देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कसलाई चाहियो जागरण ?

देशान्तर

हावाको ढुकुर समात्न मुठ्ठीको परेवा फुत्काएर पटकपटक मुख्र्याइँ गरेको आरोपलाई हाँसेर टार्ने आदत बसालेको कांग्रेसलाई आफ्ना गल्तीबाट पाठ सिकेर त्यसलाई सच्याउने र सच्चिनेतर्फ शुद्धि फिरेको कहिल्यै देखिएन । उसको दोस्रो चरणको राष्ट्रिय जागरणको कलाहीन नाटकको पुनः प्रदर्शनले पनि त्यही पुष्टि गरेको छ । त्यसमा न नयाँपन छ, न आकर्षण छ । न पश्चाताप छ, न सुध्रने प्रतिबद्धता र कार्यक्रम । न कार्यकर्ता तथा समर्थकहरूलाई उज्ज्वल भविष्यप्रति आश्वस्त पार्ने आश्वासन, न नेताहरू सुध्रेको सन्देश ! छ भने बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको पुनरावृत्ति मात्र । अनि, कार्यकर्ताको विशाल पंक्तिलाई गतिशील तुल्याउने ऊर्जा प्राप्त हुन्छ कसरी ? यै हो, कांग्रेस सुधिएको ?

तीन चरणमा सम्पन्न हुने राष्ट्रिय जागरण अभियानको पहिलो चरणका प्रारम्भिक दिनमै माथिको सबाल उठेको थियो र त्यो प्रश्न गर्ने पनि हामी नै थियौं । हाम्रो जिज्ञासा थियो, कांग्रेसको अभियानले जागरुक तुल्याउन खोजेको कसलाई हो ? धेरैका मनमा उठेका तर अभिव्यक्त हुन नसकेका वास्तविक प्रश्न तिनै थिए । वर्तमान परिस्थति र परिवेशमा राजनीतिक कार्यक्रमका आधारमा आफ्ना कार्यकर्तालाई चलायमान तुल्याउनु एक पार्टीका रूपमा कांग्रेसको बाध्यता र कर्तव्य दुवै हो । त्यसो गर्नु उसको नियमित क्रियाकलापको अंग पनि हो । उसले आफ्नो अभियानको नामकरण गर्दा आम नागरिकलाई त्यसमा सहभागी हुँदा लज्जाबोध होइन, गौरवको अनुभूति गर्ने खालको हुनुपर्ने थियो । तर राष्ट्रिय जागरणको अभियानले कांग्रेसको अध्ययन र मूल्यांकनमा नेपाली जनतालाई मूढ, अबोध र निमुखा भएको ठहर उजागर भयो । त्यसैले उनीहरूमा चेतना भरेर जागरुक तुल्याउन त्यस्तो कार्यक्रम ल्याउनु परेको हो । जुन जनतालाई रिझाउन त्यो कार्यक्रम ल्याएको हो, उनीहरूमाथि कोचरेको एजेन्डा ठानेर थप चिढिन पुगे । उनीहरूले त्यसबाट आफ्नो तिरस्कार र अपमान भएको बोध गरे । कांग्रेस भने उसको कार्यक्रमबाट जनतामा परेको प्रतिकूल प्रभावबाट बेखबर रहेको छ । ऊ त आफ्नै आत्मरतिमा विमुग्ध छ ।

