पर्वत, १० फागुन । दिदी वहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । पर्वतको बेनीमा शनिबार भएको फाइनलमा एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिसलाई पराजित गर्दै उपाधि जितेको हो ।
एपीएफले पुलिसमाथि ३–१ को सेटमा जित दर्ता गर्दै नगद २ लाख रुपैयाँ पुरस्कार पनि हात पारेको छ । पहिलो सेट २५–१५ ले जित्दै एपीएफ विरुद्ध अग्रता बनाएको पुलिसले लगातार तीन सेट भने जोगाउन नसक्दा काठमाडौंमा भएको ढोरपाटन डबल लिगको बदला लिन सकेन ।
एपीएफलले दोस्रो सेट २५–१८ ले जित्दै खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेट २५–१२ ले जित्दै उपाधि रक्षा गर्न सफल भयो ।
उप विजेता भएको पुलिसले १ लाख रुपैयाँ हात पारेको छ । यस्तै शनिबार नै भएको अर्को खेलमा विजयी भएको न्यु डायमण्ड तेस्रो भएको छ । न्यु डायमण्डले आर्मीलाई ३–० को सेटमा जित दर्ता गरेको थियो । तेस्रो भएको न्यु डायमण्डले ५० हजार नगद पुरस्कार पाएको छ ।
प्रतिक्रिया