नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पार्टी नेतृत्वले बोलाएका महाधिवेशन तयारीबाहेकका बैठकमा सहभागी नहुने भएको छ । महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा मंगलबार बसेको पौडेल पक्षको बैठकले हालै गरिएको विभाग प्रमुख, केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयनको प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ । सभापति देउवाले महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने काम कार्यकालको अन्त्यमा भटाभट गरेपछि पौडेल पक्ष चिढिएको हो ।
देउवाले शनिबार १३ विभागका प्रमुख र पाँच आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेका थिए । नियमित कार्यकाल सकिएकै दिन सोमबार थप सात विभाग प्रमुख तोके । त्यसको केही घण्टापछि दुई केन्द्रीय र पाँच आमन्त्रित सदस्य थपे भने ज्येष्ठ प्राज्ञ सभामा ३० जनालाई मनोनयन गरे । वरिष्ठ नेता पौडेल पक्षको असहमतिका बीच यी निर्णय गरिएका हुन् ।
पौडेल पक्षले महाधिवेशनको तिथि घोषणा भइसकेपछि विभाग गठनको औचित्य नरहेको जनाउँदै आएको छ । देउवाले विभागमा बस्नेहरूको नाम मागे पनि पौडेल पक्षले नदिएपछि एकपक्षीय रूपमा विभाग गठन गरिएका हुन् । जुन कदमलाई पौडेल पक्षले आचारसंहिता र विधानविपरीत भनेर टिप्पणी गरेको छ ।
महाधिवेशन तयारीबाहेक कार्यक्रममा सहभागी नहुने पौडेल पक्षको निर्णयको असर तत्काल पार्टी उपसभापति एवं पार्टीको नीति प्रशिक्षण तथा प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले बोलाएको देशभरका उपसभापतिहरूको भेलामा पर्ने भएको छ । निधिले प्रतिष्ठानका तर्फबाट देशभर नै प्रशिक्षण चलाउन उपसभापतिहरूको भेला डाकेका हुन् । जिल्लामा पार्टी उपसभापति नै प्रतिष्ठानको स्वतः संयोजक बन्ने प्रावधान छ । प्रतिष्ठानले महाधिवेशनलाई प्रभावित पार्ने गरी देशभर प्रशिक्षण गर्न लागेको ठम्याइ पौडेल पक्षको छ । निधिले भने पार्टी संगठन र सरकारका गलत कामकारबाहीविरुद्ध जागरण ल्याउन देशभर नै प्रशिक्षण गर्न लागेको बताए । उनले वडास्तरमा ५ लाख क्रियाशील सदस्य तयार गर्नकै लागि प्रशिक्षण गर्ने योजना प्रतिष्ठानको भएको बताए । ‘त्यसका लागि ठूलो संख्यामा प्रशिक्षक तयार पार्दै छौं,’ उनले भने, ‘यो प्रशिक्षणलाई कसरी कुन तहसम्म सञ्चालन गर्ने भन्नेबारे छलफल गर्न पार्टीका देशैभरका उपसभापतिलाई बोलाइएको हो ।’
महाराजगन्ज बैठकमा सहभागी केन्द्रीय सदस्य हृदयराम थानीका अनुसार संस्थापनइतरका जिल्ला उपसभापतिहरूलाई छलफलका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुधबार बिहान डाकिएको छ । ‘संस्थापनइतर पक्षका उपसभापतिहरू सहभागी हुने कि नहुने भन्ने निर्णय बुधबार बिहान नै हुन्छ,’ थानीले भने ।
अर्का केन्द्रीय सदस्य जीवन परियारका अनुसार महाराजगन्ज बैठकले पार्टीको केन्द्रीय विभाग, आमन्त्रित सदस्य र ज्येष्ठ प्राज्ञ सभाका सदस्य मनोनयन गर्ने सभापतिको कदमलाई विधान विपरीत र महाधिवेशन प्रभावित पार्ने योजनाका रूपमा लिएको छ । सोमबार भएको २ केन्द्रीय सदस्य र ५ आमन्त्रित सदस्यको मनोनयनसमेत विधानविपरीत भएको उनले बताए । ०७४ को चुनावमा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गरेका ७ नेतालाई देउवाले केन्द्रीय सदस्य र आमन्त्रित सदस्य बनाएका हुन् । ‘अन्यत्र पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई पद दिँदासमेत केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने व्यवस्था विधानमा छ,’ परियारले भने, ‘तर नेतृत्वबाट त्यसको पालना नभई एकलौटी रूपमा मनोनयन गरियो ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया