शीर्षकबाट पेटबोलीमा के होला, त्यसको लख पाठकहरूले नकाट्ने सवालै उठ्दैन । तसर्थ, त्यसको उठान, त्यहीबाट गरौं, जहाँबाट उनले पापीको उपाधि प्राप्त गरेका थिए ।
२०३७ साल वैशाख १ गते जनमत संग्रहको पूर्वसन्ध्यामा राजा वीरेन्द्रबाट आममाफीको घोषणापछि सबै राजबन्दी जेलबाट रिहा भएका र भारतमा निर्वासित नेता तथा कार्यकर्ता पनि स्वदेश फर्केका थिए । राजकाज मुद्दामा जन्मकैदको सजाय पाएका भक्तपुरका हामी– जानकीप्रसाद कुइँकेल र म साढे ६ वर्ष जेलको नारकीय यातना बिताएर नक्खुजेलबाट छुटेका थियौं । बाहिर आउनेबित्तिकै हामीले चुनावप्रचारमा लाग्नु परेको थियो । त्यसै क्रममा कटुन्जेमा आयोजित बहुदल पक्षको आमसभा सकेर फर्कन लाग्दा तरुण तथा जोसिला भोलेन्टियर्सको एक हूल मसँग भेट र परिचय साट्न आएका थिए । तीमध्ये हंसमुख तर लज्जालु रामेश्वर ढुंगेलको कसैले परिचय गराएका थिए– बक्सिङ च्याम्पियनका रूपमा । त्यसअघि भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा उनी बागमती अञ्चलस्तरीय च्याम्पियन घोषित भएका थिए । तिनताका उनी आफ्ना पिता र परिवारका साथमा काठमाडौंमा बस्थे । उनका पिता दशरथ ढुंगेलको जजमानी पेसा लगनटोलदेखि ढोकाटोलसम्म राम्रै चलेको थियो । उनी सरस्वती क्याम्पसबाट सर्टिफिकेट लेभल पास गरेर डिप्लोमाका लागि त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए ।
त्यसरी झोछेंटोलको प्रतिनिधित्व गरेर बागमती च्याम्पियन बनिसकेका उनको आफ्नो पुख्र्यौली थलो, कटुन्जेका प्रति गहिरो लगाव थियो । २०।२१ वर्षको उमेरमा उनले हासिल गरेको त्यो उपलब्धि सामान्य थिएन । यद्यपि आफ्नो समयको पर्यटकको ‘हब’ तथा हिप्पीहरूको स्वर्ग– झोछेँबाट ठमेल सर्न सुरु भइसकेको थियो, तथापि झोछेँको रात्रिकालीन रौनक र दादागिरीको चकचकी अझै बाँकी थियो । त्यही झोछेंको वातावरणमा हुर्केका तरुणलाई कांग्रेसप्रति आकर्षित तथा बहुदल पक्षमा समर्पित भएको पाउँदा मलाई हर्ष लाग्नु लाग्नु स्वाभाविक थियो । उनलाई पनि सायद, क्रान्तिकारी छविका कुनै दिग्दर्शकको प्रतीक्षा थियो, जसले उनको ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकोस् । प्रथम दृष्टिमा, दुवैलाई के खोज्छस् काना, आँखा भनेजस्तो भएको थियो– त्यो भेट र परिचय । त्यो रोम्यान्टिक तथा भावुक क्षण थियो, उनले जिल्लामा आएर काम गर्ने अठोट व्यक्त गरे, मैले पनि साथ र सहयोगको आश्वासन दिएँ । जनमतसंग्रहमा बहुदलको हारपछि हाम्रो भेट पातलिँदै गयो र यदाकदा हुने भेट, औपचारिकतामा सीमित हुन पुग्यो ।
