२०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरणपछि लादिएको निर्दलीय पञ्चायतकालमा भक्तपुरको ठिमीमा प्रतिबन्धित नेपाली कांग्रेसको संगठनलाई सशक्त ढंगले पुनर्जीवित तुल्याउने साहसी व्यक्तिको नाम लिन लगायो भने सबैका कण्ठमा स्वतः निक्लन्छ– हरिश्चन्द्र थापा श्रष्ेठ । राजा महेन्द्रको त्यस्तो राष्ट्रघाती कदमको विरोधमा उपत्यकाभित्र भक्तपुरमा जति उग्र प्रतिक्रिया भयो, त्यत्ति काठमाडौं र ललितपुरमा भएन । त्यही कारण चाहे जेलमा होस्, चाहे भारतमा निर्वासित किन नहोस्, भक्तपुरका नेता तथा कार्यकर्ताको संख्या ठूलो थियो । अर्को शब्दमा भन्ने हो भने भक्तपुरमा राजाको कदमको प्रतिरोध बढी भयो, त्यसैले दमन पनि धेरै भयो । कांग्रेसले सशस्त्र संघर्ष स्थागित गरेदेखि बीपी कोइराला, गणेशमान सिंहलगायत जेलका नेताहरूको रिहाइ र भारतको प्रवासबाट स्वदेश वापसी नहुन्जेल निकै लामो अन्धकार काल मुलुकले झेल्नुपर्यो– संगठित क्रियाकलाप परिचालनका सन्दर्भमा । त्यस अवधिमा कम्युनिस्टलाई मात्र संगठन गर्ने छुट थियो, कांग्रेसले भने खिसिक्क पनि गर्न पाउँदैनथे । गर्यो कि प्रशासनले कठालो समातेर झ्यालखाना पुर्याईहाल्थ्यो ।
२०२५ सालमा पूर्वसांसद जगन्नाथ आचार्यका साथै अन्य नेताहरूलाई आममाफी भएपछि उनीहरू सबै स्वदेश फर्किए र जेलमा रहेकाहरूको पनि आंशिक रिहाइ भयो । त्यसपछि हो, भक्तपुरको कांग्रेसले संगठनलाई पुनर्जीवन प्रदान गर्न पुनः हलचलपूर्ण गतिविधि थालेको । खासगरी मध्यपुर ठिमीमा हरिश्चन्द्र थापा श्रेष्ठले, जो त्यसबेला, सानोठिमीको मल्टिपल क्याम्पसको छात्र युनियनका अध्यक्ष थिए र आगो ओकल्ने भाषण गर्न कहलिएका थिए, उनैको कमाण्डमा ठिमी, नगदेश र बोडेमा कांग्रेस पुनर्जागरणको अभियान चलेको थियो ।
त्यही जगमा उभिएको कांग्रेसको संगठनले जनमत संग्रहताका बहुदलको प्रचार अभियानका क्रमममा कम्युनिस्ट र पञ्च दुवैथरीलाई ठिमीको आसपासमा फैलिनबाट रोकेको थियो । त्यसको नेतृत्व पनि उनैले गरेका थिए । कांग्रेसको संगठनात्मक पुनरुत्थानबाट पञ्च, कम्युनिस्ट र प्रशासन तीनैथरीको निद्रा खराब हुन पुगेको थियो । आज पनि मध्यपुरमा कांग्रेस बलियो र मजबुत छ भने त्यसको श्रेय त्यसैबेला चलेको संगठन विस्तार अभियानलाई जान्छ । त्यसका आर्किटेक्ट अथवा शिल्पी थिए– उनै हरिश्चन्द्र थापा श्रेष्ठ । अहिले पनि मध्यपुरबाट उठेर जिल्लाको नेतृत्व तहका जति नेता क्रियाशील छन्, ती सबै उत्तिबेला उनैका कार्यकर्ता थिए । अहिले लोकप्रियताका आधारमा उनीहरू नेतृत्व पंक्तिमा पुगेका हुन् ।
उनको त्यस्तो पञ्चायत विरोधी तथा बहुदलवादी भूमिका र सक्रियता, प्रशासनलाई सुपाच्य र सैह्य हुने कुरै थिएन, तैपनि जागिरै खोस्ने प्रकारको कारबाही चलाउने बहाना पनि उनीहरूलाई मिलिरहेको थिएन । २०४२ सालको सत्याग्रहले उनीहरूलाई त्यस्तो बहाना जुटाइदियो । सत्याग्रहको तयारीदेखि त्यसको परिचालनसम्मका गतिविधिको निगरानी गरिरहेको प्रशासनलाई चार महिना लामो उनको जेलयात्रा, कारबाहीको मुख्य कारण बन्यो । फलस्वरूप श्री पद्म माध्यमिक विद्यालयको शिक्षक पदबाट उनलाई बर्खास्त गरियो । त्यसपछि राजनीति गर्न उनी फुक्का र स्वतन्त्र भए । तर विद्यार्थीसँगको सम्पर्क र सम्बन्धको अभावमा उनी सेनाबिनाका सेनापतिजस्ता हुन पुगेका थिए । तैपनि खाने मुखलाई जुँगाले छेक्दैन भने झै संगठनको पुरानै सञ्जालको प्रयोग गरेर उनी अघि बढ्न थाले । उनको बढ्दो लोकप्रियता प्रशासन, पञ्च र कम्युनिस्टलाई मात्र होइन, एकथरी कांग्रेसलाई पनि खड्किन थालेको त्यसै बेलादेखि हो ।
