काठमाण्डौ – नेपाल र चीनका परराष्ट्र मन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सोमबार राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता काठमाण्डौमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइनेछ । नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि गहन छलफल हुनेछ । चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा पनि छलफल हुनेछ । परराष्ट्र सचिव शङ्करदास वैरागीका अनुसार वार्तापछि मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया