नेकपा बैठकमा दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको अखडा बनेको कुरा चर्काे रूपमा उठ्यो। पार्टी एकताको २१ महिनासम्म ‘जनवादको प्रयोग’ गर्न नपाएका केन्द्रीय सदस्यहरूले ‘गुटबन्दीले पार्टीलाई खाएको’ भन्दै चिन्ता व्यक्त गरे।
अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रस्तावमा समूहगत छलफल गरी निष्कर्ष सुनाउने सबैजसो समूह नेताको सामूहिक निष्कर्ष थियो, ‘पार्टी नेताका नाममा खोलिएका संघ–सस्था र प्रतिष्ठानले पार्टीमा गुटबन्दी झाँगियो।’
त्यस्ता प्रतिष्ठानहरू कि पार्टीले व्यवस्थित गरी एउटा नीतिभित्र चलाउनुपर्ने कि बन्द नै गर्नुपर्ने आवाज धेरैले उठाए पनि। अधिकांश प्रतिष्ठान, अध्ययन केन्द्र या फाउन्डेसनका नाममा खोलिएका संस्था ‘गुटका घर’ भएको निष्कर्ष समूह नेताहरूले पार्टी नेतृत्वकै सामुन्ने प्रस्तुत गरे।
नेताहरूले केन्द्रीय समिति बैठक समापन गर्दा यो विषयमा सम्बोधन नै गरेनन्। केन्द्रीय सदस्य युवराज चौलागाईं भन्छन्, ‘विषय बैठकमा सबैजसो समूह नेताहरूले उठाउनुभयो, तर नेताका नामका प्रतिष्ठानमार्फत मौलाइरहेको गुटबन्दीको जवाफ पार्टी नेताहरूले दिनु भएन।’
पार्टी अध्यक्षद्वय (केपी ओली र पुष्पकमल दाहाल) कै राजनीतिक दस्ताबेजमा पार्टी संस्थागत नभएको, बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेको र पार्टी अनुशासनको स्तर दयनीय बन्दै जान थालेको उल्लेख हुँदासमेत नेताहरूले समूह नेताहरूले उठाएको ‘प्रतिष्ठान गुटका घर’ का विषयमा कुनै जवाफ दिन चाहेनन्।
किन त ? नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘यो आफूअनुकूलको गतिविधि बढाउने वैधानिक औजार (संस्था) हो। महाधिवेशन मिति तोकिएका बेला आफू र आफ्नो समूह बलियो बनाउन पनि यस्ता संघसस्था प्रभावकारी बनिदिन सक्छन्। अनि कहाँ त्यसरी पार्टी नीतिभित्र बाँध्ने या बन्द गर्ने कुरा नेतृत्वबाट आउन सक्छ र ? ’
गुटबन्दी पार्टीभित्र माथिल्ला शीर्ष नेतृत्वबाटै भएको र उनीहरूले आफ्नो गुट रक्षाका लागि यस्तो मोर्चालाई उपयोग गर्ने गरेको आरोप नेताहरूमाथि थियो। प्रधानमन्त्रीसमेत रहेका ओलीले नेताहरू एक ढिक्का रहेको तर सञ्चारमाध्यमले अंशबन्डा गरिदिएको भन्दै चित्त दुखाइ पार्टी बैठकको समापन गरेका थिए। उनले त्यसमा थप केही व्याख्या गरेनन्, तर अध्यक्ष प्रचण्डले पार्टी बैठक समापनमा जवाफ दिने क्रममा यति मात्र भने, ‘गुटबन्दी माथिबाट भएको कुरा ठीक छ तर सबै दोष माथि मात्र पनि नलगाउनुहोस् न। केही न केही हिस्सा तपाईंहरू (केन्द्रीय सदस्य) ले पनि लिनुपर्छ। नेताहरू गुटबन्दी गर्न आए, किन जवाफ फर्काउनु हुन्न यसो गर्नु हुन्न भनेर। फर्काउने गर्नुस्। त्यसो गर्दा नेताहरू पनि हच्कियून्।’
प्रतिष्ठान कति ?
नेकपाभित्र नेताहरूले आफ्नो गुटगत राजनीति गर्ने माध्यम बनाउन प्रतिष्ठान र संघसंस्था बनाउने होडबाजी छ। त्यस्ता प्रतिष्ठान गुटगत राजनीतिको केन्द्र बन्न थालेको चिन्ता नेताहरूले पार्टी बैठकमा गरेका हुन्। पार्टीभित्र यति नै संख्याका यस्ता संघसस्था र प्रतिष्ठान छन् भन्ने तथ्यांक छैन। तत्कालीन एमालेभित्र पार्टीकै निर्णयमा पाँचवटा मात्र प्रतिष्ठान रहेको र अन्य भने पार्टीको निर्णयमा नखोलिएको वरिष्ठ नेता माधव नेपाल स्विकार्छन्।
उनका भनाइमा पुष्पलाल प्रतिष्ठान, मदन–आ िश्रत स्मृति प्रतिष्ठान, तुलसीलाल स्मृति प्रतिष्ठान, मोतीदेवी स्मृति प्रतिष्ठान र मनमोहन स्मृति प्रतिष्ठान मात्र पार्टीको मार्गदर्शनमा खोलिएका प्रतिष्ठान हुन्। ‘पूर्वएमालेभित्र पाँचवटा मात्र पार्टीको मार्गदर्शनमा खुलेका प्रतिष्ठान छन्, अरू पार्टी योजनामा खोलिएका होइनन्, पूर्वमाओवादीतिर पनि केही होलान्, पोष्टबहादुर बोगटी, निर्मल लामालगायतका नाममा छन् कि, मलाई उताका धेरै जानकारी छैन। तर पूर्वएमालेको मलाई जानकारी छ। अरू पार्टीका निर्णयबाट खुलेका होइनन्’, वरिष्ठ नेता नेपाल भन्छन्। अन्नपूर्ण पाेस्टमा खबर छ।
प्रतिक्रिया