देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको हाउगुजी कसलाई हो ?

देशान्तर

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलको खुलामञ्चबाट सम्बोधनका क्रममा आफ्नो पार्टीका नेता तथा सांसदलाई वैदेशिक सहयोग (अमेरिकी सहयोग कार्यक्रम (एमसीसीलाई) अनुमोदन नगरेर रोक्न खोज्ने प्रयासमा नलाग्न चेतावनी दिएको र त्यही दिन निर्वाचन आयोगमा आयोजित अर्को समारोहलाई सम्बोधन गर्दै राजतन्त्रले नेपालको राजकाजमा फेरि आफ्नो स्पेस खोज्न गरेका षड्यन्त्रलाई सफल हुन नदिने अठोट कडा शब्दमा व्यक्त गर्नुलाई नेपाली बुद्धिजीवीले गम्भीरतापूर्वक ग्रहण गरेका छन् ।

राष्ट्रिय राजनीतिमा राजतन्त्रको टुंगो लागिसक्यो भने पनि अझै सुल्झिनसकेको समस्या भनेर सरकार प्रमुखबाट बारम्वार दोहोरिनु र अन्तर्राष्ट्रिय सन्दर्भमा एमसीसीको अनुमोदनको प्रश्न, सरकारका निम्ति अग्निपरीक्षा मात्र होइन, जीवनमरणको सबाल बनेर उपस्थित भएको तथ्य प्रधानमन्त्रीको व्यग्रताले लुक्नै नसक्नेगरी छर्लंग पारेको छ । दुई तिहाइको बहुमत भएको संसद्बाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता अनुमोदन भएन भने अन्तर्राष्ट्रिय जगत्मा प्रधानमन्त्री ओलीको साख गिर्ने मात्र होइन, पदबाट राजीनामा दिनुपर्ने अवस्था उत्पन्न हुनेछ । कदाचित त्यसो हुन सकेन भने चाहिँ ओलीलाई असफल सावित गर्न कम्मर कसेर लागेका अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने पक्का भएकाले पनि ओलीले घरभित्रको समस्या खुलामञ्चमा किन पुर्‍याएका रहेछन्, त्यो थप खुलस्त हुन पुगेको छ ।

राजतन्त्रका बारेमा ओलीका यस्तै अभिव्यक्ति त्यसबेला पनि प्रकट भएको थियो, जुन बेला उनले कांग्रेसमाथि राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका थिए । त्यो अवसर थियो, कम्युनिस्ट पार्टीको ७०औं संस्थापन दिवसको र प्रमुख वक्ता थिए, उनै प्रधानमन्त्री खड्गप्रसाद ओली । उनले कांग्रेस राजतन्त्र फर्काउन हिँडेको छ भनेको कुरा सुन्दा उनकै पार्टीका नेता तथा कार्यकर्ताले के भनेको होला भनेर जिब्रो टोकेका थिए । बेमौसमको बाजा बजाएको अर्थ नबुझेर नाक पनि खुम्च्याएका थिए । कांग्रेस चिढिने तर कोही पनि खुसी नहुने त्यस्तो छुच्चो कुरा ओलीले किन बोलेका होलान् ! त्यसबेला धेरैले ओलीको बोली ठाउँमा नपरेको ठम्याएका थिए । कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउन आफ्नै पार्टीले आयोजना गरेको आन्तरिक समारोहमा नेता, कार्यकर्ता तथा वामपन्थी बुद्धिजीवी मात्र थिएनन्, सचेत मजदुरका पुराना अगुवा पनि थिए । पार्टीका समर्थक र सहयोगीको ठूलो संख्यामा उपस्थिति रहेको त्यस्तो कार्यक्रमलाई सम्बोधन गर्दा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेलले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरेका बेलाको विश्व परिस्थिति र अहिलेको परिवेशमा आएको राजनीतिक, आर्थिक, सामाजिक तथा विज्ञान र प्रविधिका क्षेत्रको चमत्कारिक परिवर्तनको सन्दर्भमा कम्युनिस्ट विचार र त्यसको व्यावहारिक प्रयोगमा जुन उतारचढाव आएको छ, त्यसको विवेचना गरेर नेकपालाई संशोधनवादी र गद्दार भन्नेहरूलाई कसरी मुखभरिको जवाफ दिने भन्ने बारेमा उपयोगी तथा सार्थक चिन्तन प्रस्तुत हुने अपेक्षा त्यहाँ उपस्थित सबैको थियो । प्रतिकूल विश्व परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टीलाई आजको स्थान र स्थितिमा ल्याइपु¥याउन आ–आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान गरेका उनीहरू उज्यालो भविष्यप्रति आश्वस्त हुने भाषण सुन्न लालायित थिए । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न अघि बढेको सरकारले हिजो गाँस काटेर पार्टी निर्माणमा सघाउँदा सघाउँदै सर्वहारा बन्न पुगेका कम्युनिस्ट पार्टीका विभिन्न तह र तप्काका कामरेडहरूका गुजाराका लागि के कस्ता कार्यक्रम पार्टीले अघि सार्ने भएको छ, त्यस्ता जीवनोपयोगी योजना र कार्यक्रम सुन्न उत्सुक कामरेडहरूलाई प्रधानमन्त्रीले कांग्रेस राजतन्त्र फर्काउन हिंडेको छ भनेर तर्साउँदा उनीहरू छानाबाट खसेजस्ता हुन पुगेका थिए । आफ्ना सपना भताभुंग हुन लागेको सुनेपछि उनीहरू निराश र हतास बन्न पुगेको तथ्य, सभास्थलबाट बाहिर निक्लँदा रंग उडेको उनीहरूका अनुहारले बताइरहेको थियो ।

