देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्यले नदेखेका सन्दर्भ

देशान्तर

साहित्यले समाज बोल्छ, संस्कृति, सभ्यता र समग्र मानवीय जीवन अनि पर्यावरण बोल्छ । यस कारण साहित्य सर्वोपरि छ । साहित्य समग्र छ । सम्पूर्ण विषय र सन्दर्भ साहित्यमा छ ।

तर, साहित्यले सबै विषय र सन्दर्भलाई उठाउनुपर्ने, देखाउनुपर्ने, उल्लेख गर्नुपर्ने जति नगरेको पो हो कि भन्ने पनि लाग्छ ।

हाम्रो साहित्य केही सामान्य र सतही विषय र सन्दर्भमा केन्द्रित भएको हो कि भन्ने पनि लाग्छ । हामीकहाँ लेखिनुपर्ने विषय र सन्दर्भ अत्यन्त धेरै छन् । ती विषय र सन्दर्भको गहिराइमा हामी पुग्न सकेका छैनौं । यसकारण हाम्रो साहित्यले दिनुपर्ने गहिराइका विषय दिन सकेको छैन ।

यसको एउटा महत्वपूर्ण कारण त हाम्रो समय र स्रोतको सीमितता हो । भन्नुको अर्थ– हामी विषय सन्दर्भ खोज्न र सूक्ष्म अध्ययन अनुसन्धान गर्न आर्थिक हिसाबले सबल छैनौं । अर्कातर्फ हामीसँग हात–मुख जोड्ने बाध्यता टारेर साहित्यकै लागि मात्र समय दिन सक्ने अवस्था पनि छैन । सिर्जना गर्नु सजिलो कर्म होइन, त्यसमा पनि अनुसन्धान र अवलोकनबाट निकालिएका विषय र सन्दर्भको साहित्यीकरण कठिन कार्य नै हो ।

निजी क्षेत्रबाट यस्ता कार्य गराउन मुस्किल नै छ । राज्य पक्षले चाहेमा भने केही हुन सक्ला । तर, राज्यले चाहने कुरामा पनि अनेक जटिलता र सीमितता हुन्छन् । तिनलाई चिरेर काम गर्न ती ती निकायका जिम्मेवार व्यक्तिले आँट गर्नुपर्छ ।

कोही कसैले ऐतिहासिक, धार्मिक, सामाजिक विषयमा खोजमूलक ढंगले सिर्जना गरेका भए पनि त्यसले गहिराइ भेट्टाउन सकिरहेको छैन । केही सामाजिक, लैंगिक, आर्थिक, सांस्कृतिक विषयलाई साहित्यमा प्रस्तुत गर्ने प्रयास भएको भए तापनि विषयको गहिराइ भेट्न सकेका देखिँदैन ।

पछिल्लो समय आख्यान र कवितामा यस्ता केही विषय–सन्दर्भ आइरहेका छन् तर त्यसले मात्र समग्र जीवन, जगत् र समाजको प्रतिबिम्ब दिन सक्दैन ।

यसमा लेखक र प्रकाशक दुवै जिम्मेवार देखिन्छन् । अहिले समय पूरा व्यावसायिक बनेको छ । प्रकाशकले व्यापार अर्थात् नाफा हेर्नु स्वाभाविक हो तर हामीकहाँ त लेखकसमेत व्यापारिक भएको अवस्था छ । प्रकाशकले नाफाका लागि लेखकलाई प्रयोग गरिरहेको छ अहिले । बजारले के चाहन्छ, त्यही दिनुपर्छ भन्ने मान्यता प्रकाशक र लेखक दुवैमा देखिन्छ ।

यसो हुनाले आज हाम्रो साहित्य सोख होइन, कमाइको बाटो बनेको छ । साहित्य साधना होइन, स्वार्थको आधार बनेको छ । व्यापार र सस्तो चर्चाका लागि साहित्य प्रयोग भएको छ, जुन दुर्भाग्य हो ।

यसकै परिणति हो– बजार साहित्यका नाममा अश्लीलता, अफवाह र अराजकतातर्फ बढेको छ । यसलाई रोकेर जीवन, समाज र सभ्यताका लागि साहित्य लेखिनु आज आवश्यक देखिन्छ ।