देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलोचनाबाट किन डराउने ?

देशान्तर

हामी आलोचना भन्नेबित्तिकै तर्सिन्छौँ । डराउँछौँ । कसैले आफूमाथि वा आफ्ना काम र व्यवहारप्रति कुनै गल्ती कमजोरी भनिदिएमा हाम्रो कन्पारो तात्छ, रगत उम्लिन्छ र ऊप्रति आक्रामक बन्छौँ । यो स्वाभाविक मानवीय स्वभाव हो । आफ्ना गल्ती कमजोरी अर्काले नदेखाइदेओस्, नभनिदेओस् भन्ने हाम्रो अवचेतनमा रहेको हुन्छ तर यो हामी आफ्नै लागि घातक सोच हो ।

मानिस स्वभावैले कमजोरीहरूको पिण्ड हो । उसको चेतना सधैँ सही हुँदैन । आवेग, रिस, घृणा, दया, माया, करुणा सबै कुरा एउटा जीवित मान्छेभित्र रहन्छन् । तब उसले सधैँ राम्रै गर्छ, सही नै गर्छ भन्ने कहाँ हुन्छ ?
मान्छेले आवेगमा वा रिस र घृणामा मात्र होइन, अत्यन्त संवेदनशील, दयालु र प्रेमिल भएको अवस्थामा समेत कमी कमजोरी र गल्ती गर्छ, जुन उसले चाल नै पाउँदैन । यो मनोवैज्ञानिक तथ्य हो । सन्दर्भ आलोचना र आलोचना सहन क्षमताको

सबै आलोचना नकारात्मक हुँदैनन् । जो जसले कसैप्रति आदरभाव, सद्भाव र सुधारको अपेक्षासहित कसैका कमी कमजोरी देखाउँछ भने त्योभन्दा असल वा हितैषी अरू हुँदैन । तर, हामी त्यसलाई छुट्ट्याउन सक्दैनौँ र सामान्य आलोचना नै सम्बन्धविच्छेदको कारक बन्छ ।

राजनीतिमा त आलोचनाको उद्देश्य अलग हुन्छ । अन्य क्षेत्रमा भने आलोचना सकारात्मक परिणामकै लागि हुने गर्छ । यहाँ विशेष साहित्य क्षेत्रमा हुने र गरिने आलोचनाबारे केही कुरा उठान गर्ने प्रयास गरिएको छ ।

साहित्य व्यक्तिको संवेदना, आवेग र भावनाको अभिव्यक्ति हो । साहित्यिक अभिव्यक्तिमा पनि विधाअनुसारका विधि, नियम र मान्यता रहेका छन । संरचना, शिल्प, प्रस्तुति, विषयवस्तु आदिका आधारमा हरेक सिर्जनाको सबल र दुर्बल पक्ष केलाइन्छ । यसकै लागि विभिन्न सिद्धान्त र अवधारणा (नोसन) विकसित छन ।

आलोचनाकै एउटा पक्ष समालोचना र अलिक छोटो विधा समीक्षा प्रचलनमा छन् । समीक्षा सरसर्ती दृष्टिकोण हो भने समालोचना विहंगम वा विस्तृत दृष्टि हो– सिर्जनामाथिको ।

समीक्षामा सिर्जना वा कृतिको परिचयात्मक पक्ष बढी प्रस्तुत हुन्छ भने समालोचनामा सैद्धान्तिक धरातल, मूल्य मान्यता, प्रचलनसमेतलाई ध्यानमा राखेर कृति वा सिर्जनाको विभिन्न कोणबाट विश्लेषण गरिन्छ ।

यसो गर्दा सर्जक र सिर्जनाका विविध पक्ष र आयाम स्वाभाविक रूपमै आउने गर्छन् । र, यस्तो अवस्थामा समीक्षक, समालोचक र सर्जकको दूरी बढ्न सक्छ, जुन सही होइन ।

