देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय नेपाली साहित्य सेमिनार

देशान्तर

२०२२ सालमा म पहिलो पटक धनगढी विमानस्थलमा ओर्लेको थिएँ । त्यसबखत धनगढी एक सीमित सहर थियो, ‘अर्बन एरिया’ भनुँ । पछि गएँ, त्यो एक व्यापक सहर बनिसकेको थियो । अहिले त्यहाँ अन्तर्राष्ट्रिय साहित्य–सेमिनार भइरहेको छ, भव्य रूपले । धनगढीको यो ‘छलाङ’ उदाहरणीय छ । रामलाल जोशी त्यसका संयोजक छन् । उनले मलाई राम्ररी आग्रह गरेका थिए । म जान पनि अत्यन्त उत्साहित थिएँ । तर अपरिहार्य कारणले म जान सकिनँ । तै पनि त्यसका खबरहरू लगातार आइरहेका छन्, जसले समारोहको भव्यता स्पष्ट हुन्छ । सुन्दा त अहिले लाग्दछ, देशै साहित्यिक रूपमा त्यही छ । यो साहित्यिक ‘महाकुम्भ’मा केही निम्तो नपाउनेहरूको गुनासो पनि सुनिएको छ । तर वरिष्ठ लेखक (मदन पुरस्कार प्राप्त) रामलाल जोशीले, टिमसहित जुन आयोजना गरे, त्यसका लागि उनलाई बधाई दिनु पर्दछ । मैले फोनमै, उनलाई सफलताको शुभकामना दिएको थिएँ । मेरो शुभकामनाले नभए पनि उनको विशाल आयोजना सफल भएकोले धन्यवाद दिनु पर्दछ ।
…….
आधा शताब्दीभन्दा अगि म ओर्लेको धनगढी अब छैन । जग्गा भने थियो । अहिले के छ भन्न सक्दिनँ । घरहरू पनि पातला थिए । म त्यस बखत विद्यार्थी थिएँ । अर्का थिए स्व. माधवप्रसाद भट्टराई । विनम्र, मिलनसार, कति ठूला मानिसको ‘मिमिक्री’ गर्न सिपालु । मलाई हँसाइरहन्थे । हाम्रा गुरु थिए दुईजना, स्व. बालकृष्ण पोखरेल र शम्भुचन्द्र चौधरी । उनी पनि अब छैनन् । मैले अंग्रेजी बोल्ने लामो अभ्यास पहिलो पटक उनैको साथ गरेको थिएँ । उनी बंगाली थिए, हिन्दी–नेपाली बोल्दैनथिए । रमाइला थिए । एउटा जोक सुनाएका थिए ।

भारतीय बजारमा एउटा अंग्रेज सपिङ गर्न गएछ । ऊ अंग्रेजीमा मोलतोल गर्दागर्दा हैरान भएर पसलेले कुनै माल देखाउँदा, त्यो पर्दैन, भनेर हिँड्न थालेछ । पसलेले त्यो माल झिकेर देखायो पनि । तर अंग्रेजले हेर्नै पनि नमान्ने । पसलेले भनेछ– “सर, टेक टेक न टेक, न टेक, एकबार तो सी ।” हाँस्न त रामै्र हाँसियो । मनमनै ठानें, त्यो पक्कै कलकत्ताको कुनै पसल हुनु पर्दछ, जसको जोक त्यसबखत धनगढीमा सुनाइएको थियो ।
……..
शम्भुचन्द्र चौधरी र बालकृष्ण पोखरेल दुवै हामीलाई भाषा विज्ञान पढाउँथे । बालकृष्ण पोखरेल नेपालका प्रख्यात साहित्यकार पनि थिए । स्वाभिमानी पनि थिए । हामी भाषा–सर्वेक्षणका लागि गएका थियौं । पिथौरागढसम्म पुगेपछि म त्यहाँबाट अघि बढ्न चाहिनँ । सञ्चो भएन र अर्को न्यास्रोपनको अनुभव । बालकृष्ण पोखरेलले दोस्रो कारणलाई नै पहिलो कारणको मूल मानेका थिए । उनले पिथौरागढबाट म फर्किने प्रबन्ध अभिभावक जस्तै सहानुभूतिपूर्वक गरिदिएका थिए । पछि उनले मेरो त्यहाँसम्मको यात्राको भन्दा आदि हिसाब गरेर दिएका थिए । उनीसित अन्तिम भेट विराटनगरमा भएको थियो, जहाँ म ‘देवकुमारी थापा स्मृति सम्मान’ लागि गएको थिएँ । उनी प्रमुख अतिथि थिए । पुरस्कार प्रदान गरेपछि उनले अत्यन्त स्नेहले अंकमाल गरेका थिए । बोल्दाखेरि उनले हाम्रो धनगढी यात्राको उल्लेख गर्न बिर्सेनन् । रमाइलो किसिमले त्यो प्रसंग सुनाए, जसमा उनले, म न्यास्स्रो मानेर फर्केको कुरा बताए । त्यसपछि हाम्रो भोट भएन । मेरा प्रतिभाशाली गुरुलाई म अझै आदरले सम्झन्छु ।
………
अहिले त धनगढी एक विस्तृत नगर बनिसकेको छ । त्यसबखत फाट्टफुट्ट थिए साहित्यिक प्रतिभा भने, अब साहित्यको पनि एक केन्द्र भएको छ । रामलाल जोशीले त्यत्रो साहित्यिक आयोजना गर्न सक्नुको त्यही अर्थ निस्किन्छ । यो साहित्यिक घटनाले सुदूरपश्चिमको महत्व बढाएको छ । म गएको भए, मसँग यो उत्सुकता पनि हुन्थ्यो, स्थापित साहित्यकारबाहेक त्यहाँको नयाँ पुस्ता के लेख्दैछ, कस्तो सोच छ ।

म सोच्दछु, यो घटनाले त्यहाँको नयाँ पुस्तामा पनि उत्साह थपेकै हुनुपर्दछ । जिज्ञासा झन् बढेको हुनु पर्दछ । कति साहित्यिक जिज्ञासा शान्त पनि भएको हुनु पर्दछ । म यो कुन आधारमा भन्दैछु भने, म नयाँ पुस्ताको हुँदा मेरो सीमान्त सहरमा पनि यस्ता घटना हुँदा, उत्सुकता, जिज्ञासा र उत्साह मलाई पनि हुन्थ्यो । मेरो आफ्नो सहर वीरगन्ज पनि त्यसबखत पहिलेको धनगढीसँग मेल खान्थ्यो । त्यसबाहेक धनगढीसँग मेरो एउटा निजी तर साहित्यिक कुरा अविस्मरणीय रूपमा गाँसिएको छ । तर त्यो कहिल्यै, कतै ।