देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी–राजपा एकतामा अविश्वास बढ्दाे

देशान्तर

वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता प्रक्रियामा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच अविश्वास बढेको छ । समाजवादी सरकारबाट बाहिरिएसँगै राजपाले बढाएको सत्ता निकटताले अविश्वास बढाएको हो ।

गहिरो अविश्वासबीच पनि दुवै दलका नेताहरूले एकताबाट वैकल्पिक शक्ति निर्माण हुने दाबी गरेका छन् । राजपा नेता राजेन्द्र महतोले राष्ट्रिय सभा चुनावका लागि नेकपासँग भएको गठबन्धनको औचित्य सकिइसकेको र आफूहरू एकीकरण अभियानमै रहेको बताए ।

‘हामी एकीकरणकै अभियानमा छौं,’ उनले भने, ‘नेकपासँग भएको गठबन्धन राष्ट्रिय सभाको निर्वाचनसँगै अन्त्य भएको छ, सरकारमा जाने कुनै योजना छैन ।’आगामी निर्वाचनअघि नेकपा र कांग्रेसलाई चुनौती दिने गरी सशक्त शक्ति निर्माण गर्ने बताए । उनी नेपालजस्तो मुलुकमा एउटै दलको बहुमत या दुई तिहाइको सरकारले राजनीतिक स्थायित्व र विकास दुवै दिन नसक्ने दाबी गर्दै उनले वैकल्पिक शक्तिको आवश्यकतामा जोड दिए ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने राजपाप्रति विश्वस्त देखिँदैनन् । राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन बनेदेखि उनी सशंकित छन् । उपसभामुख लिने, संघीय सरकारमा जाने र प्रदेश २ को सरकारमा समेत नेकपासँग गठबन्धन गर्नेसम्मको तयारी रहेको भन्दै एकताका विषयमा यादव हच्किएका हुन् । महतोले यादवको आशंका ‘वाहियात’ रहेको बताए ।
सरकारमा सहभागिता र पार्टी एकीकरणमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा राजपाभित्रै एकमत छैन । अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरू महन्थ ठाकुर र महतोले एकीकरणमा जोड दिएका छन् । अध्यक्षमण्डलमा रहेका ६ मध्ये बाँकी तीन सदस्य शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले एकीकरणभन्दा सरकारलाई प्राथमिकता दिएका छन् । कान्तिपुरमा खबर छ ।