त्यस्तो अप्रत्याशित आरोप सुनेर झस्केका उनीहरूमा भयमिश्रित उत्सुकता जाग्नु स्वाभाविक थियो । हिजो तिनै नेताहरू चोटा कोठाका बैठकमा भन्थे, भारतले राजतन्त्र फालिदिएर गणतन्त्र ल्याइदिएकाले हामीलाई हाइसन्चो भयो । हाम्रो संघर्ष पनि सहज र छोटो भयो । प्रजातन्त्र फालेर लोकतन्त्र ल्याउन त १७ हजार मान्छे मार्नु परेको थियो भने राजतन्त्र, नेपाली आफैंले आफ्नो बुताबाट फालेर गणतन्त्र ल्याउनु परेको भए कति धेरैको बलिदान दिनुपर्ने थियो र समय पनि कति लाग्ने थियो, त्यसको हिसाब अहिले लगाउन सकिन्न भन्थे, उनीहरू । तिनै नेताहरू, अहिले फेरि भन्न थालेका छन्– कांग्रेस राजतन्त्र फर्काउन हिँड्यो । सरकार छ, कम्युनिस्टको । गृह मन्त्रालय, प्रहरी, सेना, गुप्तचर, सबै निकाय पनि कम्युनिस्ट अन्तर्गत भएका बेला दुई तिहाइ बहुमत कमाण्ड गर्ने प्रधानमन्त्रीले नै त्यसो भनेपछि नपत्याउने पनि कसरी ? मन भने पत्याउन मानिरहेको थिएन । त्यसैले उनीहरू एकाग्र भएर कांग्रेसले कसरी राजतन्त्र फर्काउन लागेको रहेछ, त्यसको रहस्योद्घाटनको प्रतीक्षा गर्न थालेका थिए । भाषण सकियो । सभा पनि समाप्त भयो । तैपनि कांग्रेसले कुन उपायबाट राजतन्त्र फर्काउन लागेको रहेछ, त्यो रहस्यबाट पर्दा हटेन । उनीहरूले आफ्ना मनभित्रको खुल्दुली मेटाउने सूत्रको छेउ–पुच्छर फेला पार्न सकेनन् । उल्टो, छटपटी र पीडा बोकेर फर्कन बाध्य भए ।