प्रश्न सोझो छ, जागरण चाहिएको कसलाई ? कांग्रेस आफैंलाई कि जनता जनार्दनलाई ? जनतालाई परिवर्तनको चेतना जगाउनु अगाडि कांग्रेस आफैं नजागेको भए २००७ सालको क्रान्तिका निम्ति त्यस बेलाको अँध्यारो युगलाई चिरेर उसले जनतालाई कसरी तयार पार्न सकेको थियो भन्ने अर्को प्रश्न स्वतः उठ्छ । १०४ वर्षदेखि जब्बर बनेर नेपाली समाजलाई जकड्न सफल भइरहेको मध्यकालीन सामन्ती राणा शासनको शोषणका विरुद्ध जनतालाई जागरुक मात्र होइन, आक्रमक तुल्याउन समर्थ नभएको भए उसले त्यो क्रान्तिको नेतृत्व गरेको गौरव हासिल गर्न सक्ने थिएन । राणाशासन फालेर प्रजातन्त्र स्थापना गर्न जनतालाई जगाउन सकेकै कारण कांग्रेसको आह्वान र नेतृत्वमा त्यो युगान्तकारी जनक्रान्ति सम्पन्न भएको थियो । त्यो क्रान्तिले निरंकुश राणाशासनको अन्त्य मात्र गरेको थिएन, प्रजातन्त्रको नयाँ युगको उज्यालोमा राष्ट्रलाई ब्युँझाउन समर्थ भएको थियो । राणाले रैती भनेर हेलाँ गर्ने गरेका जनतालाई सम्मानित नागरिक तुल्याउने प्रजातान्त्रिक शासन व्यवस्थाको उद्घाटन पनि त्यही बेला भएको थियो ।

त्यसरी आफ्नो अधिकारका निम्ति ७१ वर्षअघि नै जागिसकेका नेपाली जनतालाई फेरि जागरण अधियानमा भाग लिन आह्वान गर्नु उनीहरूको सम्मान हो कि अपमान हो ? उनीहरू उत्तिबेलै नजागेका भए २०१५ सालमा भएको पहिलो आमचुनावमा कांग्रेसलाई दुई तिहाइको बहुमत कसरी प्राप्त हुन्थ्यो ? हो, जनता भन्ने तत्व अहोरात्र जागा रहने कार्यकर्ता होइनन् । त्यसैले उनीहरू पार्टीका प्रत्येक आह्वानमा भाग लिन दौडेर आउँदैनन् । तर जब जनताको अधिकार र प्रजातन्त्रको सवाल खडा हुन्छ, तब त्यसको रक्षाका लागि जनता सडकमा उत्रन्छ र जतिसुकै ठूलो बलिदान गर्नु परे पनि पछि पर्दैनन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलन र प्रजातन्त्र पुनस्र्थापना त्यसको ज्वलन्त उदाहरण हो । त्यो प्रजातन्त्र, माओवादीको कथित् जनयुद्धका कारण यसअघि पनि भयानक संकटमा परेको थियो र बाह्रबुँदे दिल्ली सम्झौता गरेर रोकथाम गर्नु परेको थियो । अहिले फेरि कम्युनिस्ट पार्टीको सरकारले एकदलीय अधिनायकवाद लाद्न प्रजातन्त्रका विरुद्ध किल्लाबन्दी थालेको छ ।

कम्युनिस्ट अधिनाकवादका त्यस्ता किल्ला ध्वस्त पार्न प्रजातन्त्रवादीले फेरि ठूलो मूल्य चुकाउनु पर्ने खाँचो बोध सबैतिरबाट अनुभव गरिएको छ । त्यस्तो गम्भीर संकटको सामना, राष्ट्रिय जागरणजस्तो झारा टार्नेजस्ता फितला कार्यक्रमबाट सम्भव हुँदैन । त्यसका लागि सुचिन्तित राजनीतिक कार्यक्रम आवश्यक हुन्छ, जसका निम्ति कांग्रेस तयार देखिन्नँ । देशले मागेको परिवर्तनलाई मूर्तरूप दिन साहसी नेतृत्व प्रदान गर्ने इच्छाशक्ति कांग्रेस नेतृत्वले जबसम्म देखाउन सक्तैन, तबसम्म उसको नेतृत्व प्रतिपक्षको श्रेणीभन्दा माथि उठ्न सक्तैन । कम्युनिस्ट नेतृत्व र एजेन्डामा आएको वर्तमान संविधानले कल्पना गरेको समाजवादी व्यवस्था ल्याउने उनीहरूको संकल्पलाई दुई तिहाइ बहुमतको समर्थन प्राप्त छ । त्यसलाई कायम राख्न र निरन्तर अघि बढाउन कम्युनिस्टका कार्यकर्ताहरू केन्द्रदेखि गाउँसम्मका तीनै तहका सरकारमा एकछत्र राज छ । राज्यका स्रोत र साधनमाथि उनीहरूकै हैकम छ । भारत र चीनको समर्थन पनि उनीहरूलाई नै छ ।

