देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब रहेन गजलमा विवाद

देशान्तर

गत माघ १५–१६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा राष्ट्रिय गजल महोत्सव, २०७६ सम्पन्न भएको छ । उक्त महोत्सवबाट नेपाली गजल लेखनमा देखिएका असहमति, अलमल र असन्तुष्टिको समाधान भएको छ । सँगै सबै धार र क्षेत्रका स्रष्टाको समान प्रतिनिधित्वका कारण नेपाली गजललाई एउटा निश्चित मार्गमा लैजान महोत्सव सफल भएको मानिएको छ ।

त्यसो त उक्त महोत्सव धेरै अर्थमा महत्वपूर्ण थियो । राज्यको तहबाट नै पहिलो पटक गजललाई प्राथमिकता दिएर उक्त महोत्सव गरिएको थियो । यसले धेरै लामो समयदेखि राज्य अर्थात् एकेडेमीले गजललाई गरिरहेको बेवास्ता तोडेर अभिभावकत्व ग्रहण गरेको थियो ।

अब गजललाई कसैले पनि नेपाली साहित्यमा सौतेलो व्यवहार गर्ने अवस्था हुने छैन भन्ने विश्वास गर्न सकिन्छ ।

विगतमा नेपाली साहित्यमा गजललाई आयातीत विधाका रूपमा हेरिँदै हेलाँ र तिरस्कार गरिँदै आएको थियो । यसका कारण कतिपय राम्रा स्रष्टाले समेत गजल लेखनबाट हात झिके । कतिपय स्रष्टाले गजल लेख्न चाहेर पनि गजलमा होमिन सकेनन् ।
यसको कारण गजलप्रतिको स्थापित स्रष्टा, समालोचकको अपहेलनापूर्ण दृष्टि पनि थियो ।

अहिले गजल छुट्टै विधाका रूपमा त्रिभुवन विश्वविद्यालयलगायत धेरै शैक्षिक संस्थामा अध्ययन, अध्यापन हुने गर्छ । यो पनि गजलका लागि खुसीको विषय हो ।

यसै क्रममा एकेडेमीले गजल महोत्सव गरेर नेपाली साहित्यमा गजलको सशक्त उपस्थितिलाई मान्यता दिँदै अभिभावकत्व लिनु अझ सुखद कार्य हो ।

यही महोत्सवमा गजलका विषयमा गरिएको घोषणा अझ अर्थपूर्ण र उपलब्धिमूलक छ ।

नेपाली गजल लेखनमा देखिएका विवाद र मतभेद अन्त्यका लागि महोत्सवले पाँचबुँदे घोषणा गरेको छ । उक्त घोषणामा गजलको शास्त्रीय मानकको कुरा उल्लेख गर्दै अबको नेपाली गजल बहरतर्फ केन्द्रित हुनु जरुरी रहेको बताइएको छ ।

बहर मात्र उत्कृष्ट गजल रचनाको मापक आधार नभएको पनि प्रस्ट पार्दै घोषणापत्रको ४ नं. बुँदामा तर्क, शिल्प, कल्पनाशीलता र चामत्कारिकता पनि उत्कृष्ट गजलमा आवश्यक रहेको बताइएको छ ।

यसले नेपाली गजलमा देखिएका अनेक धार र असहमतिको अन्त्यका लागि महत्व राख्ने आस गरिएको छ ।

एकेडेमी नेपाली भाषा, साहित्यका लागि आधिकारिक निकाय भएकाले पनि एकेडेमीले गरेको उक्त महोत्सव र त्यहाँ गरिएको घोषणाप्रति धेरैको असहमति रहँदैन । यो पनि महोत्सवको उपलब्धि हो ।

अन्त्यमा, अब नेपाली गजलम विवादका लागि विवाद गरिरहनु जरुरी देखिँदैन । एउटा आधारभूत ’मार्ग’को प्रयास र खाका उक्त महोत्सवले दिइसकेको छ । अब स्रष्टाले गजलको आधारभूत शास्त्रीयतालाई आत्मसात् गरेर उत्कृष्ट सिर्जनातर्फ लाग्नुमा हितकर देखिन्छ ।