भक्तपुरको सक्रिय राजनीतिमा रामेश्वरजीको प्रवेश, २०४३ सालमा भएको हो– कटुन्जे गाउँ पञ्चायतको प्रधानपञ्चका उम्मेदवारका रूपमा । प्रतिबन्धित नेपाली कांग्रेसले २०४२ को सत्याग्रह स्थगित गरेपछि उत्पन्न राजनीतिक क्रियाकलापको शून्यता भर्न र राजासँगको संवाद कायम राख्न स्थानीय तहको चुनाव लड्ने निर्णय गरिसकेको थियो– आउटपोस्ट क्याप्चरको नारा दिएर । त्यसबेला रामेश्वरजीले आफूलाई प्रजातन्त्रवादी माने पनि कांग्रेसका उम्मेदवार बन्न मानेनन् र उनी स्वतन्त्र भएर उठे । स्वतन्त्र किनभने जसरी उनले कांग्रेसको उम्मेदवार हुन चाहेनन्, त्यसैगरी पञ्चायतका कुनै गुटको समर्थक हुन पनि स्वीकारेका थिएनन् । कटुन्जे, पञ्चायतका दुई प्रमुख व्यक्तित्व– नेत्रनाथ शर्मा (ढुंगेल) र बलराम थापाको गाउँ पञ्चायत भएकाले दुवैतिरका मतदाताको समर्थन र सहयोग प्राप्त गर्न उनले स्वतन्त्र उमेदवारको रणनीति अपनाएका थिए । नभन्दै नवागन्तुक उनले त्यो चुनाव मात्र जितेनन्, चुनावी राजनीतिमा कहिल्यै नहार्ने व्यक्तिका रूपमा पनि आफूलाई स्थापित गरिछाडे ।
उनले २०४६ सालको जनआन्दोलनमा मनसा, वाचा, कर्मणाले समर्थन र सहयोग गरेका थिए । त्यसअघि कटुन्जेबाट तिमिल्सिना बन्धुहरूबाहेक एकाध ढुंगेलहरूले मात्र विद्यार्थीका फाँटमा सक्रियता देखाएका थिए, पार्टीमा सामेल हुने जोखिम कसैले उठाएका थिएनन् । दयाराम गिरी अपवाद हुन्, जसले दलबलसहित सत्याग्रहमा भाग लिएर ६ महिना जेलमा बिताएका थिए । त्यही कारण दयारामको जमात, विद्यार्थी नेताका अतिरिक्त जनआन्दोलनमा सघाउनेमा रामेश्वरजीका नजिकका कार्यकर्ता सामेल थिए । अरू सबै प्रजातन्त्रको पुनस्र्थापनापछिको विजय जुलुसमा सामेल भएर कांग्रेस दाबी गर्ने जमातका सदस्य थिए । संघर्षकालका सहयोगी चाहिँ तिमिल्सिना बन्धु र दयाराम गिरीका साथी सहयोगी नै हुन् । त्यसपछि कांग्रेस प्रवेशको लहर चल्यो र कसरी रामेश्वरजी २०४९ र २०५४ को गाविस अध्यक्षको चुनावमा विजयी भए, त्यो सबैले देखेको र झेलेको विषय भएकाले त्यसमाथि थप प्रकाश पार्न आवश्यक छैन ।
कटुञ्जेमा गणेशमान सिंह बाटिकाको निर्माण, रामेश्वरप्रसाद ढुंगेलको कल्पना र सपना दुवै हो । यद्यपि त्यो परियोजना, जुन गतिमा अघि बढेर निर्माण पूरा भइसक्नुपर्ने थियो, अनेक कारणले सम्पन्न हुन सकेको छैन, तथापि अध्यक्ष ढुंगेलका अभावमा अब त्यो काम पूरा गर्ने जिम्मा, २०४६ को ऐतिहासिक जनआन्दोलनका सरोकारवाला सबैको काँधमा पर्न आएको छ । जसरी सबैको सहयोग र सक्रियताबाट सर्वमान्य नेताको पूर्णकदको प्रतिमा स्थापनाको काम सम्पन्न भइसकेको छ र कुनै पनि बेला अनावरणका लागि तयार छ, त्यसैगरी परियोजना बाँकी कार्यभार पनि ढिलोचाँडो पूरा हुनेमा शंका गर्न पर्दैन ।
प्रारम्भिककालमा जब त्यो परियोजनाको खाका लिएर उनी मेरो सल्लाह र सहयोग माग्न आएका थिए, तब मैले नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंहका प्रतिको उनको उच्च मूल्यांकन मात्र होइन, अगाध श्रद्धाको उज्यालो आलोक अवलोकन गर्ने मौका पाएको थिएँ । गणेशमान सिंहको त्याग र बलिदानबाट प्रेरणा प्राप्त गरेर त्यो लक्षमा समर्पित हुनेमा सबैभन्दा ठूलो साधक मैले आफैंलाई ठानेको थिए । रामेश्जरजीको दूरदर्शी परियोजनाको अवधारणा र भविष्यका पुस्तालाई त्यसले पार्ने प्रभावका बारेमा सुनेपछि म आफैं उनीप्रति नतमस्तक हुन पुगेको थिएँ ।
