित्य, समाजसेवालगायतका धेरै पाटामा असल भावले काम गर्नेहरूमा खिसिट्युरी मात्र गराएको छ । यस्ता तथाकथित सम्मान र पुरस्कार आखिरमा असल कर्म गर्नेका लागि भने बोझ मात्र हुन् ।