काठमाडौं । महानगरको वडा ३१ ले आफ्नो वडाबासी साग खेलका पदक विजेतालाई शुक्रबार सम्मान गरेको छ । दुई स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष बस्नेतलाई वडाले सम्मान गरेको हो ।
शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासिल गरेका थिए भने बस्नेतले ३×३ बास्केटबलमा रजत पदक प्राप्त गरेका थिए ।
कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक विष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गणेश दुलाले खेलाडीको सम्मानले गौरव महसुस भएको बताए ।
त्यसैगरी, वडाध्यक्ष नारायण भण्डारीले स्वस्थ्य समाज निर्माणका लागि महानगरले खेलकुदलाई प्राथमिकतामा राखेको प्रष्ट पारे ।
प्रतिक्रिया