त्यस्तो अवस्थामा कांग्रेसले राष्ट्रिय जागरणको जति चरणको कार्यक्रम दिए पनि उनीहरूका लागि त्यसले झुल बाहिरको लामखुट्टेको भुनभुनाहटभन्दा बढी महत्व राख्दैन । कांग्रेसको विरोध र संघर्षले त्यसबेला मात्र महत्व प्राप्त गर्नेछ, जब उसले न हाँस, न कुखुराको चालको संविधानलाई परिवर्तन गरेर प्रजातन्त्रका विश्वव्यापी मूल्य र मान्यतामा आधारित संसदीय व्यवस्था पुनस्र्थापित गर्ने संकल्प गर्ने छ । त्यसैगरी ९० प्रतिशत हिन्दुधर्मका अनुयायी भएको मुलुकमा बहुमतको घोर उपेक्षा गरेर लादिएको धर्म निरपेक्षता हटाएर विश्वको एक मात्र हिन्दुराष्ट्रको गौरव पुनस्र्थापित गर्ने इच्छाशक्ति प्रदर्शित गरेर आफूलाई बहुमतको हकदार सावित गर्दैन ।

कांग्रेस हिजोसम्म बीपी कोइराला, गणेशमान सिंह र प्रजातन्त्रको बाटोमा थियो, त्यसैले यो देशमा परिवर्तन ल्याउन नेतृत्व दिन सक्षम र सफल पनि थियो । अहिले त्यही कांग्रेसको पहिचान फेरिएको छ । कम्युनिस्टले विदेशीका एजेन्डा बोक्ने, तिनै कम्युनिस्टका काँधबाट उनीहरूका एजेन्डा कांग्रेसले बोकेर त्यसैका बलमा सत्ताको बैतरणी पार गर्न खोज्दा उसका खुट्टा ठाउँमा नपरेका हुन् । हिजोसम्म मध्यमार्गी पार्टी भनेर सबैले माया र विश्वास गरेका कांग्रेसलाई आज आफ्नै विचार र मान्यताका विरुद्ध खडा हुने ढुलमुले पार्टीको पद्वी प्रदान गरेर प्रजातन्त्रवादी नै उसबाट टाढिन पुगेका छन् । उसले प्रजातन्त्रका विरुद्ध लोकतन्त्रसँग सम्झौता गरेकाले त्यस्तो पहिचान प्राप्त गरेको हो । उसप्रतिको आशंका र अविश्वासको कारण पनि त्यही हो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको गहना र गन्तव्य दुवै थियो । त्यो नाराबाट कांग्रेसले प्रजातन्त्र हटाएर लोकतन्त्र थपेको छ । कांग्रेसले आफ्ना सभा, सम्मेलन र कार्यक्रमहरूमा संस्थापक नेता बीपी कोइरालाका ठूल्ठूला तस्बिर झुन्ड्याउन र अमरवाणीका रूपमा उनका मन्तव्यलाई पोस्टरमा टाङ्न छाडेको छैन । केवल प्रजातन्त्र त्यसबाट हटाएको छ । नेपाली जनजिब्रोमा झुन्डिएको त्यही एउटा शब्दको बहिष्कारले कांग्रेसको पहिचान फेरिन पुगेको हो । त्यही कारण राष्ट्रियताप्रतिको उसको आस्था र विश्वास पनि फितलो भएको हो । जुन कारणले नेपालमा कांग्रेस भनेकै प्रजातन्त्र र प्रजातन्त्र भनेकै कांग्रेस हो भन्ने उक्ति प्रचलित भएको थियो, त्यही ठाउँमा पराई नारा झुन्डिन आइपुगेपछि उसप्रतिको पुरानो मान्यता टिकोस् पनि कसरी ?