पार्टी भित्र र बाहिर उनका पछाडि ‘बेसारे बाजे र हुन्छ प्रसाद’ का उपनाम जोडेर कुरा काट्नेहरू कम थिएनन् । हुन पनि उनले कुनै पनि काम लिएर जानेहरूलाई हुन्न, सक्तिनँ र गर्दिनँ भनेको कहिलै सुनिएन । उनले गर्न नखोजेको काम पनि केही देखिएन । उनको जीवनको ठूलो कमजोरी नै के थियो भने कसैलाई नचिढाउने, सबैलाई आफ्नो बनाउने प्रयास । नकारात्मक सोच नपाल्ने मात्र होइन, कसैको समस्या, सिकायत र गुनासोप्रति पनि नकारात्मक जवाफ नदिने । त्यही कारण उनलाई हुन्छ प्रसाद भनिएको थियो । त्यही उनको कमजोरी थियो, त्यही उनको ताकत पनि बन्न पुग्यो । त्यसैले उनले राजनीतिक तथा सामाजिक जीवनमा जति चुनाव लडे, ती कुनैमा पनि कहिलै हार व्यहोर्नु परेन । कसैलाई नचिढाएकै कारण उनले हारको मुख देख्न नपरेको हो ।
रामेश्वर ढुंगेलमा विभिन्न वर्गका जनताको नाडी छाम्न सक्ने अद्भुत गुण थियो । त्यस्तो सुक्ष्म मनोवैज्ञानिक गुण उनले कसरी प्राप्त गरे, त्यो भन्न कठिन छ तर जनताको मनोदशा र मनस्थितिको उनको अध्ययन भने आश्चर्यजनक थियो । खास गरेर चुनावको अग्रिम परिणामका बारेमा उनको अध्ययन र विश्लेषण पद्धति यस्तो थियो कि मानिसलाई पत्याउन गाहारो हुन्थ्यो । परिणामले मात्र उनको दाबीको पुष्टि गथ्र्यो ।
२०७० सालको संविधानसभाको दोस्रो चुनावमा मलाई उम्मेदवार बन्ने सुझाव लिएर उनी एकाबिहानै भेट्न आए । उनले अरू केही साथीहरूसँग पनि सल्लाह र सुझाव लिएका रहेछन् । चुनाव निश्चित रूपमा जितिन्छ । यत्रो लगानी भएको व्यक्ति पन्छेर बस्न हुँदैन, चुनाव जित्न सक्ने दादाको उचाइको अर्को नेता छैनन् । क्षेत्रबाट म सिफारिस गर्छु, माथि दादाले मिलाउनुपर्छ । चुनाव जित्नेमा अलिकता पनि शंका गर्नु पर्दैन । हामी जिताउँछौं ।
मैले उनलाई गणेशमानजीले भन्ने गरेको एउटा कथा सुनाएँ । एकजना खेतको आलीमा बसेर हग्दै भटमास खाँदै गरेको थियो, त्यै आलीको बाटो आउने अर्को व्यक्तिले उसलाई हप्काउँदै भनेछ– कस्तो लाज र घिन दुवै नभएको मान्छे रहेछ । हग्न बसेका बेला भटमास खान घिन लाग्दैन ? उसले जवाफ फर्कायो के गर्ने ठूल्दाइ, साँगामा एउटा काम थियो, त्यहाँ पुगेर आउँदा तीन घण्टा लाग्यो, भोकले आँखै नदेख्ने भएँ । त्यो कान्छीलाई एक घान भटमास भुट्न लगाएँ । मोरीले कस्तो मीठो भुटिछ । त्यसैबेला यता आउनुपर्यो, भटमास छाड्नै सकिनँ, त्यसैले दुवै काम एकसाथ गर्दैछु ।
ओ हो, त्यस्तो मीठो भटमास् ! ख्वै त, म पनि चाखुँ । उसले हात पसार्यो ।
मैले, प्रजातन्त्रका लागि लडेको कांग्रेस र प्रजातन्त्र मासेर जनवाद ल्याउन हत्या, हिंसा र आतंक मच्चाएको माओवादीलाई मिलाएर भारतले गराएको बाह्रबुँदे दिल्ली सम्झौताको विरोध गरेको र त्यही सम्झौताले निर्धारित गरेका एजेन्डालाई संस्थागत तुल्याउन नयाँ संविधानको मस्यौदा गर्न यो चुनाव हुन लागेकाले त्यसको सुरुदेखि बोलेर मात्र होइन, लेखेर पनि बिरोग गर्ने व्यक्तिले चुनाव लड्नु भनेको भटमास खान हात पसारेको भयो कि भएन ?