तर त्यो रहस्यको पर्दा खुल्न धेरै समय लागेन । संसद्मा जुन दिन सरकारको नीति तथा कार्यक्रम पेस भयो, त्यस दिन, उनीहरूले थाहा पाए, फर्काउन खोजेको त साँच्चै नै रहेछ । तर कांग्रेसले होइन, कम्युनिस्ट आफैंले रहेछ । प्रधानमन्त्रीको ४४० भोल्टको जोल्ट त कार्यकर्ताको प्रतिक्रिया जान्न गरिएको प्रक्षेपण मात्र रहेछ । भविष्यमा चालिने कतिपय महत्वपूर्ण राजनीतिक कदमको प्रतिक्रिया समाजबाट कस्तो आउँला, त्यसको परीक्षण गर्न विभिन्न उपाय अवलम्बन गर्ने गरिन्छ । उदाहरणका लागि कल्पना गरौं, देशको परिस्थिति शान्त र स्थिर छ, हावासम्म चलेको देखिन्न, त्यस्तो अवस्थामा हावाको वहाव कता छ, ठम्याउन पर्‍यो भने त्यो पत्ता लगाउने उपायलाई अंग्रेजीमा (Straw in the wind) अर्थात् धुस्नोको त्यान्द्रो आकाशतिर उछालेर हेर्ने अभ्यास भनिन्छ । त्यसो गर्दा जता त्यो त्यान्द्रो खस्छ, हावाको वहावको दिशा त्यतै रहेछ भन्ने पत्ता लाग्छ । त्यस्तै कहिलेकाहीँ राजतन्त्रको पोखरीमा बालुवा मात्र भरिएको छ कि साँच्चै गहिराइ पनि छ, त्यसको जाँच गर्न पोखरीमा ढुंगा हान्ने गरिन्छ । “छ्वाप्लाङ” आवाज आयो भने निकै गहिरो भएको र छ्याप्प मात्र आवाज निक्ल्यो भने पानी कम, बालुवाले भरिएको पोखरी मान्ने गरिन्छ । ओलीको परीक्षण पनि त्यस्तै थियो ।

प्रधानमन्त्री ओलीले भविष्यमा चाल्ने कदमका प्रति आफ्नै पार्टीका कार्यकर्ता र जनताको प्रतिक्रिया बुझ्न फालिएको झटारो मात्र थिएन, त्यो कथन । त्यो त कार्यकर्ता र जनतालाई मानसिक रूपले त्यसका निम्ति तयार होऊ है भन्ने सन्देश पनि थियो, जुन त्यसको लगत्तै संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको सम्बोधनमा प्रयुक्त “मेरो सरकारको” सम्बोधनले थप पुष्टि गरेको थियो । राजतन्त्र भएको देशका राजाले जुन सम्बोधन गर्ने हो, त्यसैलाई गणतन्त्रका राष्ट्रपतिले दोहोर्‍याउनु भनेको भोलिको नेपाल कता जाँदैछ, त्यसको दिशाबोध गराउनु थियो । त्यो न सगुफा थियो, न स्लिप अफ टङ थियो । त्यो त कांग्रेसका काँधमा बन्दुक राखेर कम्युनिस्टले साध्न खोजेको निशानाको पूर्वाभ्यास थियो । नेपाल सरकारलाई “मेरो सरकार” भनेर राष्ट्रपतिले शाही सम्वोधनमा प्रयोग गरेको भाषाको अर्थ राजतन्त्र फर्केको संकेत थिएन, त्यसको झस्को दिने झल्को मात्र थियो ।

तर यसपालि प्रधानमन्त्री ओलीले राजतन्त्रका बारेमा केही गम्भीर आरोप पनि लगाएका छन् । राजतन्त्र फर्किने सम्भावना नहुँदो हो भने मरिसकेको घोडालाई किन कोर्रा हान्थे ? नेपालको राजतन्त्रको अन्त्य भएको छैन, त्यो निष्क्रिय अवस्था (हाइवरनेसनमा) गएको मात्र छ, किनभने राजतन्त्रको अन्त्य या त आन्दोलन अथवा क्रान्तिबाट या जनमत संग्रहबाट हुन्छ । नेपालको अहिलेको अवस्था, राजतन्त्रको निष्क्रियता र गणतन्त्रको सक्रियताको प्रयोगको हो । कुनै न कुनै मोडमा पुगेर निर्णायक फन्को मार्नै पर्छ । प्रधानमन्त्री ओलीलाई त्यसको बोध मात्र छैन, विश्वास पनि छ । त्यसैले उनी त्यो सवाललाई बारम्बार स्मरण गराइरहन्छन् । सच्चा माक्र्सवादी भएकाले कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्रको प्रस्तावनामा लेखेका छन्– कम्युनिस्ट भूतले जसरी त्यस बेलाको युरोपलाई सताएको थियो, अहिलेको नेपाललाई राजतन्त्रको भूतले त्यसैगरी सत्ताधारीहरूलाई सताइरहेको छ । त्यो भनेको राजतन्त्रको अनिर्णित अवस्थाको काँचो वायुले लघारेको भयको अभिव्यक्ति मात्र हो कि आफ्ना र अर्का दुवैथरीलाई तर्साउने हाउगुजी हो ?