लोकतान्त्रिक स्रष्टाहरूको छाता संस्था नेपाली लेखक संघ केही समयदेखि ‘कोमा’मा छ । २०७३ वैशाखमा भएको अधिवेशनबाट तत्कालीन कार्यसमितिको अवधि गत वैशाखमै सकियो । विधानतः त्यसको ६ महिना अवधि थप गर्न मिल्ने पनि गत कात्तिकमै सकिएको छ । यसर्थ अब नेपाली लेखक संघ विधानतः ‘फङ्क्सन’मा छैन ।
लोकतन्त्र पक्षधर स्रष्टाहरूको संगठित संस्था हो– नेपाली लेखक संघ, यद्यपि, कुनै पनि राजनीतिक दलको भ्रातृ वा शुभेच्छुक संस्था होइन । उदारवाद, व्यक्तिगत स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, समानता, मानवअधिकारका पक्षधर स्रष्टाहरू यस संस्थामा आबद्ध छन् ।
लेखक संघको पछिल्लो अधिवेशनबाट डा. नवराज लम्सालको अध्यक्षतामा समिति बन्यो । उक्त समितिले आफ्ना काम कारबाहीलाई गतिलो ढंगले अगाडि बढाउन सकेन र समितिभित्रै विरोध र आलोचना भयो ।
खुलाबाट निर्वाचित सचिवका हैसियतले यस पंक्तिकारले पनि अध्यक्षलाई पटकपटक गतिला कामका लागि दबाब दियो । अन्ततः निवार्चित भएको चार महिनामै अध्यक्षले फेसबुकमार्फत राजीनामा दिए ।
उनले राजीनामाको कारण– संस्थाका पूर्वसमितिका हिसाब किताब र अन्य कागजात नदिइएको बताए तर वास्तविकता त्यो होइन । त्यति साधारण विषयलाई लिएर निर्वाचित अध्यक्षले राजीनामा दिनु ‘केटाकेटीपन’ मात्र हो ।
सन्दर्भ वर्तमानको ।
निर्वाचित अध्यक्षले राजीनामा दिएपश्चात आन्तरिक सहमतिमा वरिष्ठ उपाध्यक्ष श्रवण मुकारुङलाई अध्यक्ष बनाइयो । एउटा राम्रो कवि, साहित्यकार मुकारुङ निकै भद्र र इमानदार व्यक्तित्व पनि हुन् । उनलाई लेखक संघको नेतृत्वमा पाउँदा सबै उत्साहित र खुसी हुनु स्वाभाविक थियो ।
तर, दुर्भाग्य ! व्यक्तिले अवसर र स्थान नपाउन्जेल असल र इमानदार हुँदो रहेछ । या त मुकारुङ निकै सीधा भएकाले यस्तो भएको हो । उसो त यो पंक्तिकारले पटकपटक मुकारुङलाई ‘तपाईं बढी सीधा र इमानदार भएकाले केही खराब तत्वले प्रयोग गर्दै छन्, सतर्क रहनुस्’ भनेकै हो ।
यतिभन्दा पनि महासचिव रत्नमणि नेपालको चंगुलबाट अध्यक्ष मुकारुङ बाहिर जान सकेनन् । महासचिव नेपालले आफ्नो फाइदाका लागि अध्यक्षलाई दुरुपयोग गरिरहे तर मुकारुङले आफू फसिरहेको पत्तै पाएनन् ।
किनभने,
केही समयअघि एउटा कोरियाली संस्थासँग मिलेर लेखक संघले सांस्कृतिक/साहित्यिक कार्यक्रम गर्ने भयो । उक्त कार्यक्रमबारे बैठकमा मैले यो संस्था कुनै धर्म प्रचारक वा मिसनरी हुन सक्छ, पहिला बुझौँ भनेँ ।
महासचिवले आफूले बुझ्ने भने तर अन्ततः उक्त संस्था मिसनरी भएको त्यसबेला थाहा भयो, जब एकेडेमीको हलमा कार्यक्रम गरियो ।
सोही संस्थाले उक्त कार्यक्रमको खर्च व्यहोर्यो । अझ केही विद्यार्थीका नाममा केही लाख रुपैयाँ छात्रवृत्ति पनि दिने भन्यो । कार्यक्रम सकियो ।
त्यसपछिका संस्थाका लगातार तीन वटा बैठकमा उक्त कार्यक्रमबारे, कार्यक्रमको हिसाबकिताबबारे, छात्रवृत्तिबारे मैले प्रश्न उठाइरहेँ । हिसाबकिताब बुझाउन अनुरोध गरिरहेँ तर अध्यक्ष, महासचिव र कोषाध्यक्षले ‘बाल’ दिएनन् ।
पछि अध्यक्ष र महासचिव संस्थाको कुनै अनुमति र निर्णयबिना कोरिया गए । केही कविका कविता कुनै प्रक्रियाबिना कोरियाली भाषामा अनुवाद गरेर किताब निकाले । उक्त खर्च र हिसाबसमेत आजसम्म दिएनन् ।
सुनियो– छात्रवृत्तिको रकम नेविसंघका केही नजिकका नेतालाई दामासाही बाँडिदिए रे ! तर, ती नेताले उक्त रकम कहाँ, कसलाई, कुन प्रक्रियाबाट दिए भन्ने आजसम्म थाहा पाउन सकिएको छैन ।
यसरी अनियमितता र अकर्मण्यतामा संस्थालाई डुबाएर पद ओगटेर बसिरहने नेतृत्वमाथि आवश्यक छनबिन गर्न र विधानतः पदावधि सकिएको संस्थाको कार्यसमितिलाई हटाएर तदर्थ समिति बनाई अधिवेशन सम्पन्न गर्न अनुरोध गर्दै म आफ्नो तर्फबाट सचिवको भूमिकामा गत कात्तिकदेखि नै विधानतः नरहेको र अन्य पदाधिकारीलाई समेत इमान र नैतिकताका आधारमा समयमा अधिवेशन गराउन, संस्थागत जिम्मेवारी पूरा गर्न नसकेकामा पदमा नरहेको घोषणा गरेर बाटो खोल्न अनुरोध गर्छु ।
प्रतिक्रिया