………….
रामेश्वरजीलाई भटमासको कथा र मेरो प्रश्नमाथि ध्यान थिएन, किनभने ९९ प्रतिशत कांग्रेसलाई जस्तै उनलाई पनि बाह्रबुँदे दिल्ली सम्झौताको सैद्धान्तिक तथा व्यावहारिक पक्षमा बहस अथवा छलफल गर्नु थिएन, आफ्ना लागि टिकट कसरी उपलब्ध गर्ने ? त्यो चिन्ताले डोर्याएर उनलाई मकहाँ आउन बाध्य तुल्याएको थियो । उनी मलाई टिकट दिलाएर उम्मेदवार बनाउन होइन, त्यसको आडमा आफूलाई टिकटको सिफारिस गराइमाग्न आएका थिए । उनले मलाई उम्मेदवार बन्न आग्रह गरेको कारण पनि त्यही थियो । मैले चुनाव लड्दैन, किनभने नेताहरूले टिकट नै दिँदैनन्, दिन खोजे छन् भने पनि अंकुशे लगाएर झार्नेहरू भित्र बाहिर घात लगाएर बसेका छन् भन्ने उनलाई थाहा थियो । यो पनि उनलाई थाहा थियो, शेरबहादुर देउवाजी मलाई टिकट दिलाउन लाग्ने छैनन् । त्यसो गर्दा कोइरालाहरू रिसाउने जोखिम उठाउनुपर्ने हुन्थ्यो । माथवरजीका निम्ति टिकट दिलाउन झगडा गरेर उनीहरूलाई चिढाउन उनी तयार हुनेवाला थिएनन् । बरु, उनले सिफारिस गरेका व्यक्तिलाई टिकट दिलाउने प्रयासमा खुलेर लाग्न सक्ने सम्भावना थियो । त्यही सम्भावनामाथि रामेश्वरजीले झटारो हान्न खोजेका थिए– आए आँप, गए झटारो ठानेर ।
माथिका संवाद र चर्चा, निर्वाचनको मिति घोषणा लगत्तैको हो । अर्को शब्दमा भन्नुपर्दा नितान्त प्रारम्भिक अवस्थाको । त्यसअघि निर्वाचन नै हुने हो कि होइन, भए पनि कुन मितिमा हुने हो भन्नेमा धेरै अन्योल थियो । भारतले भुटानको मोडेल नेपालमा प्रयोग गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने र निर्वाचनमा जाने निर्णय लागू गर्न खोज्दा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न लगाउनु असंवैधानिक हुन्छ भनेपछि माओवादीको हेटौंडामा भएको अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालका माध्यमबाट प्रस्ताव प्रस्तुत गराएर अधिवेशनले अनुमोदन गरेपछि चुनावी सरकार र निर्वाचनको मिति निश्चित भएको थियो । त्यसपछि निर्वाचनको हलचल प्रारम्भ भएको हो । रामेश्वरजी भक्तपुरको क्षेत्र नम्बर २ का कांग्रेसका सभापति थिए, त्यसैले उनलाई निर्वाचनसम्वन्धी कार्यक्रमलगायत सम्पूर्ण सूचना उपलब्ध हुनु स्वाभाविक थियो । कटुन्जेका मात्र होइनन्, भक्तपुर जिल्लाकै नेपाल सरकारका वरिष्ठ कर्मचारीसँग उनको परिचय र पहुँच थियो । त्यसको लाभ कसरी उठाउने त्यसमा पनि उनी पारंगत थिए ।