कांग्रेसमा खुट्टा तान्ने र अन्तर्घात गर्ने प्रवृत्ति विकास भएको अहिले होइन, पुरानो जन्मजात रोग हो । २००७ सालको क्रान्तिअघि अथवा यसो भनौं, राष्ट्रिय कांग्रेस छँदै लागेको त्यो घातक रोग निको हुनुको बदला समयसँगै निरन्तर फैलिरहेको छ । त्यसैको सिकार बनेका नेताहरूमा हरिश्चन्द्र पनि एक हुन् । ठिमी बाहखाबजारका साहुका छोरा, शिक्षामा एमए, बीएड गरेका, सुगठित शरीर, सिनेमाका नायकजस्तो अनुहार, मासलाई जुरुक्क उचाल्ने भाषणकलामा निपुण, अनि पेसाले शिक्षक र युवा पुस्तालाई परिचालन गर्न दक्ष, त्यस्ता प्रतिभाशाली तथा बहुआयामिक व्यक्ति अलिक घमण्डी भयो भने के को आश्चर्य ? जसलाई लोभ हुँदैन, त्यो कसैसँग डराउँदैन पनि । नझुक्ने, नडराउने, कसैमाथि निर्भर नहुने व्यक्ति पहिले त कांग्रेसमा टिक्नै मुस्किल, टिकिहाल्यो भने पनि माथि पुग्न झन् कठिन ! माथि पुगेकाले प्रतिस्पर्धी ठान्ने भएपछि हरिश्चन्द्रजस्ता स्वाभिमान नेता, क्रमशः पाखा लाग्न पुगे ।
राजनीतिमा अर्थ शास्त्रको एउटा नियमको उदाहरण बरोवर दिने गरिन्छ, त्यो हो, ब्याड मनी ड्राइभ्स, गुड मनीको सिद्धान्त । अर्थात् खोटो सिक्का चल्न थालेपछि सक्कली सिक्का बजारबाट हराउँछ । कांग्रेसमा त्यो नियम लागू मात्र हुने गरेको छैन, त्यसले अचाक्ली नै गर्ने गरेको छ । यद्यपि त्यो अपवादको सिद्धान्त, हो, तथापि हिजोआजको नेपाली राजनीतिमा अपवाद पनि यथार्थमा परिणत हुने गरेको छ ।
ब्रेनस्टोक अर्थात् कडा मस्तिष्कघातको आघातबाट ६४ वर्षको उमेरमा उनको २०७४ सालमा निधन भएको हो । निधन हुनु अगाडि उनी मध्यपुरको कांग्रेस संगठनमा प्रवेश पाएको बाहुबली प्रवृत्ति र धनतन्त्रको “घन”का विरुद्ध कठोर शुद्धीकरण अभियान चलाउन ढिला गर्न नहुने निष्कर्षमा पुगेका थिए । आफ्ना निकटका साथीहरूसंग त्यस विषयमा विचारविमर्श पनि थालिसकेका थिए । यद्यपि उनको त्यस्तो अभियानको योजना र कार्यक्रम कस्तो हुने र कसरी लागू गर्ने हो, त्यो परिपक्व भएर सार्वजनिक गर्नुअगावै उनको निधन भएकाले त्यो सपना, अधुरो र अपूरै रहन गयो, तथापि त्यसको प्रासंगिकता र खाँचो भने हिजोभन्दा आज झन् बढेको छ । त्यसैले उनले अधुरो छाडेर गएका कामलाई मूर्तरूप दिने जिम्मा अब नयाँ पुस्ताका नेता तथा कार्यकर्ताको काँधमा पर्न आएको छ । त्यसो गर्न सकियो भने मात्र आफ्नो समयका सच्चा क्रान्तिकारी तथा कर्मठ संगठनकर्ताप्रति अर्पण गरेको श्रद्धाञ्जलीले सार्थकता पाउनेछ ।
यो दोहोर्यारहन आवश्यक छैन कि कांग्रेसभित्रको शुद्धीकरण अभियान हरिश्चन्द्रका लागि होइन, कांग्रेसको संगठन सुदृढीकरणका निम्ति हो । कांग्रेसले नयाँ ऊर्जा, गति र उचाइ हासिल गर्ने हो भने त्यस्तो कदम आवश्यक मात्र होइन, अपरिहार्य नै भइसकेको छ । उनले विगतका अनुभवका आधारमा पार्टी संगठनको उज्यालो भविष्य निर्माणका निम्ति सुधारका जुन सूत्र प्रक्षेपण गरिदिएर गएका छन्, तिनको इमानदारिताका साथ अनुसरण तथा कार्यान्वयन गर्ने हो भने आगतका समय फेरि पनि उसका निम्ति अवसरमा परिणत हुनेमा शंका गर्नु पर्ने छैन । अवसरको लाभ उठाउने कि नउठाउने त्यो चाहिँ नेतृत्वपंक्तिको क्षमता र सामथ्र्यमाथि निर्भर गर्छ ।
(नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, भक्तपुरको स्मारिका– जय नेपालको २०७६ सालको “प्रजातन्त्रका सेनानी विशेषांकबाट” साभार । सं.)
प्रतिक्रिया