अहिलेको नेपाली सिर्जना क्षेत्र, विशेषगरी साहित्यमा यो विषय समस्याको रूपमा देखिएको छ । सर्जक चिनिने सिर्जनाका कारण मात्र होइन, उसको सिर्जनाको विश्लेषण, प्रचार र प्रसारका कारण पनि हो । र, यसका लागि समालोचक, समीक्षक आवश्यक छ ।

हाम्रा केही स्वनामधन्य लेखकहरू समीक्षक, समालोचकप्रति सकारात्मक छैनन् । उनीहरू समालोचकको आवश्यकतै ठान्दैनन् । यसको कारण हो– असली समालोचकले सर्जकको अनुहार र ऊसँगको सम्बन्ध होइन, उसको कर्म वा सिर्जनाको स्तर हेर्छ ।

यो कुरा उनीहरूलाई मन पर्दैन, पचाउन सक्दैनन् ।

तर, उनीहरूले यो सोच्न सक्दैनन् कि समीक्षक वा समालोचकले उनीहरूकै सिर्जनात्मक क्षमतामा राम्रो होस भन्ने अपेक्षाले आलोचना गरेको हुन्छ ।

तथापि, समीक्षा वा समालोचना आग्रही भने हुनु हुँदैन । रचनात्मक र तथ्यपरक आलोचनाबाट भने कोही कसैले डराउनु हुँदैन । तर्सिनु हुँदैन । यो त सर्जकका लागि मार्गदर्शन पो हो त । केही समयअघि पंक्तिकारले अत्यन्तै सहृदयी र ज्यादै निकट मित्रको रचनामा टिप्पणी गर्ने बाध्यता पर्‍यो । ती मित्र र आयोजकलाई मैले मलाई टिप्पणीकार नराख्न अनुरोध गरेँ तर आयोजकले मेरो अनुरोध मानेनन । कारण– म आफ्नै कमजोरीमा पनि खुलेर बोल्छु र यस्तो अर्काले मन पराउँदैन । जब मैले उनका रचनामा टिप्पणी गरेँ, एउटा ठूलै जमात मेराविरुद्ध सामाजिक संजालमा लामो समय लाग्यो । हुँदाहुँदा ती निकट मित्र (अहिले पनि उत्तिकै प्रिय र निकट छन्) अझसम्म मसँग दोहोरी खेलिरहन मन पराउँछन्– त्यही विषयमा ।

मैले भनेको थिएँ– ‘उक्त विधाको सैद्धान्तिक आधारमा उनका रचना गजल भएनन ।’

तर, बजार वा त्यहाँ उपस्थितलाई उनका रचना बडो ‘दमदार’ लागिरहेका थिए, परर तालीको वर्षा हरेकजसो पंक्तिमा आउँथे । उसो त मैले पनि अधिकांश उनका रचनाका पंक्तिमा हृदयदेखि नै ताली बजाएँ– मन परेरै । यसको अर्थ उनका रचना गजल भनेर मैले ताली बजाएको होइन कि उनका रचनामा भएको विषय, भाव र प्रस्तुतिको शिल्प बेजोड भएर मलाई तानेको हो । तथापि, अझै भन्नुपर्छ– मैले उनका ती रचनामा गजलमा हुने अत्यावश्यक केही तत्व पाइनँ र त्यसो भनेँ ।

तर, समस्या, उनीलगायत धेरैले मेरो उक्त आलोचनालाई नकारात्मक नै लिइरहेका छन् । सोचेका छैनन् कि मैले अझ राम्रोका लागि उक्त आलोचना गरेको थिएँ । अझ अध्ययन गरेर, अझ सशक्त अभ्यास गरेर साँच्चै उत्कृष्ट र सुन्दर सिर्जना गर्नुपर्छ भन्ने सोच्न उनलाई यो लेखले थोरै सघाउला कि ! उनीजस्तै धेरैलाई केही प्रोत्साहन गर्ला कि जसले आलोचनालाई नकारात्मक मात्र ठान्छन् !