त्यसबीचमा साथीहरू खबर गर्थे, नेताहरूका निवासमा बिहान बेलुका टिकटार्थीहरूको म्याराथन दौड कसरी चलिरहेछ र भक्तपुरका नेताहरू पनि त्यसमा कसरी तँछाडमछाड गरिरहेका छन्, त्यसको आँखौंदेखा हाल सुनाउँथे । जसको त्यस्तो घोडेजात्रामा निहित स्वार्थ थिएन, केवल आफ्ना नेताहरूको मनोबल बढाउन अथवा शक्ति प्रदर्शनमा सघाउन र तमासा हेर्न मात्र उनीहरू पुगेका हुन्थे, उनीहरू कुन नेताकहाँ कार्यकर्ताको कति ठूलो भीड थियो, भक्तपुरबाट को को पुगेका थिए र उनीहरू नेतालाई भेटेर निक्लँदा कस्तो अनुहार लिएर फर्केका थिए, त्यसको बढाइचढाई बखान गर्थे । वास्तवमा कार्यकर्ताहरूका निम्ति आफ्ना समर्थक नेतालाई टिकट दिलाउन नेताहरूको निवासमा पुग्नु भनेको मनोरञ्जनात्मक अनुभव सँगाल्नु हुन्थ्यो । निःशुल्क सवारी, राम्रा रेस्टुराँमा भोजन अनि, नेताहरूका निवासमा एकत्रित देशभरिका विभिन्न भेष र भाषाका कार्यकर्ताहरूको दर्शन । उनीहरू त्यसको सुपर हिट सिनेमाको वर्णनजस्तै सुनाउँथे ।
टिकटका लागि नेताहरूकहाँ धाउन थालेको दोस्रो चरण पूरा भएर तेस्रो चरण लागेपछिको एक दिन बिहान सबेरै रामेश्वरजी फेरि झुल्किए । दोस्रो चरणको नेताहरूको निवास परिक्रमापछि उनले मुख फेरेर भनेका थिए– दादा ! चुनाव नलड्ने नै हो भने मलाई सहयोग गर्नुपर्छ, म लड्छु । अरूले लडेर चुनाव जित्न सक्तैनन् । मलाई टिकट दिलाई दिने हो भने म जितेर देखाउँछु ।
मैले वार्तालाप टार्ने हिसाबले भनेको थिएँ– भइहाल्छ नि !
त्यसैबीच ओमप्रकाश भुजू र भेषबहादुर कार्कीसँग पनि चुनावका विषयमा कुरा भएको थियो । ओमजीभन्दा पनि कार्कीजी चुनाव जित्नेमा आशावादी थिए । उनको पनि आग्रह आफ्नै लागि टिकट दिलाइदिने विषयमा जोड थियो । दोस्रो विकल्प मात्र रामेश्वरजीलाई थियो ।
सबैभन्दा आश्चर्यजनक भविष्यवाणी थियो, कृष्ण थापाजीको । उनी मेरा बालसखा थिए र शिक्षक पेसाबाट निवृत्त भएपछि उनले सल्लाघारी चोकमा एउटा चिया पसल गरेका थिए, टाइमपास गर्न । त्यसमा कटुन्जे, गुण्डु र सल्लाघारीमा बसोवास गर्ने ७५ जिल्लाका उच्चवर्गका मानिसहरू भेला हुने गर्थे । त्यहाँ चिया पिउनभन्दा पनि थरीथरीका मान्छे भेट्न र कुरा बुझ्न धाउनेको संख्या बढी थियो । कृष्णजीले एक दिन अचानक मसँग सोधे– किन चुनाव नलड्ने भनेको ? चुनाव जित्ने त कांग्रेसले नै हो । अन्तको त म भन्न सक्तिनँ । हाम्रो क्षेत्रमा कांग्रेसले जित्छ, झन् रामेश्वरजीले टिकट पाए अझ सजिलो हुन्छ । यो कुरा गाँठो बाँधेर राखे हुन्छ ।
केही दिनपछि एकाबिहानै रामेश्वरजी हस्याङफस्याङ गर्दै आए र टिकटका लागि नेताहरूकहाँ धाउँदाको अनुभव सुनाएर आफूले टिकटको माया मारेको सुनाए । दुई दिनअघि सबेरै वरिष्ठ नेता शेरबहादुर देउवाकहाँ पुग्दा कम्पाउन्डमा मानिस खचाखच भरिएका थिए । भित्र नाम पठाएर बाहिर आधा घण्टा पर्खेपछि भक्तपुरका १०, १२ जना नेताहरू ग्वारग्वार्ती बाहिर निक्ले । उनीहरू आफ्ना कुरा राखेर प्रसन्न मुद्रामा निक्लने, म क्षेत्रीय सभापतिले चाहिँ समयसम्म नपाउने भएपछि त्यहाँबाट टिकटको आशा कसरी गर्ने ? त्यसपछि म सभापति सुशील कोइरालाजीको महाराजगन्जस्थित निवासमा पुगें । त्यहाँ पनि नाम पठाएर घण्टौं कुर्दा पनि घुम्ने भर्याङबाट माथि उक्लने अनुमतिसम्म पाइनँ । म निराश भएर फर्कन लागेको थिए, एकजना पुराना नेताले सल्लाह दिए, यिनीहरूबाट केही हुन्न, महामन्त्री सिटौलालाई भेट्नोस्, तपाईंको काम हुन्छ, जानोस् ।
त्यो सुझाव मलाई पनि ठीकै लाग्यो । भोलिपल्ट बिहान ६ बजे म सिटौला निवास पुगिसकेको थिएँ । चार, पाँचसय मानिसको भीड थियो । बाह्रबुँदे दिल्ली सम्झौताका बेला गिरिजाप्रसाद कोइरालाका दाहिने हात शेखर कोइराला भए पनि बाँया हात त सिटौला नै थिए । त्यसैले उनका अगाडि कोही टिक्न नसक्ने त्यहाँ उपस्थित पूर्वेली कार्यकर्ताको निष्कर्ष थियो । मलाई पनि, भारत र कोइराला दुवैथरीले विश्वास र भरोसा गरेका मानिसकहाँ आइपुग्दा बल्ल ठीक ठाउँमा आइपुगेको अनुभव भएको थियो ।
अचानक त्यहाँ हलचल उत्पन्न भयो । महामन्त्री सिटौला बाहिर निक्लेर ह्यान्डमाइकमा केही भनिरहेका थिए, कोलाहलले केही बुझिएन । पछि अरूले बुझाए, मिटिङमा जानु परेकाले आज भेट्न भ्याइनँ । भोलि आउनु होला, ८ बजेपछि सबैलाई एकएक गरेर भेट्छु भनेका रहेछन् ।
जसलाई भेट्नै यत्ति मुस्किल छ, उनीहरूबाट टिकटको अपेक्षा कसरी गर्न सकिन्छ र ? मैले त माया मारेँ दादा ! अब दादाले नै देउवाजीलाई भनेर केही गरिदिनु भयो भने मात्र हो, नत्र भने टिकट पाउने र चुनाव जित्ने आशा मर्यो !
होइन, चुनाव जितिन्छ भनेको होइन र ? अनि किन यत्ति छिट्टै आत्तिएको ? मैले गिज्याउने पाराले सोधेको थिएँ ।
उनको जवाफ थियो– चुनाव जित्न कि दादाको जस्तो त्याग र बलिदानको लामो इतिहास चाहिन्छ, या मेरोजस्तो चुनावको व्यावहारिक अनुभव ! ती दुवै नभएका व्यक्तिले टिकट पाउँदैमा चुनाव कहाँ जित्छ र ?
मैले सोधें– सबै नेताकहाँ जाने, महामन्त्री प्रकाशमान सिंहकहाँ किन नगएको नि ! उपत्यकाभित्रको टिकटमा अरूकोभन्दा निर्णायक भूमिका त उनकै हुन्छ नि, होइन र ? मैले त त्यस्तै सुनेको छु ।
अवश्य हो । त्यही कारण गएको पनि हुँ । तर भित्र पस्नै गाहारो ! भित्र पुगे पनि भेट्न झन् गाहारो । अर्को कुरा, मैले आफैं भेटेर कुरा मिलाउन सक्ने मेरो त्यस्तो हैसियत र घनिष्टता पनि कहाँ छ र ! दादाले सघाइदिए मात्र हो, नत्र मेरो एक्लो प्रयास पर्याप्त हुँदैन ।
(अर्को भागमा समाप्त हुने)
प्रतिक्रिया